‘लकडाउने दैनिकी’

‘लकडाउने दैनिकी’


■ तिलक पौडेल

अन्ततः चैत्र बाह्र गतेको ससुरा बुबाको वार्षिक पुण्यतिथिमा सहभागी हुन सकिनँ । एघारै गतेबाट मुलुकमा लकडाउन घोषणा भयो । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिँदै थियो । ज्वरो आयो, फुको खोकी लाग्यो, सास फेर्न गाह्रो भयो भने कोरोना हुनसक्छ, तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुहोस् । अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कनुहोस्, निस्कनु परेमा मास्क लगाएर मात्र निस्कनु होस्, हिँड्दा कम्तीमा एक मिटरको दूरी कायम गर्नुहोस्, हाच्छिउँ आउँदा, खोकी लाग्दा नाक, मुख रुमाल, टिस्युपेपरले छोप्नुहोस्, केही नभए कुहिनाले भए पनि छेक्नुहोस्, समय–समयमा कम्तीमा बीस सेकेण्ड लगाएर साबुनपानीले हात मिची–मिची धुनुहोस्, स्यानिटाइजरले हात सफा राख्नुहोस्, हात सकेसम्म अनुहारमा मूलतः नाक, मुख, आँखामा नलैजानुहोस् जस्ता चेतनामूलक सन्देश सरकारी, गैरसरकारी, निजी सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार भैरहेको थियो । हात धुने विधिको प्रदर्शन देख्न नसक्दा आफू जिल्लामा रहँदा विश्व स्वस्थ्य सङ्गठनको मापदण्डअनुरुप सिकाइएको हात धुने विधिमा नङमासुको जोर्नी र नङ्भित्र पनि धुने चरण प्रवेश गराई हात धुने विधि प्रदर्शनको भिडियो रिकर्ड गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेर आफूलाई पनि कोरोना सम्वेदनशील व्यक्तिका पङ्क्तिमा उभ्याएँ ।

वर्ल्डोमीटरमा भटाभट मृत्युको संख्या, सङ्क्रमितको संख्याको वृद्धिले शायद सबैको मनमा चिसो पसाले होला नै । मलाई पनि अछुतो राख्ने कुरै भएन । त्यही चिसो मनले विश्व तताएको प्रसङ्ग समेटेर ‘कोरोना महिमा’ शीर्षकमा गीतिकविता रचना गरेर स्वराभिलेखङ्कन गरी पुनः सञ्जालमा पोष्ट गरी मनलाई सहज बनाउने प्रयत्न गरेँ । मन न हो साह्रै पातलो १ हुने–अनहोनी सबै ब्यहोराहरुलाई प्रवेश्याएर आफन्त एवं परिचितवृन्दसँग सम्पर्कमा रहन प्रेरित गरिरहन्थ्यो भने स्वास्थ्य सतर्कतास्वरुप कतै बाहिर ननिस्कन कडा आदेश दिइरहेथ्यो । त्यस्तैमा पुनः ‘लाग्दैन कोरोना’ शीर्षकमा गजल रचना गरें –

हाच्छिउँ गर्दा नाक् मुख छोपौँ – आउँदैन कोरोना ।
रुमाल् कुइनाले छेलेर खोकौँ – लाउँदैन कोरोना ।।

कम्तीमा बीस सेकेण्डसम्म, मिचेर हात धोइ,
स्यानिटाइजर्ले सीमाना तोकौँ – आउँदैन कोरोना ।

मास्क् नलाई नजाऊँ बाहिरफेर, दूध तिहुन लिन’नि,
छतमै बरु तरकारी डोबौँ – आउँदैन कोरोना ।

जङ्फाष्ट्फुड् स्वास्थ्य प्रतिकूल छ, नखाऊँ कसैले,
शाकाहारको भावना बोकौं – आउँदैन कोरोना ।

कागती बेसार् मिसाइ पानी, पि’राखौँ सबैले,
स्वास्थ्य सफाइको विचार रोपौं, आउँदैन कोरोना ।

