चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो ।
माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रजिअ भट्टराईले सो क्षेत्रको सोमबार स्थलगत निरीक्षणसमेत गरेका छन् ।
अहिले चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट छन् । बाँदरझुला, छरछरे र बाल्मिकी आश्रममा सशस्त्रका अस्थायी पोष्ट रहेको भट्टराईले जानकारी दिए । एक महिनाभित्र नयाँ पोष्ट स्थापना हुने गरी काम शुरु गरिएको उनले बताएका राससले जनाएको छ । ज्ञातव्य छ, भारतसँग चितवन जिल्लाको ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको अधिकांश निकुञ्ज क्षेत्र पर्छ ।
एउटा पोष्टमा ३५ जनाको स्वीकृत दरबन्दी रहेको जानकारी दिँदै सशस्त्र प्रहरी बल १७ नं गणका प्रहरी उपरीक्षक दीपककुमार थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना हुने बताए । अहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा छन्, पहिलो चरणमा तीनवटा पोष्ट थपिएपछि सुरक्षा व्यवस्था मजबुत बनाउन थप मद्दत पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया