■ तिलक पौडेल
मानिस सामाजिक प्राणी हो, यो मानेमा सामाजिकता मानवीय अनिवार्यता नै हो, र पनि ममा अलिक बढी भएको महसुस गर्दछु । व्यक्तिगतभन्दा सामाजिक काममा रमाउने बानी बस्यो । कहिलेकाहीं थोरै धन भएकाले दानी बन्ने रहर गर्नु अनि आफ्नै घरलाई सामाजिकीकरण गर्न नसक्नेले समाज सुधारका प्रयास गर्नु निरर्थक प्रयास हो भनेका विद्वत्वाणी सुन्दा/पढ्दा भने मन झसङ्ग हुन्छ ।
घरायसी बैठक बस्ने, खर्चको फेहरिस्त राख्ने, घरायसी छलफलबाट बजेट (दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, चौमासिक, षठमासिक, वार्षिक, पञ्चवार्षिक हिसाबले) तयार पारी सीमाबद्ध हुने, कार्ययोजना तर्जुमा पनि सोही बमोजिम तयार पारी कार्यान्वयन गर्ने, कतै कुनै कार्यक्रममा सहभागी हुँदा जानकारीमा आएका उत्कृष्ठत व्यहोराहरू शेयरिङ गर्ने, केटाकेटीलाई Laughing Hour, Jokes Hour, Sharing Hour जस्ता समय छुट्याउने, बाह्य व्यवस्थापनदेखि आन्तरिक व्यवस्थापनमा सक्रिय गराउने, खाजा खर्च कटाएरै भएपनि मासिक रूपमा थोरै भएपनि बचत गर्ने बानी बसाल्ने, सानो रूपमा भएपनि पुस्तकालय स्थापना गर्ने, समय-समयमा आदर्श व्यवहारहरू बारेको जानकारी सुनाउने, घरायसी सरसफाइमा क्षुद्रतम कार्य (शौचालयको सरसफाइ)मा स्वयं खट्ने, आवधिक हिसाबले अधिकांश कामहरूलाई आबद्ध गर्ने, घरका सदस्यहरूबीच मितेरी खेल खेलाउने, विद्वान्हरूका महानवाणीहरूलाई लेखेर बैठक, पठन, भान्सा लगायतका कक्षमा राख्ने, दैनिकी लेख्ने, भान्सामा समेत सम्झिएका बेलामा आवश्यक चिज उल्लेख्न सकियोस् भनी भान्से दैनिकी राख्ने, सामाजिक उत्सवहरूमा स्वयं पनि खट्ने र खट्नुपर्ने व्यहोरा सबैलाई अवगत गराउने, छरछिमेकसँग सुसम्बन्ध कायम गर्ने/गराउने, आफ्ना घर र आफन्तको दायरामा परिभाषित व्यक्तिहरूसँग नियमित सम्पर्कमा रहने, आफूलाई अधिक ठहरेका चिजहरू दैवी प्रकोप पीडितजस्ता व्यक्तिहरूलाई उपहार/पाहुर स्वरूप उपलब्ध गराउने, परिवारजनको जन्मदिनमा पुस्तक उपहार दिने, नियमित पठनाभ्यासार्थ दैनिक पत्रिकाको ग्राहक बन्ने, कोठाचोटा सफाइदेखि करेसाबारिको अद्यावधिकीकरणमा संलग्न रहने, कपडा सफाइमा समेत आफ्ना लुगा आफैंले सफा गर्ने स्थिति बसाल्ने, भान्सामा समेत संलग्न रही खाना बनाउने, भाँडा/बर्तन माझ्नेसम्मका कार्यहरूको वर-व्यवस्था र कार्यान्वयन गर्ने जस्ता व्यहोराहरूलाई मैले घर परिवारलाई व्यवस्थित बनाउनका लागि गरेका प्रयासका रूपमा लिएको छु र यस्तै व्यहोरा समाजमा पनि लागू गर्न पाए निःसन्देह सुधार हुने ठानी यहाँ उल्लेख गर्ने चेष्टा गरेको छु । आफूलाई सामाजिक काममा रुचि भएको व्यक्तिको रूपमा परिचय गर्दा अद्यावधि आनन्दानुभव गर्छु, रमाइलो अनुभव गर्दछु ।