सरकारको आह्वानलाई मनन एवं स्वास्थ्य संवेदनशीलताको चिन्तनले आफू पनि सपरिवार बाहिरफेर ननिस्की घरमै रहेँ । यो प्रसङ्गमा टोल–छिमेकले अति संवेदनशीलताको संज्ञा दिए पनि आफूलाई दैनिकीमा अनुबन्धित गराई दिनहरु बिताउने, उमेरको सोपानोकाली चढ्ने, मनमा छल्किएका भावहरुलाई आकृति दिने जस्ता कृतमा आफूलाई संलग्न्याई रहेकोछु – अद्यावधि । साविकको ‘घरायसी बैठक’को पारिवारिक प्रचलनलाई निरन्तरता दिई समय–सारिणी तयार पारेँ । जसअनुसार बिहान उठ्यो, मनतातो कागती पानी पियो । त्यत्तिकैमा शौचालयको खोजी नभए मनपसन्दको लोकगीत–धुनमा नाच्यो र सूचीनिचीसँग पञ्चस्नान गर्‍यो । छतमा गएर मनमन गन्दै हजार–पन्ध्रसय पटक ‘जगिङ्ग’ गर्‍यो, उफ्र्यो । बैशाखमास पनि काठमाडौंमा पानी पर्दा जाडो हुने भएकाले तल कोठामा झरेर सनातनी योगभ्यास गरेर प्रभातकालीन सात बजायो । त्यसपछि स्नान गरी पूजाकोठामा दुर्गा सप्तशती चण्डीपाठ गर्ने क्रमले नवदुर्गाका दिनमा नियमितता पाएथे, जसले शक्तिस्वरुपा ‘दुर्गा’का शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री नामका नवरुपको शक्तिको कथाबारेमा जानकारी गरायो भने ती रुपको काल्पनिक चित्रको मस्तिष्काङ्कनले आत्मबल बढाउन सहयोग पुर्‍याएको महसुस भयो । वास्तवमा मानव दिमाग खाली नहुँदो रहेछ, अनि शास्त्राध्यायन, योग, ध्यानले आफ्नो कल्पनाको स्तरानुरुपको आकृति निर्माणले मनलाई वचनमा र वचनलाई कर्ममा अनुवाद गर्न सहयोग पुग्दोरहेछ जस्तो नयाँ अनुभव सँगाल्न सहायकसिद्ध हुनपुग्यो – कोरोना कहरको लकडाउन १

