आरपी उपाध्याय, न्वलपरासी
पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाटस्थित बाटो काट्ने क्रममा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको से. १ च २२३३ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भइ ठक्कर दिँदा घाइते भएका बालकको उपचार गर्न बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा कलैया घर भई बर्दघाट बस्दै आएका १० वर्षीय सबिन मियाँ रहेका बुझिएको छ । स्कारपियो जिप अनियन्त्रित हुँदा विपरीत दिशाबाट जाँदै गरेको लु २९ प १८९३ नम्बरको स्कुटीलाई समेत ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटी चालक र स्कारपियोमा सवार सबै यात्रु सकुशल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख हुमनाथ रेग्मीले जानकारी दिए ।
ठक्कर दिने सवारी र त्यसका चालक इलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख रेग्मीले बताए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिएको छ ।
प्रतिक्रिया