निषेधाज्ञाले छेकेपछि चेलीहरुले घरको छतमै नाचेर मनाए तीज

निषेधाज्ञाले छेकेपछि चेलीहरुले घरको छतमै नाचेर मनाए तीज


विकास रौनियार, धादिङ

कोरोना महामारीले यस वर्षको हरितालिका तीजलाई प्रभावित पाऱ्यो । विगतका वर्षहरुमा जस्तो यसपटक चेलीहरुले तीज पर्व धुमधामसँग मनाउन पाएनन् । तथापि, चेलीहरुको आस्थालाई कारोनाले छेक्न भने सकेन ।

शुक्रबार तीज पर्वको दिन चेलीहरु छमछमी नाचिरहेको माथिको दृश्य धादिङको गल्छी बजारस्थित एक घरको हो । कोरोनाले मठमन्दिर बन्द भएको र धेरैलाई त्रसित बनाइरहेका बेला यी चेली निर्धक्क भएर छमछमी नाचिरहेका छन् ।

कोरोनाले सर्वत्र त्राहिमाम् बनाइरहको यस्तो परिवेशमा घरपति र डेरा गरी बस्नेहरु मिलेर घरमै यसरी धुमधामसँग तीज पर्व मनाए तर विगतको भन्दा फरक रुपमा ।

विगतमा मठमन्दिर, चोकचोक जम्मा भएर खुला स्थानमा रमाइलो गर्ने चेलीहरु यसपटकको तीज पर्व साँघुरो स्थानमा खुम्चिन विवश भए । कसैले घरमै बसेर रातो सारी, कुर्तासुरुवाल लगाएर तस्बिर खिचे, सेल्फी लिए । यति ठूलो महामारीमा पनि आफैँमा रमाए । निधेषाज्ञाले घरभित्रै बस्न बाध्य चेली माइतीघर जान पाएनन्, मिठो मसिनो खान पाएनन् होला । जे–जस्तो भए पनि आफ्नो आस्था भने जोगाएको पाइयो ।

कतिपय चेली दुई–तीन जना मात्रै जम्मा भएर एकआपसमा तस्बिर लिने र भलाकुसारी गरेर तीज मनाएको पनि दृश्य देखियो । विवाहिता नारी श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै र अविवाहित नारी असल वरको कामना गरी ब्रत बसे ।

विगतका वर्षका तीज पर्व निकै तडकभडक र खर्चिलो हुन्थ्यो । पर्व मनाउने नाममा महिनौँअघि दर खाने भन्दै पार्टी प्यालेसमा तडकभडक देखाउने संख्या पनि उल्लेखनीय हुन्थ्यो, तर यस पटक त्यस्ता दृश्य लगभग शून्य देखियो । यसलाई चाहिँ सकारात्मक नै मानिएको छ ।