के ‘निर्दोष’ साधुलाई गोली हानेर मारिनु, राष्ट्रिय झण्डा जलाइनु संयोग मात्र हो ?

के ‘निर्दोष’ साधुलाई गोली हानेर मारिनु, राष्ट्रिय झण्डा जलाइनु संयोग मात्र हो ?


■ सागर सुवेदी

आज भन्दा करिव ९ वर्ष अगाडि अहिले चल्तीमा रहेको एक अनलाइन पत्रिकामा नेपालमा ‘गणतन्त्र’ आउनुको खास कारण के हो भन्ने विषयमा आफ्नो बुझाइका केही विवेचना लेखेको थिएँ, आज एकपटक पुनः सामाजिक सञ्जालले उक्त विवेचनालाई स्मृतिमा ल्याइदियो । नौ वर्षदेखि आजसम्म राजधानीमै रहेको नदी बागमतीमा धेरै पानी बगेजस्तै नेपालको राजनीतिमा पनि पानी त बगेको देखिन्छ तर फरक के छ भनी छुट्टाउँदा बागमती नदी गन्तव्यतर्फ निरन्तर बगिरहेको छ भने नेपालको राजनीतिचाहिँ प्रजातन्त्र प्राप्तिपछि आजका दिनसम्म गन्तब्यविहीन रूपले अन्योलताका साथ बढिरहेको छ ।

यसका केही कारणमध्ये नेपाली माटोसँग नसुहाउँदो साथै जबर्जस्ती लादिएका संघीयता, धर्मनिरपेक्षता अनि गणतन्त्र नै हुन् भन्ने कुरा आज आमनेपालीले बुझ्दै छन् । मलाई लाग्यो कि मैले ९ वर्षअगाडि लेखेको लेखलाई पुनर्विचार गर्ने बेला आएको रहेछ, हिजो मेरो लेखमा केही आशाका किरणरूपी त्यान्द्राहरू मिश्रित थिए भने आज मेरो मानसपटलले देशको राजनीति अध्यारो सुरुङमा पसेको तथा यसबाट फर्किने बाटो नभएको निर्क्योल निकालेको महसुस गर्दछ ।

राज्यलाई संघीयता आखिर किन घाँडो भइरहेको छ ?

एकपटक सोचौँ– हामी कपडा किन्न पसलमा पुग्छौँ, कुनै कपडा रङ्ग या त्यसको डिजाइन मात्र मन परेको आधारमा त्यसलाई किन्दैनौँ, केही बाध्यताले किन्न सकिएला तर त्यो अपवाद मात्र हुन सक्छ । यसरी हामी लगाउने लुगा किन्दा त हरेक कोणबाट हेर्छौं अनि निर्णय गर्छौं भने देशलाई अचानक संघीयतामा लैजाँदा कुनै जनताको राय के छ भन्नेतर्फ गएनौँ, करोडौँ जनता के चाहन्छन्, हाम्रो जस्तो देशको लागि संघीयता आवश्यक छ या छैन, लागु गरिएपछिका समस्याहरू के हुन सक्छन् भन्नेतर्फ कुनै योजना नबनाई अचानक बनिरहेको फाइलमा पाना घुसाए जसरी संघीयता घुसाइयो । आज संघीयता देशको ढुकुटी रित्ताउने अनि विखण्डनको आवाजलाई मलजल गर्ने प्रमुख केन्द्र बनिरहेको अवस्था छ, जब कि आजसम्म जिल्लामा अवस्थित प्रमुख जिल्ला अधिकारीकै कमाण्डमा सम्पूर्ण प्रशासनिक काम भैरहेका छन् भने प्रदेश, प्रदेशसभा, मुख्यमन्त्री, प्रदेशप्रमुख, विभिन्न मन्त्री तथा मन्त्रालयहरू राजनीतिलाई पेशा बनाएका राजनीतिजीवीहरूले जागिर खाने र तलब पकाउने ठाउँ बनिरहेका छन् । नेपाली नागरिकले आजसम्म ध्यान दिन नसकेको साथै चर्चा नगरेको विषय भनेको यिनै बेरोजगार सेता हात्ती तथा यसमा चढ्नेहरूलाई गाडी किन्न, आवास बनाउन, तलब खुवाउन देशको अर्थमन्त्रालयले नागरिकसँग चाहिनेभन्दा बढी विभिन्न शीर्षकमा कर त असुलिरहेकै छ त्यसैमा वार्षिक अर्बौं रकम वैदेशिक ऋणका रूपमा ल्याइरहेको छ । हामी त्यता पनि बसहको सुरु गर्न चाहिरहेका छैनौँ कि विदेशबाट ऋण लिएर राज्यले यी सेता हात्तीहरूलाई कहिलेसम्म पालिरहन सक्छ ? ब्यापार घाटा साथै अर्थशास्त्रको सिद्धान्तबाट नहेर्दा पनि देश एकप्रकारले कंगाल देखिन्छ । संघीयताले देश लुटिइरहेको तर्फ आमनागरिक तहबाट ध्यान आकर्षित कहिले हुने ? कि चुपचाप हेरिरहने ?

जबर्जस्ती धर्मनिरेपेक्षता लादिनुका असर कसरी देखिइरहेका छन् ?

राणाकाल या त्योभन्दा पहिला अथवा नेपाल एकीकरण भन्दा पनि अगाडिका प्रस्ट इतिहासलाई अध्ययन गर्दा नेपाल एक सनातनी भूमि थियो भन्नेमा कतै बहस गर्न आवश्यक ठानिनँ, राजा महेन्द्रले सनातनी संस्कृतिलाई जोगाउने हेतुले हिन्दु धर्मसमेतको अधिराज्य घोषणा गरे पनि देश हजारौँ सालदेखि नै सनातनी हिन्दुराज्य थियो भन्ने विषयलाई अहिले पनि नेपालमा आदिमकालदेखि बसोबास गरिरहेका या केही सय वर्षअगाडि भारतवर्षबाट बसाइँ सरेर आएका नागरिकहरूले अपनाइरहेको संस्कृतिबाट पुष्टि भइरहेको छ, तथापि केही विदेशी माड पेटमा परेकाहरूले यसलाई गलत भनी नेपाली जनतालाई आजसम्म पनि कुनै न कुनै कोणबाट भ्रमित पार्न छाडेका छैनन् । यो हामी सबैले प्रस्ट महसुस गरिरहेको विषय हो । आज यसको प्रत्यक्ष असर नेपाली समुदायमा परिरहेको छ, जसमा राज्य टुलुटुलु हेरेर बसेको अवस्था छ ।

जनगणनामा ८० प्रतिशत हिन्दु बसोबास गर्छन् भनिए पनि सनातनी धर्म अँगाल्ने नेपालीहरू अधिक रहेको विषयमा यहाँ बहस नगरौँ तर आज प्रजातन्त्र प्राप्तिपछिका दिनहरूमा विदेशी राष्ट्रबाट धर्मका नाममा गरिएका लगानीलाइ हेर्दा हामीले खुल्ला आँखाले देखिरहेका गरिरहेका छौँ कि हाम्रो संस्कृतिलाई सिध्याउन विदेशी ठूला शक्ति नै लागिरहेका छन् भन्ने, हिजो मात्र मन्दिर भएका राज्यका गाउँ–शहरहरूमा आयातीत धर्मका मण्डलीहरू यसरी खुलेका छन् कि गनिसाध्य नै छैन । त्यसैमा भ्रमको खेती यसरी गरिएका छन् कि हिन्दुधर्म त्यागेको खण्डमा सम्पूर्ण दुःख र रोगबाट मुक्ति पाइन्छ भन्ने भ्रम फैलाइयो । सोझा नेपालीहरू भ्रमको ब्यापार गर्ने ब्यापारीका कारण दोधारमा रहेका देखिन्छन् । कैयनले पत्याएका पनि छन् । राज्य तथा यसको निकायले सोझा नेपालीहरूलाई किन बुझाउन सकिरहेको छैन कि यशुलाई भगवान् मान्ने देशहरूमा हरेक दिन अस्पतालमा कति व्यक्तिहरू खतरनाक रोगका कारण हरेक मिनेट मरिरहेका छन् भन्ने ! किन जन्मदै यशुलाई भगवान् मानिरहेकाहरूलाई स्वयम् येशुले बचाउन सकिरहनुभएको छैन ? आज नेपालमा धर्म ग्रहण गरेको व्यक्तिको जीवन परिवर्तन हुने छ भन्ने गलत सन्देश खुला बाँड्दा राज्य अन्धो बनेको स्वाङ गरिरहेको छ ।

