■ अर्जुनराज पन्त

अनेक वाद ती भए ठग्ने मन्त्र
लोकतन्त्र भन्दै ल्याए नातातन्त्र !
सासुलाइ राजदुत सम्धीलाई सिइओ
मिल्ने पद सबै नातैलाइ दियो !
एकपल्ट हो र सातपल्ट सम्म
लुटेर खाँदा नि हुँदैनन् टम्म !
जताततै छ नातैको जालो
मेयर बनाए छोरी र सालो !
भर्न मिल्ने पद भए कहीँ खाली
भान्जाभान्जी अनि साला र साली !
घरभेटी पनि नातैमा परे
ठेक्का र पट्टा उनैलाई अरे
खोजिन्न शिक्षा र अनुभवको हद
बुहारी परे दियो मन्त्री पद !
लिनलाई पानी गइन् बुहारी नानी
मुहानै भत्काइन् के ल्याउँथिन् पानी !
पानी नआए नि छैनन् ट्याङ्की खाली
भरिभराउ छन् धन पैसो हाली
ईश्वरका नामको नखाएसी कसम
तैँ सम्धी मैँ सम्धी लुटेर बसम् !
हुँदैन छानविन भए सबै ब्यर्थ
दाइजो हो भन्दै लगाउँछन् अर्थ !
सम्पती विवरण ब्यार्थै भो भर्न
बाध्य बनाए अब यसो गर्न
मन्त्रीका लागि थप व्यबस्था गराउ
सम्धी विवरण नछुटाइ भराउ
देखेनन् कहिल्यै जनताका आँशु
लोकसेवा भन्दै पोसे दिदीसासु
हुँदैन विरोध बाँडिचुँडि खाँदा
आफन्त बाँडेर कुर्चिमा लाँदा !
मतलव हुँदैन पार्टी र सार्टी
नाता परेसी जोडिन्छ घाँटी !
नातामा पद बाँड्दा जोखेर
अर्काकी छोरी नि हिँडे बोकेर !
जहानियाँ शासन त थियौ नै पहिले
गरेर क्रान्ती ल्यायौ के अहिले ?
ल्याउनु रै’छ आखिर यस्तो पो दिन
हजाारौँको बलीदान गरायौ किन ?
प्रतिक्रिया