नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेलायतस्थित बेन्ट्लीनजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि बेलायतको प्रहरीले उनको खोजी गरिरहेको थियो ।
ह्याम्पसायर प्रहरीले पूर्वराजदूत रिचर्ड नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उनको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिक रूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् ।
यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजी कार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर नेपालमा खिचिएको थियो ।
रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । बेलायतको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको राससले जनाएको छ । दिवंगत रिचर्डका श्रीमती र तीन सन्तान छन् ।
प्रतिक्रिया