तेक्वान्दोका एसियाकै ‘उत्कृष्ट प्रशिक्षक’ : अशोक खड्का

तेक्वान्दोका एसियाकै ‘उत्कृष्ट प्रशिक्षक’ : अशोक खड्का


■ श्रीविक्रम भण्डारी

सेतो पहिरनमा सजिएर लामबद्ध हिँडेका बच्चाहरुतर्फ सङ्केत गर्दै त्यस्तै लुगा लगाउने भन्दै उनले आमासँग जिद्दी गरे । त्यसबेला उनलाई त्यो कस्तो लुगा हो, त्यो लुगा लगाएर के गरिन्छ भन्ने केही अत्तोपत्तो थिएन । साँचो अर्थमा भन्नुपर्दा त्यो केवल उनको बालहट मात्रै थियो । तर, छोराको जिद्दीका अगाडि आमाको केही सीप लागेन, लुगा किनिदिनु’भो । त्यसपछि खुशीले फुरुङ्ग भएका उनी त्यही लुगा लगाएर तेक्वान्दोको हुलमा मिसिए । त्यहिँबाट उनले तेक्वान्दो खेलको यात्राको शुभारम्भ भयो । जुन अविश्वसनीय र अकल्पनीय थियो । यसरी बालहटमै तेक्वान्दो खेलतर्फ आकर्षित भएका र त्यसपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी हुँदै एसियाकै उत्कृष्ट प्रशिक्षक बन्न सफल उनी हुन ‘अशोक खड्का’ ।

बालपन, खड्कालाई तेक्वान्दोको बारेमा केही जानकारी थिएन् । तेक्वान्दो खेलर भविष्यमा के हुन्छ, त्यसको बारेमा पनि कुनै चासो थिएन । खाली सेतो लुगा लगाएर साथीहरूसँगै खेल्न पाए पुग्यो, मात्र यही सोच थियो । तर, तेक्वान्दो खेल्दा खड्काको फुतिफार्ती नै अर्कै थियो, उनी अन्य बच्चाभन्दा भिन्दै अर्थात् उष्कृष्ट थिए । खड्काको यहि विशेषताले गर्दा प्रशिक्षकको नजर उनीमाथि टिकेको थियो । परिणामतः भविष्यमा फल दिने बिरुवाको रूपमा प्रशिक्षकले खड्कालाई आत्मसात गरे । यसरी प्रशिक्षकले कुमालेको कार्य गर्दै काँचो माटोरूपी खड्कालाई सुन्दर भाँडो अर्थात् तेक्वान्दो उत्कृष्ट खेलाडी बनाउन सफल भए । खड्काले पनि प्रशिक्षकको विश्वासमा खरो उत्रिँदै आफ्नो ‘वेष्ट’ दिँदै गए । तेक्वान्दोको बगैँचामा एउटा सुन्दर फुल बनेर देखाइदिए ।

तेक्वान्दोप्रतिको अगाध रुचि र समर्पण भावले नै होला खड्का सानो उमेरमै चर्चित खेलाडी बन्न पुगे । त्यो उमेरमा त्यो मेहनत र उत्साह आफैमा प्रशंसनीय थियो । त्यसैले उनको डबल प्रमोशन हुन्थ्यो । यसरी १० बर्षको उमेरमै खड्काले ‘ब्ल्याक वेल्ट’ हासिल गरेर तेक्वान्दोमा सनसनी फैलाए । जुन आफैमा कीर्तिमान थियो । सफलताको सिँढी चढ्दै गएका खड्काले १२ वर्षको उमेरमा प्रशिक्षक बनेर अर्को नौलो कीर्तिमान बनाए । यसरी खेलाडी र प्रशिक्षकको भूमिका सँगसँगै निभाउँदै गएका खड्काले राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भए । जुन उमेरको हिसाबले कल्पनाभन्दा बाहिरको कुरा थियो, तर खड्काले यसमा लालमोहर लगाई दिए । आश्चर्य चकित र अपत्यारिलो कुरो थियो, र पनि सत्य थियो । विश्वास गर्न गाह्रो थियो, विश्वास नगरी सुख नै थिएन । किनकि खड्काले यस्तो कारनामा गरेका थिए, सबैलाई तीन छक्क र मन्त्रमुग्ध बनाएका थिए ।

