अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव ललितपुरको लेलेमा फेला परेको छ ।
केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका–१० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
केसीको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ । तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका हुन् ।
गए राति शव फेला परेको र शवपरीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको बताइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने प्रहरीको भनाइ छ । उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउसमेत गरिसकेको छ ।
ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी यही भर्दौ १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको हो । राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले शनिबार (२० भदौ) बिहान गएर शव उठाएको थियो ।
आफन्तले शव उनकै भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनैका एकजना नातेदार निर्मल केसीलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया