■ विजय ज्ञवाली
अलिक अस्ति मैले फेसबुकमा अफ्रिकामा ‘गणपति बाप्पा मोर्या’ भन्दै अफ्रिकन नागरिकले पनि गणेश उत्सव मनाइरहेको भिडियो शेयर गरेको थिएँ । उक्त भिडियोउपर चासो देखाऊँदै त्रिभुवन विश्वविद्यालयका प्रोफेसर आदरणीय प्रोफेसर आदरणीय लक्ष्मण गौतमले अफ्रिकामा हिन्दु धर्म फैलावटको बारेमा चासो राख्नुभएको थियो । उहाँको चासोसँगै मैले पनि अफ्रीकामा हिन्दू धर्मको फैलावटका बारेमा खोजिनिती गर्दै थिएँ, खोजीकै क्रममा पश्चिमी अफ्रिकी मुलुक घानामा यिनै स्वामी घनानन्दको बारेमा जानकारी मिल्यो ।
खासमा ‘गणपति बाप्पा मोर्या’ भन्दै गणेश उत्सव भारतको महाराष्ट्रमा मराठी समुदायमा मनाइने महत्त्वपूर्ण पर्व हो । यसका अलावा भारतभर अन्य समुदायले पनि मनाउने गर्छन् । हामीहरुले गणेश चतुर्थीको दिन भगवान गणेशको पुजाअर्चना गरि मनाउँछौँ भने भारततिर गणेश चतुर्थीको दिनलाई महत्त्वपूर्ण उत्सवकै रुपमा मनाइने गरिन्छ ।
कृष्ण जन्माष्टमी र गणेश चतुर्थीको दिनलाई अर्को पूर्वी अफ्रिकी मुलुक तान्जानियामा पनि धुमधामसँग मनाइरहेको लाइभ भिडियो मैले सामाजिक संजालबाटै शेयर गरेको थिएँ ।
हामीले गणेश चतुर्थी मनाऊँदै गर्दा विशेष गरेर भारतका मराठी समुदायमा गणपति बाप्पा मोर्या पर्व धुमधाम चल्दै थियो । भारतमा मात्र होइन, विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरुले पनि सोही दिन धुमधामसँग गणेशोत्सव मनाइरहेका थिए । नेपालदेखि ६,५३४ किलोमिटर टाढा रहेको पूर्वी अफ्रीकी मुलुक तान्जानियामा मात्र नभइ ९,११० किलोमिटर टाढा पश्चिमी अफ्रिकी मुलुक घानामा पनि गणेश चतुर्थीको दिन गणेश उत्सव धुमधामसँग मनाइरहेका थिए । स्थानीय काला जातिका नागरिकको पनि सहभागिता रहेको उक्त गणेश उत्सवको भिडियो पनि सोही घाना देशकै रहेको थियो। अफ्रिकामा हिन्दू धर्मको प्रचारप्रसारमा स्वामी घनानन्दको निकै ठूलो योगदान रहेको छ ।
घनानन्द शुरुमा हिन्दू थिएनन् । उनी इशाई परिवारमा जन्मिएका थिए । कालान्तरमा उनी हिन्दू भएका थिए । हिन्दू भएपश्चात नै विभिन्न देवी देवताहरुको विधिसम्मत तरिकाले पूजाअर्चना गर्न शुरु गरेका थिए उनले । पछिल्लो ५० वर्षदेखि घानामा निरन्तर गणपति उत्सव तथा बिसर्जनको परम्परा मनाईंदै आइएको छ, जसको श्रेय यिनैलाई जान्छ।
१२ सेप्टेम्बर १९३७ मा घानाको बेराकु नामक गाऊँमा जन्मिएका घनानन्द खासमा इशाई परिवारका ब्याक्ति थिए । जन्म यिनको हिन्दू धर्मावलम्बी परिवारमा नभएता पनि पछि हिन्दू धर्मबाट प्रेरित भएर अफ्रिकामा पहिलोपटक हिन्दू धर्मको प्रचारप्रसार गर्ने ब्याक्ति यिनै स्वामी घनानन्द हुन् । घानामा मात्र नभएर समग्र अफ्रिकामा यिनी हिन्दू धर्मका स्वामी भनेर प्रख्यात छन् ।
स्वामी घनानन्दले अफ्रिकामा कसरी हिन्दू धर्मको प्रचारप्रसार गर्न सके भनेर जान्नुपूर्व हामी थोरै भारत–पाकिस्तान विभाजनको समयसम्म पुग्नुपर्ने हुन्छ । स्वामी घनानन्द सानै उमेरदेखि नै ब्रह्माण्डमा भएका तमाम रहष्यहरुको बारेमा रुचि राख्ने गर्दथे । ब्रह्माण्डबारे उनको आफ्नो मष्तिष्कमा घुमिरहेका सवालहरुको जवाफ उनले धार्मिक ग्रन्थहरुबाट खोज्न शुरु गरेका थिए । यसैक्रममा उनी सिंधी समुदायको सम्पर्कमा आए । यी तिनै सिंधि समुदाय हुन् जो १९४७ को भारत पाकिस्तान विभाजनपछि भागेर घाना आएर बसोबास गरेका समुदाय थिए ।