तदुपरान्त सातुको प्रातःकालीन अल्पाहार गरी ‘ग्रीन टि’ साँधेर पत्रिकाका भँगेरा टाउके शीर्षकमा आँखा दौडायो । दूध, तरकारी ल्याएकोलाई पोटास पानीमा एकाध घण्टा भिजाई घाम लागे घाममा नत्र खुला ठाउँमा सुकायो । हिज्जसोको तरकारी काटकुट गरेर भान्सा पस्ने क्रमले यो लकडाउनमा समय सारिणीको रुप लिएको छ । भान्सामा ‘युट्युब’ हेरी उपलब्धताका आधारमा सम्भाव्य परिकार तयार पार्दा आफैं पनि नयाँ स्वाद पस्कन सक्षम भएँ भने अर्धाङ्गिनीलाई सहकार्यको हात बढाइले फुरुङ्ङ बनाएकोछ । हुन पनि केटाकेटीमा आमाले खेत रोप्ने मेलामा जानेबेला ‘भरे, ढलोटे भड्डुमा भात पकाउनु र करहीमा आलु/सिमीको तरकारी पकाए है !’ भन्दा ‘कसरी’को बालसुलभ जिज्ञासामा ‘आटीका झ्यालनेरको घ्यम्पामा जर्पनीका चामल छन्, त्यहींभित्र माने कटौरा छ, सिलटे आरीमा दुई निम्ठो ल्याएर पहिलाको चौलानी ताउलामा हालिदिनु र अर्का फेरिको एकमानु जति फलाएँ दिउराँ राख्नु, तरकालीमा हाल्न हुन्च । अनि भड्डुमा चामल हाली माझिऔंलाको बीचको चक्रसम्म हुने गरी पानी हालेर चुल्हामा बसाल्नु, छड्को पर्न लाएपछि पनियाले सितो निकालेर मिच्नु, मिचियो भने पाकेको हुन्छ के १ त्यतिखेर पानी धेरै होला जस्तो भए एउटा बटुकामा माँड काटेर छोपिदिनु, माँड पनि तरकालीमा हाले हुन्च अनि दाउरा हटाएर अँगाराँ भर्स्याउनु, डढ्ला नि फेरि एसो हेर्दै अर्नु, एति भ’सि भात पाक्नीभयो । दिउँसो बिरौटाको मकैबारीबाट सिमी टिपेट ल्याउनु, त्यैबेलाँ दुई–चार पुड्का हरिया मकै ल्याएर भित्री भुत्लासँगै ओदानमा राखेर आगोमा पिर्सल्नु । तेसरी पोले’सि बल्ल पाक पुग्च र पोलेका मकैले पनि पेट दुःखाम्दैन, दाजू–बैनीले मिलेर खाए है । अनि सिमी केलाउनु, केलाउँदा छिप्पिएकाको बोक्रा फालेर गेडा(गेडा बनाम्नु, कमलालाई नाथ्री चुँडेर कोसाको दुबैतिरका नसा फाली दुदीउमलका टुक्रा पार्नु, आटिमा दुईपाथे डालीमा आलु छन्, गोडा पाँचेक ल्याएर मजाले धुनु र खुर्मली आँसीले काट्नु, फेरि हात काटौला नि ! (आमाको माया) । अनि ऐनाँ आगो फुकेर करही बसाल्नु । मदुसभित्र आनेमा घ्यू छ, एक थुर्मी घ्यू हालेर टहटिएपछि बाँसको ढुम्रीमा मेथी छ, एकचिम्टी फुराम्नु र आलुका चानाँ चौलानी छम्केर ओइरनु, कोशेपनियाले राम्ररी चलाम्नु, एक चिम्टी बेसार, नूनका सान्साना दुईटा ढिकालाई पखालेर ठिक्क हुनी अरेर हाल्नु, तिम्री हजुरामाले नल राजा दमन्ति रानी, नून पानी ठीक्कै जानी भनेर एसो नाकले सुमेर नून हाल्नु दाल तरकाली कहिल्यै चर्को/बिल्नु हुँदैन भन्नुहुन्तो बरा बुढीले १ अनि सिमीलाई पनि एसो ओस्यार मिसाइदिनु र चलाम्नु है । हर्लिसका सिसाँ मसला छ, दुई ठूलो चिम्टी र जुठेल्नाका बुटा’ट खुर्सानी एउटा र एउटा मह्रटी ल्यार मसिनु बनार पिन्नु र आलु/सिमीको पानी सुकेपछि एक डाडु चौलानीसँग झ्वाईंय पार्नु । मलखाता छेउको बुटा’ड राता-राता भका, पाके-पाकेका गोलभेंडा ल्याउनु र पखालेर, काटेर पानी सुक्न लागेको तर्कालीमा मिसाएर चलाम्नु । स्टिलको सानु थाल्ले छोपेर एकछिन पका’र अनि चौलानी, माँड हालिदिनु । अब सानु आगोमा गुद्रु-गुद्रु एकछिन पकाएर आलु छाम्नु, गल्केका रचन् भने तर्काली पनि पाकिहालो । मेरा छोराले मीटो अरेर पकाम्च, हामी पनि मेला’ट आम्चम्, बाले भैंसी दुहुनुन्च, मैले पानी ल्या’सी हातगोडा धोएर खाना खाम्ला’ भनेर सिकाएको व्यहोरा अचेल युट्युबमा हेर्न पाइने रहेछ । त्यसैका सहयोगमा आमालाई सम्झँदै गुन्द्रुक, मस्यौरा देखि मटर/पनीर सम्मका तरकारी परिकार, मुगीदालको, गाजरको हलुवा देखि लट्टे र ढकनी सम्मका नास्ता परिकार बनाएर पस्कँदा सबैले ‘सारै मीठो भएछ’ भन्ने प्रतिक्रियाले मनलाई हौस्याउँदो रहेछ । रमाइलो लागिरहेछ । पोटास पानीमा सफा गरिएका मुला, गाजर, काँक्रोको सलाद बनाएर बीरेनुन र कागती छर्क्यो, दहीलाई पानीमा मिसाएर सानो काठे मदानीले एकसय एकाउन्न पटक मोही पारेझैं गरेपछि बिहानी खाना तयार हुने गरेको छ ।

