सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग गर्ने इम्बोस्ड नम्बरमा देवनागरी लिपिमा लेखिने नेपाली भाषाको प्रयोग नगरेर अङ्ग्रेजी भाषाको प्रयोग गर्ने भनेपछि नेपाली केन्द्रीय विभाग त्रि.वि.अन्तर्गत दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीहरूले विज्ञप्ति निकालेर कडा चेतावनी दिएका छन् ।
भाषा, संस्कृति, भेषभूषा पहिचानका आधार भएको र आफ्नै देशको भाषाको दुरुत्साहन हुने गरी भएको निर्णयले भाषिक गरिमामा आँच अउने भन्दै विद्यार्थीहरुले सो निर्णयप्रति आपत्ति जनाएका हुन् ।
दर्शनाचार्यमा अध्ययनरत विद्यार्थीहरूको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले भइरहेका आक्रमणहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेदका साथ घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।’
भाषिक गरिमाका विषयमा उठेको यो सवालका बारेमा यसअघि नै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले समेत सुधारको मागसहित ध्यानाकर्षण गराइसकेको छ । यसका साथै विभिन्न देशले राष्ट्रभाषा तथा मातृभाषामा इम्बोस्ट राख्ने गरेको उदाहरणसहित अदालतको निर्णय सुधार गर्न उक्त विज्ञप्तिमा भनिएको छ ।
त्रिविका दर्शनाचार्य (एम. फिल.) तहका तीन दर्जन छात्रछात्राद्वारा हस्ताक्षरित विज्ञप्तिको पूरा अंश यस्तो छ-
भाषा कुनै पनि जाति, समुदाय र सिङ्गो राष्ट्रको पहिचान हो । नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा र साझा सम्पर्क भाषा तथा भारत, भुटान र म्यान्माका केही भागमा मातृभाषाका रूपमा बोलिने भाषा हो । नेपाली भाषालाई विश्वभर झन्डै चार करोड मानिसहरूले मातृभाषाका रूपमा प्रयोग गर्छन् । भारत सरकारले समेत नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा सूचीकृत गरी भारतको एउटा मुख्य भाषाको मान्यता दिएको छ । यसरी नेपाली भाषा नेपालभित्र सरकारी कामकाजको भाषा तथा साझा सम्पर्क भाषाका रूपमा र नेपाल बाहिर जातीय एकताको सूत्र बनेको कुरा सर्वविदितै छ ।
पछिल्लो समयमा नेपाली भाषामाथि सरकारी निकायबाटै सुनियोजित ढङ्गले भइरहेका आक्रमणहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसै सिलसिलामा अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर प्लेटको सर्वत्र विरोध हुँदाहुँदै पनि हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको फैसलाप्रति हामी खेद प्रकट गर्दै घोर निन्दा एवम् भर्त्सना गर्दछौं । नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अङ्ग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरीपैठारी तथा दुर्घटना कम हुनेजस्ता निरर्थक तर्कहरू पेस गर्दै गरिएको यो फैसला हास्यास्पद मात्र नभई राष्ट्रघातीसमेत देखिन्छ । नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्त्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाटै चालिएको यस्तो गैरजिम्मेवारीपूर्ण कदम निन्दनीय छ । सर्वोच्चको यस्तो असंवैधानिक फैसला हामीलाई कदापि स्वीकार्य छैन ।
सर्वोच्च अदालतजस्तो गरिमामय निकायले नेपालको राष्ट्रभाषा, सरकारी कामकाजको भाषा र माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गर्नु घोर निन्दनीय तथा आपत्तिजनक छ र यो कदापि मान्य हुँदैन । यो फैसला असंवैधानिक र राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन माग गर्दछौं । हरेक राष्ट्रले आफ्नो राष्ट्रभाषालाई पहिलो प्राथमिकतामा र त्यसपछि मात्रै अन्तर्राष्ट्रिय भाषाका हिसाबले अंग्रेजी भाषालाई स्थान दिने गरेको अन्तर्राष्ट्रिय अभ्यासअनुरूप हाम्रो सन्दर्भमा पनि इम्बोस्ड नम्बर प्लेटमा सुरुमा देवनागरी लिपि र त्यसपछि मात्र रोमन लिपिको प्रयोग गर्नु उपयुक्त हुन्छ । सम्बन्धित निकायले समयमै यस फैसलालाई सच्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
अन्त्यमा, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा सञ्चालित अभियानप्रति ऐक्यबद्धता जनाउँदै सवारीसाधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याई इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य रूपमा नेपाली भाषाको प्रयोग गर्न जोडदार माग गर्दछौं । अन्यथा हामी कडा कदम चाल्न बाध्य हुनेछौं ।
प्रतिक्रिया