रातो मत्स्येन्द्रनाथ जात्रामा झडपपछि ललितपुरमा कर्फ्यु आदेश

रातो मत्स्येन्द्रनाथ जात्रामा झडपपछि ललितपुरमा कर्फ्यु आदेश


जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार (१९ भदौ) बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी गराएका छन् ।

बिहीबार पुल्चोकमा परम्परागत जात्रा अगाडि बढाउन खोज्ने एवम् जात्रामा सहभागी स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए ।

सो विषयमा आज थप तनाव बढ्न सक्ने सम्भावना आँकलन गरेर कर्फ्युआदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयसम्बद्ध एक अधिकारीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनस्वास्थ्य लगायतमा असर पुग्न सक्ने गतिविधि भएमा या देखिएमा प्रजिअले निषेधाज्ञा, कर्फ्यु वा दंगाग्रस्त क्षेत्र घोषणा गर्न पाउने अधिकार छ ।

ज्ञातव्य छ, कोरोना महामारीको बहानामा परम्परागत धार्मिक जात्रा, पर्व तथा रीतिरिवाज समाप्त पार्ने नियोजित खेल भइरहेको र सरकारी कदमले यस्तो कार्यमा बल पुर्‍याएको आमबुझाइ रहँदै आएको छ ।