दक्षिणी सिमाक्षेत्रमा सुरक्षा निकायको थप निगरानी

दक्षिणी सिमाक्षेत्रमा सुरक्षा निकायको थप निगरानी


आरपी उपाध्याय, नवलपरासी

कोभिड-१९ समुदायमा प्रवेश गर्न सक्ने संकेत देखा पर्न थालेपछि नवलपरासीको दक्षिणी सिमानाकामा सुरक्षा निकायले थप कडाइका साथ निगरानी बढाएको छ ।

पश्चिमनवलपरासीको २८ किमि लामो दक्षिणी सिमानाकामा ३५० जनशक्ति परिचालन भएको सशस्त्र प्रहरी बल २६ नं. गण हेक्वाले जानकारी दिएको छ ।

खुला सिमाना भएको कारण सिमाक्षेत्रमा बसोबास गर्नेहरुले खेतबारीको बाटो प्रयोग गरी आवतजावत बढाउन थालेपछि सिमाक्षेत्रमा स्थापित बिओपी र अस्थायी पोष्टले कडा निगरानी बढाएको पनि बुझिएको छ । लकडाउनको समयमा केही पेशेवर वर्गबाट अवैध क्रियाकलाप र तस्करी कार्य मौलाएको भन्ने स्थानीय स्तरमा चासो बढ्न थालेपछि जिल्लाको पूर्व सुस्तादेखि पश्चिममा रगरगन्जसम्म सिमानाकामा करिव ५०० मिटर दूरीमा सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको बताइएको छ ।

सिमानामा सशस्त्र प्रहरी बल नेपालले त्रिपालले घेरेर अस्थायी पोष्ट बनाइ गरिएको जनशक्ति परिचालनले अवैध क्रियाकलापमा कमी आएको दाबी पनि २६ नं. गणले गरेको छ । प्रतापपुर गाउँपालिकाको कठहवा, भैरमपुर, सुस्ताको बलीनगर, पाल्हिनन्दनको भक्सिपुर, महेशपुरलगायतका बजारमा स्थानीयले अझै पनि लकडाउनको पूर्ण पालना नगरेको जानकारी प्राप्त भएको छ ।

भारत युपीको माहाराजगन्ज र गोन्डा जिल्लामा कोभिड १९ को उच्च जोखिम बढ्दै गएको अवस्थामा त्यसको असर नेपालमा पर्न नदिन सुरक्षा निकाय, राजनैतिक दल र स्थानीय निकायको सामुहिक प्रयासको खाँचो बढेको बताइन्छ । सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण नवलपरासीअन्तर्गत हालको समयमा जिल्ला कमान्ड पोष्ट १, बोर्डर आउटपोष्ट ४, सुरक्षा बेस सेमरी १ र अस्थायी पोष्ट ३ रहेको पनि जानकारी प्राप्त भएको छ ।

खुला सिमाना र भौगोलिक विकटताले भरिएको जिल्लाका दक्षिणी सिमानाका क्षेत्रअन्तर्गत विगतका दिनमा सशस्त्र प्रहरी बलले पटकपटक गरी लागुऔषधसहित अवैध सामाग्री बरामत गरेको थियो । पछिल्लो समययता सिमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलको जनशक्तिले सिमा क्षेत्रबाट भारततर्फ लैजाने गरेको सानो परिमाणको अवैध सामाग्री बरामद गर्न सफल भए पनि ठुलो परिमाणमा अवैध कारोबार गर्नेहरुसम्म सुरक्षा निकायको कानुनी हात कहिले पुग्ने हो, योचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।