गीताको यो सारलाई ‘कर्म गर फलको आशा नगर’ आत्मसात गरेका खड्काले तेक्वान्दोमा निरन्तर प्रशिक्षण गर्दै गए । सुदिनको पर्खाइमा रहेका उनले आफ्नो पहिलो अर्जुनदृष्टि राष्ट्रिय खेलकुद परिषदबाट आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई बनाए । समयको चक्र चल्दै गयो, खड्का छैठौँ राष्ट्रिय खेलकुदको अन्तिम छनोटमा परे । जिल्ला र क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै उनी छैठौँ राष्ट्रियको लागि छनोट भएका थिए । सुदुरपश्चिमको धनगढी र महेन्द्रनगरमा आयोजना भएको उक्त राष्ट्रिय प्रतियोगितामा खड्काले आफ्नो पहिलो सहभागितामै स्वर्णपदक जितेर राष्ट्रिय खेलाडीको ‘पगडी’ पहिरन सफल भए । यो खड्काको खेल जीवनको सवैभन्दा ठूलो सफलता थियो । उनले यो सफलता पुम्से विधामा हासिल गरेका थिए । राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दा उनले देखेका धेरै सपनामध्ये एउटाले पूर्णता पाएको थियो, त्यसैले खड्का निकै खुशी थिए । त्यसपछि निकै प्रोत्साहित भएका उनले कर्मलाई नै आफ्नो भाग्यको रेखा माने । जसको स्वाद खड्का अहिलेसम्म चाखिरहेका छन् ।

विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूलाई नौलो विधामा उतार्दै फिनवैट ५४ केजीमा प्रतिस्पर्धा गरेका थिए । दुर्भाग्य, सातौँमा फाइनलसम्मको यात्रातय गरे पनि उनले रजतपदकमै चित्त बुझाउनु पऱ्यो । जुन पराजय सम्झँदा अहिले पनि उनको मन पोल्छ । जसलाई उनी बिर्सन चाहेर पनि बिर्सन सक्तैनन् । उनले यसलाई नमिठो सपनाको संज्ञा दिएका छन् । आखिर के भयो र उनी फाइनलमा पराजित भए त्यसको अहिलेसम्म भेउ पाउन सकेका छैनन् । त्यसबेला भएको कमजोरी उनको लागि अहिले पनि निकै पीडादायी बनेको छ । त्यस्तै, तेस्रो कोरियन एम्बेस्डर राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जितेका खड्का यही प्रतियोगिताको छैठौँ संस्करणमा भने रजत पदकमै खुम्चिए । तर तेक्वान्दोप्रतिको उनको समर्पण भावमा भने कुनै कमी आएन । उनी पराजयको पाठ सिक्दै अझै खारिदै गए, आफूलाई अझ आत्मविश्वासी बनाउँदै गए ।

एकदिन यस्तो आयो खड्का १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को लागि छनोट भए । सागमा पहिलोपटक छनोट हुँदा उनको खुशीको सीमा थिएन । किनकि उनी पहिलोपटक अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै थिए । मनमा आशा किरण जगाउँदै सागमा स्वर्ण पदक जित्ने लक्ष्यका साथ खड्का बन्द प्रशिक्षणमा सागको तयारीमा जुटेका थिए । दिनरात पसिना बगाउँदै, रगत सुकाउँदै प्रशिक्षण गर्दै थिए । तर दुर्भाग्य, भावीको लेखाइ अर्कै रहेछ, प्रशिक्षणको क्रममा खड्काको खुट्टा भाँचियो । परिणामतः साग गेममा छनोट भएर पनि खेल्नबाट बन्चित भए खड्का । यो उनको खेल जीवनको सबैभन्दा ‘ट्रयाजिटी’ थियो । यो दुर्घटनापछि निकै मर्माहत भएका खड्का डिप्रेसनमा समेत पुगे । उनी सागमा खेल्न नपाएको पीडाले दिनदिनै सताउँदा यस्तो स्थितिमा पुगेका थिए । सँगै बन्द प्रशिक्षणमा प्रशिक्षण गरेका साथीहरूले सागमा पदक जित्दाको समाचार आफुले अस्पतालको बेडमा बसेर सुन्दा खड्काको मन भतभती पोलेको थियो । आफुले खेल्न पाएको भए आफुले पनि पदक जित्ने कुरा ज्वारभाटा झैँ उठेको थियो । त्यो कुरा सुन्दा त्यसबेला उनी भक्कानो छोडेर रोएका थिए, आफ्नो भाग्यलाई दोष दिँदै । यदि उनले दसौँ सागमा प्रतिस्पर्धा गर्न पाएको भए उनको खेल जीवनको कायापलट हुने खड्काको विश्वास थियो ।

