कोभिड–१९ बाट सङ्क्रमित भई चितवनमा प्लाज्मा थेरापीमार्फत् उपचार भइरहेको अवस्थामा एक महिलाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज (१९ भदौ) अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका हुन् ।
दिवंगत महिलाको बिहीबार राति मात्रै डा. शीतल अधिकारी र डा. लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । कोरोना संक्रमित भई ठिक भएका दुई जनाले उनको प्लाज्मा थेरापीबाट उपचारका लागि बी पोजेटिभ रगत दान गरेका थिए ।
श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।
प्रतिक्रिया