सरकारी जागीरबाट निवृत्त हुनुपूर्व कतिपय जिल्लाहरूमा योजना अधिकृत त कतिपयमा स्थानीय विकास अधिकारीको जिम्मेवारी र कतिपय नगरपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेथें । द्वन्द्वकालमा ‘युनाइटेड मिसन टू नेपाल’अन्तरगत विद्यालय साझेदारी परियोजनामा सफल समन्वयकर्ताको जिम्मा पूरा गरेको थिएँ । यी जिम्मेवारीबाट आर्जित अनुभव र निजामती प्रवेशपछिका पहिला १० वर्षहरू राष्ट्रिय योजना आयोगको सचिवालय अन्तरगत काम गरेको आधारमा कतिपय जिल्लाका आवधिक योजना तर्जुमामा सहजकर्ताको भूमिका पनि निर्वाह गरेको थिएँ । यसैको परिणाम र गुरु डा. योगी विकाशानन्दबाट रेकी दीक्षाद्वारा दीक्षित भएको हुँदा ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नुछ’ भन्ने मनोक्रान्तिको आदर्श अनुरूप सुरु अनुच्छेदमा उल्लिखित व्यहोराहरू आफूबाट, आफ्नै परिवार सुधारका लागि चालिएका कदमहरू हुन् ।
एक हातले ताली बज्दैन, एकोहोरो रोटी पाक्दैन भन्ने उखानलाई मनन गर्दा निःसन्देह सहधर्मिणीबाट केही अपेक्षाहरू अपेक्षित हुन जाँदा रहेछन् । तर फरक पारिवारिक मान्यता र संस्कारमा हुर्किएका जोडीबीचमा एउटै शोचको विकास विरलै हुँदोरहेछ । तापनि आफ्नो कल्पनालाई साकार पार्नरबनाउन सक्नुलाई यस सन्दर्भमा सफल परिवरका रूपमा लिन सकिने हुन्छ । तसर्थ आज ‘यदि म उनी भएको भए’ शीर्षक राखी कतिपय आदर्श र कतिपय व्यवहारका आधारमा यो आलेख तयार पारेको छु ।
पारिवारिक व्यवस्थितताका लागि घरायसी बैठकहरूको आयोजना गरी सबै सदस्यहरूका चाहना/इच्छाहरू पूर्तिका लागि सबैकै सम्मतिमा उपयुक्त कार्ययोजना तयार पारी जिम्मेवारी बाँडफाँटमा सक्रिय हुने थिएँ । आफ्नो जिम्मेवारी तदारुकताका साथ निर्वाह गरी श्रीमान् र छोराछोरीहरूलाई पनि सहजीकरण गर्ने थिएँ । खानामा बजारिया जङ्कफूडहरूलाई पूर्णरुपेण निरुत्साहित गर्दै घरमै सर्वोत्तम आहाराको चाँजो मिलाउने थिएँ । सप्ताहका सातै दिनका लागि सामान्यतस् खाद्य संयोजनको तालिका तयार पारी कार्यान्वयन गर्नेरगराउने थिएँ । पढ्ने र बढ्ने उमेरका केटाकेटीलाई अरू पक्षहरूलाई समेत समेटेर समयसारिणी बनाई सोको अनुगमन एवं पृष्ठपोषण गर्ने थिएँ । जीवित इतिहासका पानाहरू भर्दै आफूले पनि दैनिकी लेख्ने र सबैलाई पनि लेख्ने बानी बसाउने थिएँ । Simple Living, High Thinking लाई मुर्तरूप दिन स्वच्छ र सादा खानाको बन्दोबस्त