‘अभुक्त्या वयरी पथ्यं, भुक्त्या पथ्यं च कर्कटे । इक्षुदण्ड सदा पथ्यं, कदली न कदाचन ।।

अर्थात् नखाँदैको खाली–भोको पेटमा वयर पथ्य हुन्छ, खाएपछिको भरिपेटमा काँक्रो पथ्य हुन्छ, उखु जतिखेर पनि पथ्य हुन्छ, केरा कहिल्यै पनि याने खाली वा भरिपेटमा पथ्य हुँदैन भन्ने व्यहोरा जानकारीमा आएपछि उपलब्ध भएसम्म यथासम्भव मौसमअनुसारको सलाद उल्लिखित विधिबाट हामीकहाँ खाने गरिएको छ र सबैलाई राम्रो भएको अनुभव सँगालिएको छ । त्यसैगरी,

‘दिनान्ते च पिवेत् दुग्धं, निशान्ते च पिवेत् पय । भोजनान्ते पिवेत् तक्रं, वैद्यस्य किं प्रयोजनम् ?

अर्थात् दिन सकिएपछि याने रात परेपछि दूध पिउने (त्यसमा पनि सर्दीको सिकायत छ भने बेसार वा मह घोलेर, हाड जोर्नीको दुःखाइ छ भने शीलाजीत घोलेर, जीवनलाई ऊर्जावान् राख्न जीवनबुटी – यार्सागुम्बासँग मनतातो दूध पिउनु श्रेयस्कर मानिदो रहेछ), रात सकिएपछि याने बिहान उठेपछि पहिला पानी पिउने (त्यसमा पनि तामाको भाँडामा कम्तीमा ३ घण्टा राखिएको पानीलाई तातो पानी मिसाई मनतातो बनाएर कागती हालेर मुखमा बसेको लेठसमेत कुल्लु गरेर निल्नु उपयुक्त हुँदोरहेछ), खाना खाएपछि मोही पिउने हो भने वैद्यको के खाँचो ? भन्ने जानकारी मिलेपछि मोही खाने गरिएको छ, जसले पनि फाइदा पुर्‍याएको महसुस भएको छ । त्यस्तै खानापछि सौंप (बोकेजिरा) आधा भुटेको र आधा काँचो मिसाएर, मधुमेह रोग छैन भने चिनी पनि नत्र ल्वाङ, सुकमेल अनि मुखभित्र घाउहरु आउने गर्दैन भने सुपारी समेतको सेवन पनि मानवीय शरीरको ‘त्रिदोष’लाई सन्तुलित बनाउन सहायकसिद्ध हुँदोरहेछ । वास्तवमा पढेर बुझिएन भने, बुझेर लागु गरिएन भने खाना खाएर नपचाए जस्तै हुन्छ भन्छन् भुक्तभोगीहरु !

शास्त्रमा पनि – अनभ्यासे विषं विद्या, अजीर्णे भोजनं विषम् । विषं सभा दरिद्रस्य, वृद्धस्य तरुणीं विषम् ।।

अर्थात् अभ्यास नगरिएको विद्या र नपच्ने गरी खाइएको खाना विषतुल्य हुन्छ भनेको पाइन्छ । यसले हाम्रो परिवारलाई सम्भाव्य व्यहोराको समीचीन कार्यान्वयन गराउन उत्प्रेरित गरेको छ । विद्वान् पाठकहरुले पनि उपयुक्त जँचेका व्यहोराहरु लागू गरेर आफू र परिवार उपर हंसन्याय गर्नुहुने नै छ ।