खड्काले २३ वर्षको उमेरमा यस्तो दुर्घटनाको सामना गर्नु पऱ्यो । भरखरै खेल जीवन शुभारम्भ भएको अवस्थामा यस्तो नियतिको सामना गर्नुपर्दा उनको खेल जीवनमा ठूलो कुठाराघात भयो । प्रशिक्षणका क्रममा भाँचिएको खड्काको खुट्टाको १४ पटक शल्यक्रिया गर्नुपऱ्यो । १३ महिना अस्पतालको बेडमा सुत्नु पऱ्यो । त्यतिबेला उनलाई साथ दिने कोही भएन । सम्बन्धित सङ्घ, सम्बन्धित निकायले एउटा राष्ट्रिय खेलाडीलाई गर्नुपर्ने कुनै व्यवहार गरेनन् । आर्थिक अभावले उनको उपचार प्रभावित बन्यो । साँचो अर्थमा भन्नुपर्दा राष्ट्रबाट ‘राष्ट्रिय गहना’को संज्ञा पाएका उनी टुहुरो जस्तै बनेका थिए । उनलाई यस्तो दुःखमा साथ दिने कोही थिएन । मात्र तल हेऱ्यो धर्ती थियो माथि आकाश । यस्तो अवस्थामा गुज्रिरहेका खड्काको बारेमा सञ्चारमाध्यमले उनको बारेमा समाचार सम्प्रेषण गरेपछि सम्बन्धित निकायको आँखा खुल्यो । त्यसपछि थोरबहुत भए पनि सहयोग प्राप्त भो, उनको उपचार सफल भयो ।

उपचारपश्चात् पनि खड्का पुनः तेक्वान्दोमा सक्रिय भए । विगतमा तेक्वान्दोका दुई वटा विधा ‘गेरोगी र पुम्से’मा आफ्नो सहभागिता दिँदै आएका खड्काले खुट्टा भाँचिएकै कारण गेरोगी विधालाई बाध्यतावश नचाहँदा नचाहँदै त्याग्नु पऱ्यो । यो उनलाई मनपर्ने विधा थियो, तर खुट्टाले साथ नदिदा यस्तो अप्रिय निर्णय गर्नु पऱ्यो । यसरी आफ्नो दोश्रो पारी उनले पुम्से र पाराबाट शुभारम्भ गर्न पुगे । दुवै विधामा खड्काले राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरका प्रतियोगितामा सफलता प्राप्त गरे । जुन खुट्टा भाँचिएर १४ पटक अप्रेशन गरेको खेलाडीबाट अपेक्षा सकिँदैनथ्यो । तर, अन्य खेलाडीले कल्पना समेत गर्न नसक्ने खड्काले म्याटमा उत्रिएर व्यवहारमै देखाइदिए । जसको प्रमाणको रूपमा अष्ट्रेलियन गोल्ड कोस्ट ओपन, थाइल्याण्डमा भएको तेस्रो हिरोज च्याम्पियनसीप, कोरियामा भएको आठौँ विश्व एक्सपोमा जितेको स्वर्ण पदकलाई लिन सकिन्छ । यिनै प्रभावशाली प्रदर्शन कारण खड्का पुनः तेक्वान्दोमा छाए । त्यसपछि उनको चर्चा यत्रतत्र सर्वत्र हुन थाल्यो, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनलाई पत्याइयो ।

तेक्वान्दो अशोक खड्काको ‘कर्मस्थल’ थियो । त्यसैले नेपाली सेनाको सहायक सेनानी पद छोड्न उनले किञ्चित समय लगाएनन् । उत्रिए, तेक्वान्दोको विकास र विस्तारको लागि मैदानमा । उनको सोच ठीक थियो तर कार्य गर्न फलामकै चिउरा चपाउनुपर्ने अवस्था थियो । तैपनि उनले हिम्मत हारेनन्, आँट जुटाए, सामुन्य आएका सम्पूर्ण चुनौतीको सामना गरे । देश–विदेशबाट तेक्वान्दोका शुभचिन्तकहरूबाट सहयोग जुटाए । परिणाम, एक्लो प्रयासमै काठमाडौंको डाँछीमा तेक्वान्दोको पहिलो एकेडेमी निर्माण गर्न सफल भए । अहिले यो एकेडेमी राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्षम भैसकेको छ । यसको उदारहण हुन्– ‘सञ्जु शाही र अस्मिता नगरकोटी ।’ तेक्वान्दो भनेपछि भुतुक्कै हुने खड्काले तेक्वान्दोलाई हराभरा बनाउन अहिले पनि उत्तिकै सक्रिय छन् । यतिबेला उनी तीन वटा स्कुल, तीन वटा अनाथ आश्रम, रक्षा नेपाल र आर्मीलाई तेक्वान्दोको प्रशिक्षण गराउँदै आएका छन् । खड्काले तेक्वान्दोमा पाँचौँ डान प्राप्त गरेका छन् ।

