चितवनमा एक कोभिड-१९ सङ्क्रमितको मृत्यु

चितवनमा एक कोभिड-१९ सङ्क्रमितको मृत्यु


चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज (२१ भदौ) बिहान ८ बजे उनको मृत्यु भएको हो ।

यससँगै चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्तापूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

मनाङको आइसोलेसनमा दुई सङ्क्रमित

कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् ।

सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म जिल्लामा ६ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् ।

‘निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्’, आचार्यले भने, ‘शुक्रबार थपिएका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।’

त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई सङ्क्रमित आइसोलेसनमा रहेको उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ ।

यही भदौ १६ गते ७३ जनाको स्वाब नमूना सङ्कलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्म १९२ जनाको पिसीआर परीक्षण गरिएकोमा ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार आइसोलेसनमा रहेका सङ्क्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

मनाङमा कोरोना सङ्क्रमण मुक्त भइसकेपछि पुनः सङ्क्रमण देखिएको हो । राससका अनुसार जिल्लामा सङ्क्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन् । मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा सङ्क्रमण देखिएको हो । हालसम्म स्थानीयवासीमा भने सङ्क्रमण देखिएको छैन ।