भारत–पाकिस्तान विभाजनताका सिंधी समुदायलाई भारत या पाकिस्तान जता इच्छा लाग्छ त्यतै बसोबास गर्न विकल्प पनि दिइएको थियो । तर हिन्दू धर्मसँग नजिक केही सिंधी समुदाय भारत–पाकिस्तानबीचको उग्र तनाव देखेर न भारतमा बसे, न पाकिस्तानमा नै । उनीहरु सिधै पश्चिमी अफ्रिकी मुलुक घाना (जुन भारतभन्दा ५ महिना पहिला ६ मार्च १९४६ मा अंग्रेज उपनिवेशबाट मुक्त भएको थियो)मा पुगेर बसोबास बसाएका थिए । अंग्रेज उपनिवेशबाट भर्खर मुक्त भएका घानाबासीले भारत–पाकिस्तान विभाजनको चपेटामा परी आफ्नो देशमा शरण माग्न आएका सिंधी समुदायलाई हृदयदेखि नै स्वागत गरे । सिंधी समुदायको घानामा बसोबाससँगै अफ्रिका हिन्दू धर्मससँग परिचित हुँदै गएको हो ।
सिंधी समुदायको सम्पर्कमा आऊँदाको बखत घनानन्द १० बर्षका थिए। कलिलै उमेरमा सिंधी समुदायले मनाऊने हिन्दू धर्म संस्कृतिलाई नजिकैबाट देखिरहेका उनी पनि बिस्तारै हिन्दू धर्मप्रति आकर्षित भएको पाइन्छ । हिन्दू धर्मबाट प्रभावित भएसँगै उनले पनि सिंधी समुदायले जसरी नै देवीदेवताको पुजाअर्चना गर्न शुरु गरे । हिन्दूधर्ममा उनको झुकाव र पुजाअर्चनासँगै अफ्रिकामा पनि देवी–देवताको पुजाअर्चना गर्ने परम्परा फैलिएको बताइन्छ । आज पनि घानामा हिन्दू धर्मउत्सव, देवी–देवता, गणेश, शिव–पार्वती तथा श्रीकृष्णको पुजाअर्चना धुमधामका साथ गरिने तथा मनाइने गरिन्छ ।
घानामा पहिलोपटक हिन्दू मठको स्थापना
२५ वर्षको हुँदा स्वामी घनानन्द घानाको राजधानी आकारामा आई ‘डिवाइन मिस्टिक पाथ सोसाइटी’ नामक संस्था खोलेर ईश्वर भक्तिमा दिनचर्या बिताऊन लागे । हिन्दू धर्मभित्रको रहष्यका बारेमा गहिराइसम्म पुग्ने तीव्र आकांक्षा पालेका घनानन्दले हिन्दू धर्मको रहष्यको खोजीमा लागे। आफ्नो मनभित्र उत्पन्न प्रश्नहरुको उत्तर खोज्नेतर्फ लागे । मनभित्र हिन्दू धर्मको रहष्यका बारेमा हजार प्रश्न बोकेर हिँडेका स्वामी घनानन्द यिनै प्रश्नहरुको उत्तर पत्ता लगान भन्दै सन् १९७५ मा भारत आएका थिए । भारतको ऋषिकेशस्थित डिवाइन लाइफ सोसाइटिसँगको सहकार्यमा त्यहाँ उनले हिन्दू जीवन पद्धति (सनातन धर्म)को बारेमा पठनपाठन शुरु गरेका हुन् । यसैक्रममा पहिलोपटक उनको भेट स्वामी कृष्णानन्दसँग भएको थियो। स्वामी कृष्णानन्दको ब्याक्तित्त्वसँग घनानन्द साह्रै प्रभावित भएका थिए । कृष्णानन्दको ब्याक्तित्वबाट प्रभावित घनानन्द अन्ततः उनैका शिष्य बनेर त्यहाँ रहेका थिए। कृष्णानन्दबाट दिक्षित भैसकेपछि उनी स्वामी घनानन्द सरस्वतीका नामले चिनिन थालेका थिए ।
स्वामी घनानन्द सरस्वतीका नामले विभूषित भएपश्चात् उनी १९७५ मा पुनश्चः घाना फर्किए र घानामा उनले पाँच वटा मन्दिरको स्थापना गरे। आफूले स्थापना गरेका मठमन्दिरमा स्थानिय समुदायलाई पनि पुजापाठ तथा हिन्दू धर्मप्रति आस्थाको लागि अपील गरे।
यसरी पहिलोपटक अफ्रिकी समुदायमा हिन्दू धर्मको प्रचारप्रसार तथा गैरहिन्दू नागरिक पहिलोपटक स्वामी घनानन्द सरस्वतीको नामले विभूषित हुनेमा उनी नै पहिलो ब्याक्ति मानिन्छन् । अफ्रिकी समुदायमा हिन्दू धर्मको महान प्रचारक एवं धार्मिक गुरुका नामले प्रख्यात स्वामी घनानन्द सरस्वतीले भने १८ जनवरी २०१६ मा ७८ वर्षको संसार नै छोडेर गएका छन् । उनीद्वारा प्रचारप्रसार गरिएको हिन्दू धर्मसम्बन्धी मान्यता आज पनि घानामा यथावत रहिआएको छ।
आजपनि घानामा १० हजार भन्दा धेरै नागरिक हिन्दू धर्मावलम्बी रहिआएका छन् । घानाको राजधानी आंकरामा भगवान शिवको ठूलो मन्दिर रहेको छ। उक्त मन्दिरको देन यिनै घनानन्दमा जान्छ । उक्त मन्दिरमा आज पनि हिन्दू धर्म परम्परा एवं उत्सवहरु मनाइने गरिन्छ ।
प्रतिक्रिया