मिलाई दैनिक शेयरिङ् गर्ने/गराउने गरी जानकारीमा आएका सानादेखि उच्च विचारहरूको परिवारमा सञ्चारण गर्ने थिएँ । आवधिक कार्यतालिकाका आधारमा घरलाई स्वच्छ सफा गरी टोलछिमेकमा नमूना बनाउने थिएँ । खाने वस्तुहरूको उपभोग संयमप्रति पूर्ण सचेष्ट रही अनावश्यक वस्तुहरूको सङ्ग्रह गरी बिग्रनेरसड्ने अवस्था आउन दिने थिइनँ । फेरि श्रीमानले ‘एक सिताको पनि मूल्य हुन्छ’ लेखेको व्यहोरा विद्वत् वर्गबाट पनि मननीय ठहऱ्याएकाले घरपरिवारमा आदर्श वाक्यका रूपमा स्थापित गर्ने थिएँ । ‘खान्या चिज कुहेर फाल्न नपरोस्, दिनु कि खानु बरु’ भन्ने पिताजीका भनाइलाई मनन गरी कहीं, कतै र केही चिज पनि सड्न नदिन सचेष्ट रहने थिएँ । ‘परिवारिक शान्ति विकासको जग हो’ भन्ने मान्यतालाई साकार पार्न गल्ती मानवीय स्वभाव भएको व्यहोरा सबैलाई मनन गराई कुनै पनि त्रुटि हुँदा वित्तिकै ‘माफ माग्ने’ र त्यसलाई आगामी दिनमा नदोहोर्याउने व्यवस्था मिलाउने थिएँ । पारिवारिक मूल्य मान्यताहरू बैठकबाटै पारित गरी आँखा पर्ने ठाउँहरूमा लेखी टाँसेर सोही बमोजिम परिवारलाई सरिक गराउन सहजकर्ताको भूमिका खेल्ने थिएँ ।
‘Learning is a never ending process’ लाई आत्मसात् गर्दै छरछिमेकमा भएका गरेका राम्रा व्यहोराहरूलाई घरायसी बैठकमा प्रस्तुत गरी पारित भएबमोजिम घरमा लागू गराउने थिएँ । आखिर अमिर-फकिर, पठित-अपठित, महिला-पुरुष, शिक्षक-विद्यार्थी अर्थात् जोकोहीलाई पनि समय बराबर उपलब्ध छ । यो ध्रुवसत्यलाई मनन गरी आ-आफ्नो आवश्यकता अनुरूप समय निनियोजन गर्न र सोही अनुसार चल्न सबैलाई प्रेरित गर्ने थिएँ । हुन पनि समय भनेको फुर्सद बनेर कसैसामु आउने हैन, यो त आफ्नो कार्यभारलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न आफैंले तालिकीकरण गर्ने हो । यसबारेमा परिवारका सबै सदस्यहरूलाई सचेष्ट गराउने थिएँ । यसरी बनाइएको समय सारिणीले वास्तवमा सबैलाई ठीक समयमा उठ्ने, ठीक समयमा ठीक किसिमको खाना खाने, ठीक समयमा ठीक प्रकृतिको नास्ता गर्ने, ठीक समयमा तोकिएको पढाइ वा काम ठीक तरिकाले सम्पादन गर्ने, ठीक समयमा यात्रादि गर्ने, ठीक समयमा समाचार सुन्ने, पढ्ने वा आफूलाई आवश्यकतानुसार अद्यावधिक गर्ने, ठीक समयमा घरमा जम्मा भई निर्धारित कार्यसम्पादन एवं भोजन ग्रहण गरी ठीक समयमा सुत्ने बानीको विकास गर्न सक्दा आदर्श परिवार बन्न सक्ने हुँदा सोप्रति प्रतिबद्ध रहने थिएँ । पारिवारिक सुसञ्चालनका लागि आपसी सुसम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने हुन्छ, जसका