स्वयम् युरोप, अमेरिका अहिले योगभित्र नै जीवन, घरेलु औषधिमै शक्ति, ध्यान नै विकार बस्तुको निकासी भनेर अधिक अपनाउँदै गइरहेको वर्तमान अवस्थामा नेपालमा धर्म परिवर्तनमाथि यतिको ठुलो लगानी किन ? हामीले यसको उत्तर खोज्न कहिलेबाट शुरु गर्ने ?

केही वर्षअगाडि विश्व हिन्दु युवा संघका संस्थापक अध्यक्षलाई दिनदहाडै गोली हानिनु, गोली हान्ने आदेश दिने व्यक्ति तत्कालीन माओवादीका केन्द्रिय नेता प्रभु शाह हुन् भनेर प्रहरी अनुसन्धानमा प्रस्ट हुँदा पनि कारवाही गर्न उदासिनता देखाउनु, मस्जिदमा मुस्लिम धर्मगुरुलाई दिनदहाडै गोली प्रहार गरेर हत्या गर्नु साथै केही दिनअगाडि रौतहट जिल्लास्थित राममन्दिरका पुजारीलाई गोली प्रहार गरी हत्या गरिनु सामान्य रूपमा लिन सकिने अवस्था भएन र सकिँदैन । आखिर केही नभएका, सांसारिक सुख त्यागेर साधु बनेका व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुपर्ने कारण के हुन सक्छ ? देशलाई धार्मिक युद्धतर्फ धकेल्न सुनियोजित षडयन्त्र बुनिएका प्रशस्त कारणहरू हिजोदेखि नै बाहिर आइरहेका छन्, पंक्तिकार यस विषयमा यहाँ विस्तृतमा जान चाहेन । आज हामी एक हत्यामा चुप बस्दा भोलि घट्न सक्ने यस्ता अपराधहरू हाम्रै परिवारभित्र भयो भने कसले बोलिदिने ? आज देशलाई रणभूमि बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने विदेशी तथा तिनका नेपाली मिसनरी एजेन्टलाई जनताले कहिलेसम्म नेता मानिरहने भन्ने गम्भीर प्रश्न नेपालीमाथि खडा भएको देखिन्छ । देशमा यतिका अस्तव्यस्तता छ कि देशको राष्ट्रिय झण्डा जलाएर खुल्लमखुल्ला YouTube सञ्जालमा राखिनु, राज्यमै बसोबास गर्ने अर्को जातिलाई खुल्लमखुल्ला तल्लो स्तरमा उत्रेर गाली गरेका धम्कीयुक्त भिडियो अपलोड भइरहेका छन् । आखिर उनीहरूलाई राज्य तथा राज्यको संविधानसँग डर किन छैन ? यसलाई समयमा नरोक्दा यसबाट निस्किने भयावह परिणामको दोषी ‘को’ हुने भन्नेमा चिन्तन गर्नुपर्ने अवस्था आएको छ ।

के गणतन्त्र एक मिशन मात्र हो ?

गणतन्त्रका प्रारम्भिक दिनहरूमा पङ्क्तिकारको बुझाइ थियो राजा ज्ञानेन्द्रको सत्ता मोह तथा गिरिजाप्रसाद कोइरालाको राष्ट्रपति बन्ने चाहनाकै कारण २४० वर्षको गर्विलो इतिहासको गाथा बोकेको राजसंस्थालाई पाखा लगाइयो । तर आज सबै बुझ्दै जाँदा गिरिजा विदेशीको एक गोटी मात्र रहेछन्, देशमा अस्थिरता निम्त्याउने प्रयासस्वरुप बिपीलाई नेपाल राज्यको प्रधानमन्त्रीको लालचको ललिपप आउँदा बिपीको आफ्नो राजनीतिक उत्तराद्र्र्धमा आँखा खुलेसँगै विदेशी षडयन्त्रको गोटी बनेर सत्तामा रहनुभन्दा देशको जेलमा बस्छु भन्दै जसरी आएर अनि आफू सकिए तर देशलाई त्यो बेला बचाए । बीपीकै कान्छोभाइ गिरिजासँग त्यो दूरदर्शिता तत्कालीन कालमा भइदिएको भए सायद देशको आजको अवस्था आउने थिएन भन्ने मानिन्छ । यो बुझाइ आज अधिक आमनागरिकले बुझ्दै गइरहेका पनि देखिन्छ, तर प्रस्ट बोल्ने हिम्मत साथै बहस स्वयम् बीपीले स्थापना गरेको पार्टी चलाउन सकिरहेका छैनन् । अहिले अवस्था यस्तो बनिरहेको छ कि आफै हुर्काएको बाख्राको पाठो मासुका लागि बिक्री गर्दै गर्दा एक हातमा त्यसवापत आएको पैसा समाएर नक्कली आँशु झारे जस्तो । त्यसैले बीपीले त्यो बेला नै बुझेका थिए कि राजसंस्थाको विषयमा सम्झौता गर्नु भनेको राज्य तथा जनतालाई धोका दिनु हो, र राष्ट्रलाई गणतन्त्रतर्फ धकेल्नु भनेको देशसँग गद्दारी गर्नु हो । आज त्यही बेलादेखि रचिएको मिसन पूरा हुने अवस्थामा रहेको देखिन्छ साथै जनताको लागि ल्याइएको गणतन्त्रमा ट्राफिक जामकै कारण साधारण व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

यसको समाधान कसरी हुन सक्ला ?

विदेशी एजेन्टका पैसा खाएर नारायणहिटीतर्फ ढुंगा हान्नेहरू, जनवाद, साम्यवादका नाममा निर्दोष व्यक्ति रेटेर आज महलको सुविधामा बसेका राजनीतिजीवीहरू, धर्मपरिवर्तनका नाममा जनतालाई भ्रमित पार्नेहरू, दलितका नाममा राजनीति गरी दलितमाथि नै शोषण गर्नेहरू, धर्मको नाममा राजनीति गरी कुर्ची मात्र खोज्नेहरू, धर्म तथा जातको नाममा एकआपसमा लडाउन खोज्नेहरू, राज्यको पहुँचमा बसेर सधैं लाभ लिइरहने व्यक्तिहरू, नेपाली बहुआयमिक संस्कृतिलाई अपमान गर्नेहरू, स्वतन्त्रताका नाममा मन्दिरमा गएर पिसाब फेर्नुपर्छ भन्नेहरू, राष्ट्रनिर्मातालाई अपमान गर्नेहरू, कुनै कथित वादका नाममा देशलाई अस्थिर बनाउनेहरूलाई पहिचान गरी, यी सबैलाई यिनीहरूले गरेको गल्तीको सजाय दिलाइ जेल कोच्ने अनि अहिले जे–जस्तो राज्य प्रणालीको कार्यान्वयन गरिएको छ त्यसमा निष्पक्ष रूपमा आमजनताबीच गई जनमतसंग्रह गराउने । यसो गरेको खण्डमा नेपालको अस्तित्व केही भए पनि बचाउन सकिने पङ्क्तिकारको ठहर छ । अस्तु ।

(लेखक मातृभूमिका लागि नेपालीका केन्द्रिय सदस्य हुन् ।)