विशेष प्रतिनिधि, कपिलवस्तु
कपिलवस्तुका कांग्रेस नेता सोमनाथ पौडेलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । नेपाली कांग्रेस कपिलवस्तु नगर समितिका सचिव कपिलवस्तु नगरपालिका वडा नं. २ निवासी ५३ वर्षीय पौडेलको काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा बिहीबार (१८ भदौ) साँझ मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनलाई ज्वरो, स्वास प्रश्वासमा समस्या र निमोनिया देखिएपछि थप उपचारका लागि काठमाण्डौंस्थित ग्राण्डी अस्पताल लगिएको थियो । मृतक पौडेलको करिव३ साताअघिबाट काठमाडौंमा उपचार भइरहेको बुझिएको छ ।
उपचारको शुरुवाती अवस्थामा उनको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको र श्वास प्रश्वासमा समस्या देखिएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । पछिल्लो समयमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आए पनि फोक्सोमा समस्या देखिएको थियो ।
फोक्सोकै समस्याका कारणबाट उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । स्वर्गीय नेता पौडेलको उपचारमा करिव ३० लाख रुपैयाँ बढी खर्च भएको पारिवारिक सुत्रबाट बुझिएको छ ।
नेता पौडेलको निधनले सिंगो नेपाली कांग्रेस कपिलवस्तुलाई ठुलो क्षति भएको बताउँदै नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले दुःख व्यक्त गरेका छन् । स्वर्गीय पौडेलको निधनप्रति पूर्वमन्त्री दीपकुमार उपाध्याय, नेपाली कांग्रेसका पूर्व जिल्लासभापतिहरु राजेश आचार्य र सुधाकर पाण्डेय, नगरसभापति प्रशान्त कार्की, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहलगायतले दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
दिवंगत नेता पौडेल नेपाली कांग्रेसको संगठन विस्तार, प्रचार प्रसार र पार्टी सृढृीकरण अभियानमा सक्रिय रहेका थिए । नेता पौडेलकी एक पत्नी र एक छोरा छन् ।
प्रतिक्रिया