यतिबेला तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल खड्काले सन् २०१३ मा दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको कोर्स गरेका थिए । त्यस्तै सन २०१८ मा मुम्बई भएको गेरोगी र पुम्सेको प्रशिक्षण कोर्समा एकै पटक उत्तीर्ण भएर इतिहास रचे । यो सफलतासँगै नेपालले पहिलोपटक गेरोरी र पुम्सेमा पहिलो नेपाली अन्तर्राष्ट्रिय निर्णायक पायो । जुन अहिले सम्पूर्ण नेपालीको लागि गौरवको विषय बनेको छ । खड्काले पाएको यो सफलता आफैमा प्रशंसनीय छ । जुन उपलब्धि खेलकुदमा लागेका थोरबहुत व्यक्तिले मात्रै हासिल गर्न सफल भएका छन् । त्यस्तै, सन् २०१८ मा अष्ट्रेलियामा पारा कोर्स गरेर निर्णायक बन्न सफल भएका खड्काले आफ्नो बायोडाटामा अर्को उपलब्धि थप्न सफल भए । वर्तमान अवस्थामा खड्का तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक र रेफ्रीको भूमिका निर्वाह गर्दै आएका छन् । खड्काले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग), मेक्सिको ओपन, जर्मन ओपन, अल हसन ओपन (जोर्डन), अष्ट्रेलियन ओपन र टोकियो पारा ओलम्पिकमा निर्णायक र रेफ्रीको भूमिका निभाइसकेका छन् । त्यस्तै तेक्वान्दोको समग्र विकाससँगै सामाजिक कार्यमा पनि खड्काले उत्कृष्ट कार्य गरेको उनले पाएको मानसम्मान र पदवीबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । खड्काले कोरानाकालमा गरेको सहयोगको चर्चा अहिलेसम्म सेलाएको छैन । उनले मानवलाई मात्र नभै पशुपन्छी र जनावरहरूलाई समेत खाना खुवाएर त्यतिबेला मानवताको मिसाल कायम गरेका थिए ।

काठमाडौंको डाँचीमा नेप्लिज तेक्वान्दो एकेडेमीको सञ्चालन गर्दै प्रशिक्षक र निर्णायको भूमिका निर्वाह गर्दै आएका खड्काको काँधमा अर्को जिम्मेवारी थपिएको छ । खड्कालाई तेक्वान्दोको समग्र विकास र विस्तारमा गरेको योगदानका कारण उक्त जिम्मेवारी सुम्पिएको हो । उनलाई नेपाल तेक्वान्दोे सङ्घले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको कार्यवहाक अध्यक्ष बनाएको छ । उक्त जिम्मेवारी पाएपछि प्रशन्नता प्रकट गर्दै संघले आफुलाई यति ठूलो जिम्मेवारी सुम्पेकोमा आभार प्रकट गरेका छन् । साथै तेक्वान्दोप्रतिको आफ्नो त्याग, तपस्या र समर्पणको सहि मूल्याङ्कन भएको ठानेका छन् ।

नेपालमा तेक्वान्दोको भविष्य निकै उज्ज्वल देखेका खड्काले । तेक्वान्दोका खेलाडीले ओलम्पिक छनोट चरण पार गरी ओलम्पिकमा प्रतिस्पर्धा गरेको, एसियाली खेलकुदमा पहिलो ऐतिहासिक रजत पदक दिलाएको र साग गेममा सबैभन्दा बढी स्वर्ण पदक जित्ने कीर्तिमान राखेकै कारण पनि तेक्वान्दो नेपालको सबैभन्दा सफल र लोकप्रिय खेल भएको खड्काको दाबी छ । त्यसैले उनी तेक्वान्दोको विकास र विस्तारको लागि भविष्यमा तेक्वान्दोको होस्टेल खोल्ने योजनामा छन् । जसमा तेक्वान्दोप्रति रुचि राख्ने गरिव निमुखादेखि पहुँच पुग्ने सबै खेलाडीले बस्न र खेल्न पाउने छन् । जसले तेक्वान्दोलाई हराभरा बनाउने उनको विश्वास छ । प्रतिभा थियो तर खुट्टाका कारण खड्काले महत्वपूर्ण अफिसियल प्रतियोगितामा सहभागिता दिन असमर्थ भए । त्यसको पछुतो अहिले पनि उनीलाई छ । त्यसैले खड्का अब त्यो सपना ओलम्पिक खेलकुदमा निर्णायकको भूमिका निभाएर पूरा गर्न चाहन्छन् । यसमा खड्काले आफूलाई कसौटीमा उतार्दै एसियाको ‘उत्कृष्ट निर्णायक’ सावित भैसकेका छन् । जसले खड्कालाई ओलम्पिकमा निर्णायकको भूमिका उतार्न ‘सेतु’को कार्य गर्नेछ भन्दा अतिसयोक्ति नहोला ।