सुरक्षाकर्मीले चलाएको गोली लागेर युवकको मृत्यु : सुनसरीका पाँच स्थानमा कर्फ्यु आदेश जारी

सुरक्षाकर्मीले चलाएको गोली लागेर युवकको मृत्यु : सुनसरीका पाँच स्थानमा कर्फ्यु आदेश जारी


सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार (११ साउन) बिहानदेखि पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार झडप नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

झडपमा परी सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना सर्वसाधारण, ८ जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी छन् । नेपाल प्रहरीतर्फ इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित कोशी अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसरी सुरु भयो विवाद

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे साउने सोमबारको बोलबम यात्राका लागि युवाहरूको एउटा समूह डिजे बजाउँदै सप्तकोसीतर्फ जाने तयारीमा थियो । डिजेको आवाजलाई लिएर अर्को पक्षले विरोध गरेपछि विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हिंसात्मक झडपमा परिणत भयो । दुवै पक्षबाट लाठी, ढुंगा, चिर्पट र भाला प्रहार हुन थालेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो । उत्तेजित भिडले स्थानीय घर, मेडिकल पसल र सवारीसाधनमा समेत तोडफोड र आगजनीको प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको थियो । तर, दुवै पक्षबाट सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि राति १०ः४५ बजे सशस्त्र प्रहरीले गोली चलाएको डीएसपी खड्काले जानकारी दिए ।

सुनसरीको पाँच स्थानमा कर्फ्यु हिंसात्मक झडपपछि उत्पन्न तनावलाई थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना नभएसम्मका लागि पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जारी गरेको आदेशअनुसार हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज र देवानगन्ज बजार क्षेत्रका साथै देवानगन्ज गाउँपालिका–३ को कप्तानगन्ज बजार क्षेत्रमा कर्फ्यु लगाइएको हो । कर्फ्यु लगाइएका क्षेत्रमा हिँडडुल गर्न, भेला हुन, सभा–जुलुस वा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । अहिले घटनास्थलमा जिल्लाका विभिन्न युनिट, कोशी प्रदेश प्रहरी गण र दंगा नियन्त्रण गण दुहबीबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले थप क्षति हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गर्ने निर्णय गरेको छ । हाल अवस्था नियन्त्रणमा रहेको र दुवै पक्षलाई संयमित रहन आग्रह गर्दै छलफलको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।