त्यसपछि सबै जहान मिलेर खाना खाइन्छ । अनि मात्र मोवाइलको ‘फ्लाइट मोड अफ’ गरी सामाजिक सञ्जाल नियाल्ने गरेको छु, र पनि रामायण र महाभारत हेर्ने क्रम शुरु गर्दासम्म खोलिएनछ भने सम्पर्क बाहिरै रहेर दिन गुल्जरान हुने गरेको छ । मोटो हिसाबमा दाजू-भाइबीचको मित्रता र शत्रुतामा आधारित कथाले घरि रुवाउने, घरि जोस्याउने गरेकोछ । तीन बजेतिर नास्ता गरी समसामयिक व्यहोराउपर मनचिन्ते अभिव्यक्ति लेख्ने, पुराना टङ्कण हुन बाँकी रचनाहरुलाई टाइप गर्ने, तिनीहरुलाई पत्रिकाहरुमा पठाउने, फेसबुक/म्यासेञ्जरमा शेयर गर्ने कामको पालो आउँछ । अन्ततस् आफन्तहरु, सैंसाथीहरु, अग्रजानुजहरुसँग फोन सम्पर्क गरेर दिवाकालीन समय व्यतीत हुने क्रमले नियमितता पाइरहेको छ । अनि साढेपाँचतिर छतमा निस्क्यो, जन्मघर वृद्ध आमाले एक्लै दैलामुनिका फोहोटामा काँक्रा, घिरौंला, सिमी, बोडीले मुना निकाल्दा समयमा थाँक्रो हालिदिने कोही भएन भनेर चिन्ता गर्नुभएको व्यहोरा मनन गर्दै कौसी खेतीसँग भलाकुसारी गर्‍यो । लौका, करेला, सिमी, बोडीका मुनालाई जुटका डोरीको थाँक्रा बनायो, दिन्दिनै तिनैलाई मुसार्‍यो । केटाकेटीसँग सामान्य योगादि कर्म गरी सायमकालीन समयलाई बिदा गरी भान्साकोठा तिर ओर्ल्यो । सबैले कामको साझेदारीमा खाना तयार पारी खाएर कोरोनाका खबर र हँस्यौलीका सिरियल हेर्दै निद्रादेवीको शरण पर्ने हिसाबमा लकडाउनपछिका दिनहरु अधिकाँशत: व्यतीत भैरहेका छन् । शायद व्यहोरा यथावत रहँदासम्म क्रमले निरन्तरता पाउने नै देख्दछु । समय-समयमा हात धुने, तातो पानीमा कागती मिसाएर पिउँदै गर्ने, बाहिरफेर गएर फर्केपछि कपडा छुट्टै राखी शरीरलाई ‘सेनिटेटेड’ गराउने क्रमले बानीको रुप लियो भने त लकडाउन पछि पनि सबैसँग साम्यगाम्य हुन त केही समय लाग्नेछ, योमानेमा लकडाउनलाई यथोचित समयमा क्रमश: खुकुल्याउने तर्फ पनि सरकारी ध्यान पुग्न जरुरी देखिन्छ ।

यसरी कोरोनाको महामारीले सरकारी लकडाउनमा पर्दा घरकैदी बन्न पुगेको मलाई थप समायावद्ध बनाएको, पुराना यादहरुलाई व्यवस्थित गराउन सकेको, पौराणिक कथाहरुको चलचित्रे जानकारी लिन भ्याएको, घरपरिवारसँग उही एउटै चुल्हाका दाउरा ठोस्सिए जस्तै ठाकठुक होउञ्जेल सिर्जनशील बसाइलाई समय मिलेको, सैंसाथी एवं शुभचिन्तकहरुसँग सामयिक सम्पर्कमा रहन सकेको अवस्थामा परिणत गरिदिएको महसुस भएको छ । हजुरहरुलाई पनि थिति बसाल्न उपयुक्त जँचे आजै शुरु गरौं ! कहिल्यै औषधिको भर नपरी जम्मू, बेसार, मरिच, जुवानु, अदुवा, खुर्सानी पानीले रुघाखोकी ‘फ्लू’ धपाउने मन, कसैको अहितको कल्पनासम्म नगरी सर्व हितचिन्तनमा जीवन समर्पण गरेको भावना, यथेस्ट शारिरीक, मानसिक तथा मनो-सामाजिक शक्ति, सदैव सकारात्मक सोच राखी प्रतिकुलतालाई सहजै सामना गर्ने आत्मबल अनि हिमाली चिसो र तराईको गर्मी हावापानीमा पसिना काढेर छालै डढुञ्जेल मकै गोड्दै हुर्के बढेको ज्यानभित्र पस्ने कोरोनालाई बाटै छैन, त्यो आफैं परास्त भएर जानेछ । रपनि योग, ध्यान, खानपानमा ख्याल राखौं, लकडाउनका बेला घरमै बसौं, सुरक्षित रहौँ !!

‘सके सपारौं, नसके नबिगारौं‘