लागि छोराछोरीका प्रिय साथीहरू वा श्रीमान्का स्नेह र सम्मानका पारिवारिक वा अन्यजनहरूप्रति सम्बन्धितको मनपसन्द हुने गरी स्वागत/सत्कारका कार्यहरू सम्पादन गर्ने थिएँ । ‘व्यहोरा झिनामसिना स् सम्झिंदा राम्रो’ शीर्षकमा श्रीमान्ले लेखेझैं प्रयोगमा ल्याइने भाषामा उही भाव प्रकट हुने भएमा ‘बाउकी जोई’ भन्ने हिसाबको प्रयोग नगरी ‘आमा’ भन्ने भाषा प्रयोग गर्ने/गराउने थिएँ । शास्त्रमै पनि भनिएको छ– क पर प्रियवादिनाम् अर्थात् मीठो बोल्नेलाई कसैले टाढा/पर ठान्दैन । वचनं किं दरिद्रम् अर्थात् बोलीको के दरिद्रता गर्नु छ र ! सो व्यहोरालाई परिवारमा लागू गराउन अग्रणी भूमिका निर्वाह गर्ने थिएँ ।
यसरी एउटा आदर्श परिवारको स्थापना एवं सुसञ्चालन गरेपछि मानिस सामाजिक प्राणी भएकाले सामाजिक मूल्य मानयताप्रति पनि सचेष्ट रहनु मेरो परम कर्तव्य ठहर्ने थियो । समय सारिणीबाट विनियोजित समय अनुसार समाजलाई सुबाटोमा डोऱ्याउन विभिन्न क्लब, समूह, समाजहरूको स्थापनामा सक्रियता प्रकट्ने थिएँ । समाजले तोकेको जिम्मेवारीलाई तदरुकताका साथ बहन गर्न आफ्नो जिम्माको व्यहोरा परिवारिक बैठकमा चर्चा गरी यथोचित समयको विनियोजन गर्ने/गराउने थिएँ । समाजको बैठकहरूमा आफ्नो पारिवारिक आदर्शलाई शेयर गरी उपयुक्त जँचेको हदसम्म सबैलाई लागू गर्न र थप केही राम्रो गर्न सकिने व्यहोरा सुझाविएमा लगत्तै परिवारमा लागू गर्ने थिएँ । हुन त मानिस सामाजिक बन्ने दुईटा मात्र विधि छन् भनिन्छ । एउटा आफू अनुकूल समाजलाई डोर्याउने, जुन अब्राहमलिङ्कन, महात्मा गान्धी जस्ताले पनि व्यावहारीकरण गर्न नसक्दा जोन विल्किस बूथ, नाथुराम विनायक गोड्सेबाट मृत्यु वरण गर्नुपरेथ्यो भने अर्को समाजको अधिक हिस्सा अनुकूल आफूलाई समाहित गर्ने । यसमानेमा सकेसम्म समाजको ठूलो हिस्सालाई आफूले अनुभव गरेका निस्स्वार्थी व्यहोराहरू, जुन समाजोपयोगी र परिवारोपयोगी एवं जीवनोपयोगी छन्, मनन गराई सोही बमोजिम आफू पनि अग्रसर हुनेरगराउने थिएँ ।
सामाजिक उत्सवहरूमा सम्भाव्य आफन्त एवं छरछिमेकीहरू भेला भई रमाइलो कर्यक्रमको आयोजना गर्ने थिएँ । जिब्रोलाई स्वादिलो कुरा उदर (पेट)लाई गरिष्ठ हुन्छ भन्छन् । स्वादलाई भन्दा स्वास्थ्यलाई अनुकूल भोजनहरू तयार पार्ने एवं अरूहरूलाई पनि सोही व्यहोरा मनन गराउन प्रयौगिक हिसाबले प्रदर्शन गर्ने थिएँ । ‘आफूले खाए दिसा बनेर गन्हाउने हुन्छ, अरूलाई दिएमा त्यही चिजको सुगन्ध फैलिन्छ’ भन्ने मातावाणीलाई मनन गरी मीठा/मसिना चिजहरूको अधिकाधिक वितरण गर्ने थिएँ । घरमा सुन्तला खेती सुरु गर्दा श्रीमान्ले सबै छिमेकीहरूकहाँ पनि एकुन्टा बिरुवा वितरण गरेको स्मरण गर्दा यदि कसैले सार्न नमानेमा ‘यदि यो मेरो घर वरिपरिको जग्गा भएको भए यो बिरुवा कहाँ रोप्थें होला ?’ भन्ने व्यहोरालाई हृदयङ्गम गरी त्यही ठाउँमा श्रीमान्लाई रोप्न लगाई मैले मल र पानी हाली घरपट्टिसँग ‘निर्मल र निर्मला सारेर छाडेका छौं, यसलाई राम्रोसँग हुर्काउनु होला । अन्यथा मऱ्यो भने हामी नै तपाईंहरूका लागि मरेसरह हुनेछौं’ सम्मका भनाइबाट फलफूल खेतीतर्फ छिमेकीहरूलाई प्रोत्साहित गर्ने थिएँ । बेला-बेलामा गरिएका काउली खेती, जुन बिक्रीका खाँतिर अफिसर भैसकेका भएप नि स्वयं श्रीमान् खटेको प्रसङ्गलाई उदाहरण दिँदै काम गरेर कोही सानो हुँदैन भन्ने सन्देश सञ्चार गर्ने थिएँ । फेरि काउलीका पातहरूबाट गुन्द्रुक बनाउन लगाई शहरका डिपार्टमेन्टल स्टोरहरूमा अर्ग्यानिक गुन्द्रुकका रूपमा आपूर्ति गराउने थिएँ ।
त्यस्तै अदुवा खेतीबाट उत्पादित अदुवालाई बिक्री गर्न/हुन नसक्ने अवस्थामा विज्ञको सुझाव अनुसार सुठो तयार पारी गाउँलेहरूलाई पनि त्यसतर्फ सरिक गराउने थिएँ । कफीखेतीलाई सामयिक रूपमा घरायसी उपयोग गर्ने विधि जानकारी गराई कमसेकम ठण्डी समयका लागि पुग्ने हिसाबले उत्पादन गर्न/गराउन अग्रसर हुने थिएँ । सुन्तला पाकेको सिजनमा घरमा छोरी/बैनी लगायत आफन्तजन जम्मा भएका हकमा सबै बिक्री गर्न नदिई टिप्ने व्यक्तिको व्यवस्था गरी सबैलाई ठिक्कका प्याक बनाई ‘हाम्रो तर्फको सानो अर्ग्यानिक उपहार’ भनी लेवलिङ् गरी ‘यो हाम्रै पौरख हो’ भनेर सबैलाई बाँडिदिई अपुग भएमा बरु आफूले खरिदेर खाने चाँजो मिलाउने थिएँ । माघे सङ्ग्राति आउँदा तरुल, सखरखण्डलाई तेल/घ्यूमा उसिनेर डढाउनेहरूलाई उपयुक्त मात्रामा पानी हाली उसिनेमा स्वास्थ्यप्रद हुने व्यहोरा सिकाउँदै आफूकहाँ पनि सोही हिसाबले घरजाहान तथा आगन्तुकहरूमा सेवा गर्ने थिएँ । घरायसी कामको व्यस्ततालाई र आफ्नो शारीरिक असक्ततालाई मध्यनजर गरी उपयुक्त व्यक्तिको खोजी गरी काममा लगाई समुचित अनुगमन गर्ने थिएँ । श्रीमान्, छोराछोरीहरूलाई घरायसी बैठकबाट तयार पारिएको कार्यबोझ एवं कार्यरुचि अनुसारको कार्यविभाजन अनुरूपका कार्य सम्पादनमा समीचीन सहयोग पुऱ्याई उनीहरूको अध्ययनलाई सुचारु गराउन प्रोत्साहन गर्ने थिएँ ।
यसरी ‘अरूलाई व्यवस्थित गर्न पहिले आफू व्यवस्थित बन’ भन्ने भनाइलाई चरितार्थ गर्न प्रयासरत रही घरपरिवार एवं समाजको उत्थानमा सदा दत्तचित्त हुने थिएँ ।
‘सके सपारौं, नसके नबगारौं’
प्रतिक्रिया