अष्ट्रियामा कोराना भाइरसविरुद्धको पहिलो खोप २०२१ जनवरीसम्ममा

अष्ट्रियामा कोराना भाइरसविरुद्धको पहिलो खोप २०२१ जनवरीसम्ममा


■ सागर सुवेदी, भियना (अष्ट्रिया)

मध्य युरोपमा अवस्थित मुलुक अष्ट्रियाले आउँदो वर्ष २०२१ को पहिलो महिनाभित्रै कोरोनाविरुद्धको खोप पहिलो व्यक्तिमा लगाइन सकिने बताएको छ ।

राजधानी भियनामा आयोजित प्रेस कन्फरेन्सको दौरान अष्ट्रियाका स्वास्थ्यमन्त्री रुडोल्फ आन्सोबेरले उक्त जानकारी दिएका हुन् । उनका अनुसार नववर्षको पहिलो महिनामै कोरोनाविरुद्धको खोप प्रयोगमा आइसक्ने छ । सन् २०२० को डिसेम्बरमै ६ लाख भाइल खोप अष्ट्रियालाई उपलब्ध भइसक्ने र यसबाट ३ लाख नागरिकमा पहिलो चरणमा खोप लगाइने जानकारी दिँदै मन्त्री आन्सोबेरले खोपको पहिलो प्राथमिकता स्वास्थ्यकर्मीको लागि रहने तथा यसको कारण स्वास्थ्यकर्मी एवम् स्वास्थ्य संस्थाहरुमाथि परिरहेको वर्तमान बोझलाई अन्त्य गर्न मद्दत पुग्ने तर्क गरे ।

आन्सोबेरले आगाडि भने– ‘अबका केही महिना हाम्रा लागि अति कष्टपूर्ण हुन सक्छ, यसर्थ हामी सबै मिलेर नै यो पद्धतिलाई अझ बलियो बनाइ अघि बढ्नुपर्ने हुन्छ, हामीले बुझेका छौँ कि कोरोना भाइरस महामारीको अवस्था सुरुवाती चरणबाट चौथो चरण प्रवेश गरेको छ, त्यसकारण हामीले अझ बढी सजगता अपनाउनु पर्नेछ । साथै, आफ्नो स्वास्थ्यसँग खेलबाड नगरिकन अगाडि बढ्न म सम्पूर्ण नागरिकहरुमा आग्रह गर्दछु ।’

अष्ट्रियामा संक्रमणको पारो घटेसँगै क्रमागत रुपमा लकडाउन हटाइएको, तत्पश्चात जनजीवन साधारण हुँदैगर्दा पूर्व युगोस्लोभियाबाट अष्ट्रिया प्रवेशसँगै संक्रमणको दर बढ्दै गएको स्वास्थ्यमन्त्रालयबाट प्रकाशित सूचनाहरुमा जनाइएको छ।

अष्ट्रियाले वर्तमान अवस्थामा हरेक दिनजसो २९० को दरमा नया संक्रमित बढिरहेको तर सार्वजनिक जीवनमा कुनै परिवर्तन नगरिएको, साथै अस्पताल, सार्वजनिक यातायातबाहेक सीमित ठाउँमा मात्र अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम लगाएको छ ।

पछिल्लो संक्रमणको अवस्थालाइ हेर्दा २७,५०५ पोजेटिभ टेस्ट मध्ये ११९ जना अस्पतालको साधारण उपचारतर्फ, ३० जना बिरामीलाई सघनकक्षमा राखेर उपचार गराइरहेको छ भने ३१९४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । बाँकी संक्रमितहरु पूर्ण रुपले संक्रमणमुक्त भएको जनाइएको छ।

यो समाचार तयार गर्दाको समयसम्म अष्ट्रियामा ११ लाख ९३ हजार ३२७ जनामा टेस्ट गरिएको छ भने यो संख्यामा अस्पतालमा कार्यरत स्वास्थकर्मीहरु भने जोडिएका छैनन् ।