■ सनत आचार्य
काठमाडौं महानगरपालिका वडा नं. १० बाट पैदा भएको फोहरमैला व्यवस्थापनसम्बन्धी ठोस र दीर्घकालीन योजना नहँुदा धोबीखोला करिडोरको मैतीदेवी सेतोपुलको दक्षिणतर्फको भाग अहिले डम्पिङसाइड बनेको छ ।
मानिस हिँड्ने सडकपेटीलाई समेत अतिक्रमण गरी खोलाको किनारलाई फोहरमैला थुपार्ने स्थान बनाउँदा अहिले उक्त स्थानबाट हिँड्ने अधिकांश मानिसले वडाप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन् ।
धोबीखोला सडकको पूर्वतर्फ पैदलयात्रुका लागि बनाइएको सडकपेटीसमेत फोहरमैला संकलकहरूले प्रयोग गर्दा उक्त सडक अत्यन्त कुरुप बन्न पुगेको छ भने किनारमा थुपारिएको फोहरको दुर्गन्धले बाटो हिँड्ने बटुवाहरूले सास्ती भोगिरहेका छन् ।
धाबीखोला करिडोरअन्तर्गत १० नम्बर वडामा पर्ने पूर्वीसडक यसै पनि सानो र साँघुरो छ । त्यसमा पनि मैतीदेवीको सेतोपुलदेखि दक्षिण पूर्वसडकको करिव ३० मिटर सडक अहिले फोहरमैला संकलकहरूको कब्जामा छ । सो स्थानलाई फोहर संकलन गर्ने स्थान बनाउँदा बटुवालगायत यसको पश्चिमतर्फ रहेको २९ नम्बर वडावासीहरूलाई समेत यसको दुर्गन्धले पिरोलेको छ । फोहरमैलाबाट निस्किएको तरल पदार्थले पिचबाटो मात्र हैन, उक्त स्थानमा रहेको संरचनालाई समेत असर पुऱ्याएको छ । सडकपेटीलाई असर गर्ने गरी बोरा लगाएर फोहर फाल्ने ठाउँ बनाइएको छ । यसरी उक्त स्थानलाई गलत तरिकाले प्रयोग गर्दा समेत स्थानीय जनप्रतिनीधिहरूले यस्तो कार्य रोक्न स्थलगत रूपमा कुनै कदम चालेको र आदेश दिएको पाइँदैन ।

कामनपा–१० का अध्यक्ष रामकुमार केसीले ‘फोहर संकलन गर्ने तीनवटा कम्पनीले फोहर संकलन गर्ने ट्रक गल्ली–गल्लीमा जान नसक्ने भएकोले सानो गाडीबाट ल्याएको फोहर, ठुलो गाडीमा हाल्नका लागि मात्र सो स्थान दिइएकोमा हाल ती कम्पनीले फोहरमैला राख्ने स्थान बनाएको’ भन्दै आश्चर्य प्रकट गर्नुभयो । उहाँले आफूले यसको दीर्घकालीन व्यवस्थाका लागि महानगर प्रमुखसँग कुरा गरेको र उक्त स्थानमा फोहर नराख्न विभिन्न निकायमा पत्राचार गरेकोसमेत जानकारी दिनुभयो ।
उहाँले विगतमा १० नम्बर वडाका चार स्थानमा फोहर संकलन गर्ने ठाउँ रहेकोमा बढ्दो आवादीसँगै अन्य स्थानमा फोहर फाल्न असम्भव भएकोले बस्ती कम भएको सोही स्थानमा फोहर सार्नका लागि मात्र अनुमति दिएको जानकारी दिँदै, अहिले उक्त स्थानमा १० नम्बर वडाको मात्र नआई २९ वडाको फोहर समेत आउने गरेको बताउनुभयो ।
तर देवीनगरका एक वासिन्दाले यसरी ६ महिना बितिसक्दा पनि वडाले फोहर मैला व्यवस्थापन गर्न नसक्नु वडाअध्यक्षको कमजोरी भएको जिकिर गरे ।
पैदलयात्री पवन घिमिरेले धोबीखोला करिडोरले काठमाडौंको सभ्यतासमेत बोकेको हुँदा यसरी जहाँ पायो त्यही फोहर लामो समयसम्म राख्नाले यसको सभ्यता र वातावरणलाई समेत असर नकारात्मक असर परेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया