भदौ १६ बाट अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने तयारी

भदौ १६ बाट अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने तयारी


सनत आचार्य

कोभिड–१९ का कारण लामो समयदेखि बन्द गरिएका अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरू यही भदौ १६ (सेप्टेम्बर १) देखि खुला गर्ने सरकारको तयारी छ । यसको तयारीसँगै लामो समयसम्म विदेशमा अड्किएर रहेका नेपालीहरूमा नेपाल फर्किन पाउने आशा फेरि जागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अनुसार पहिलो चरणमा नेपाली नागरिक र कुटनीतिक नियोगका कर्मचारी मात्र आउन पाउने बताइए पनि गैरआवासीय नेपालीलाई भने आउन दिने अन्तिम टुङ्गो अझैै लागिसकेको छैन । यसबाट गैरआवासीय नेपालीवाहेक अन्य नेपाली सहजै रूपमा नेपाल आउन सक्ने देखिएको छ ।

मन्त्रालय श्रोतका अनुसार अहिले सरकारले दैनिक पाँच सय यात्रुलाई मात्र नेपाल ल्याउने निर्णय गरेकोले यो संख्या अत्यन्त न्युन हो । विदेशबाट नेपाल आउन चाहनेहरूको संख्या पचासौँ हजार भएकोमा दैनिक पाँच सय मात्र ल्याउनु भनेको त्यो लगभग एक उडानको भार मात्र भएको हुँदा नेपाल आउन दिने यात्रु संख्या बढाउनुपर्ने मन्त्रालयको धारणा रहेको बुझिन्छ । यसलाई अन्यथा मान्न पनि सकिँदैन ।

हवाई मार्गबाट आउने यात्रुले पालना गर्नु पर्ने नियमहरू :

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसिएमसी)को वेबसाइडमा गई विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फाराम अनलाइनमा वा यसलाई प्रिण्ट गरी उक्त फारामले मागेअनुसारको सूचना सिसिएमसीलाई दिनुपर्नेछ ।

त्यस्तै, नेपाल आउन चाहने व्यक्तिले व्यवसायिक उडानबाट नेपाल आउने यात्रुसँग यात्रा शुरु गर्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर परीक्षण नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्नेछ ।

सरकारद्वारा उपत्यकामा तोकिएका होटल ७ दिनका लागि बुक गरेको प्रमाण सम्बन्धित यात्रुसँग हुनुपर्ने छ । त्यस्तो प्रमाण भएका व्यक्तिलाई मात्र हवाई कम्पनीले टिकट इस्यु गर्नुपर्ने छ ।

यसैगरी, यात्रुहरू आफ्नै खर्चमा कम्तीमा ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । उक्त ७ दिनको अवधि समाप्त भएमा यात्रुले आफ्नो निजी खर्चमा पुनः पिसिआर परीक्षण गरी नेगेटिभ आएमा थप ७ दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी होम क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्नुपर्ने छ ।