चितवन एवम् आसपास क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । ६ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुऱ्याएर उपचार प्रभावकारी बनाउन लागेको हो ।
हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा शनिबार मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार दातृनिकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ ।
अब कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुऱ्याइने भएको छ । तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ । कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो । थप पाँच भेन्टिलेटरका लागि गत शुक्रबार बोलपत्र आह्वान गरिएको छ ।
यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको बताइएको छ । मन्त्रालयले सो प्रयोजनका लागि तीन करोड बजेट पठाएको छ । अस्पतालमा बिग्रिएर बसेका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ । डा. तिवारीले भन्छन्, ‘हामी महावीर पुनको स्वास्थ्य आविष्कार केन्द्रमा बिग्रिएका दुई भेन्टिलेटर पनि पठाउँदैछौँ । ती बन्दै गर्दा अस्पतालमा १६ भेन्टिलेटर हुनेछन् ।’ तिवारीले कोभिड उपचारका लागि डिजिटल एक्सरे जडान गरिने जानकारी दिँदै भने, ‘एक्सरे आइसकेको छ, हामी आजभोलिमै जडान गर्छौँ ।’
सो अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये ६ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरुलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।
अस्पतालमा सङ्क्रमित राख्नका लागि आइसोलेसन शय्या थप गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालले १०० आइसोलेसन शय्या थप गरेको हो । यसअघि अस्पतालमा १० शय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शय्याको आइसोलेसन सञ्चालनमा रहेको थियो । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेसनको शय्या थप गरिएको उनले जानकारी दिए ।
पछिल्लो समय आएका सङ्क्रमितले उपचारका लागि शय्या नपाउने समस्या बढेपछि अस्पतालमा ६ शय्याको सघन उपचार कक्षसहितको १७५ शय्या आइसोलेसन पुऱ्याइएको हो ।
बताइएअनुसार थप भएका आइसोलेसन शय्यामा साधारण सङ्क्रमितका लागि ३५, सङ्क्रमित कर्मचारी तथा चिकित्सकका लागि २४, परीक्षणका क्रममा शङ्कास्पद देखिएकालाई ३५ रहने गरी आइसोलेसन थप गरिएको हो । कर्मचारीलाई निर्माणाधीन कुरुवा घरमा क्वारेन्टिनको व्यवस्थापन मिलाइँदै छ । यसमा ४८ शय्या हुनेछ ।
अस्पतालले कोरोना सङ्क्रमण भएकाको शल्यक्रियाका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए । सङ्क्रमित महिलाबाट जन्मेका बच्चा राख्न छुट्टै बाल सघन उपचार कक्षको व्यवस्था मिलाइएको छ । निषेधाज्ञा खुलेमा बिरामीको चापलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने योजनासमेत बनाइएको छ । गम्भीर प्रकृतिका सङ्क्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिने उनले बताए ।
अस्पतालले एकीकृत आकस्मिक सेवालाई निरन्तरता दिँदै आइरहेको छ । यसअघि आकस्मिक कक्षमा आएका बिरामी र पुराना बिरामी एकै ठाउँमा हुने अवस्था हटाउन आकस्मिक कक्षमा छुट्टै चार शय्या तयार पारिएको छ । ती शय्यामा सम्भावित सङ्क्रमणका बिरामी राखेर उपचार गरिने छ । सङ्क्रमणकै कारण उपचार पाइएन भन्ने गुनासो अब हट्ने दाबी गर्दै अधिकारी भन्छन्, ‘सहज रुपमा सबै बिरामीले उपचार दिन भरतपुर अस्पताल सधैँ तत्पर छ ।’
भरतपुर अस्पतालले कोभिड प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । प्रयोगशालाले हालसम्म २१ हजारभन्दा बढी नमूना परीक्षण गरिसकेको छ । चितवनसहित विभिन्न जिल्लाबाट पठाइएका नमूना प्रयोगशालामा परीक्षण हुँदै आएको छ भने गत महिनासम्म जिल्लामा कोरोनाको उपचार भरतपुर अस्पतालले मात्र गर्दै आएको थियो ।
प्रतिक्रिया