■ सनत आचार्य
मछिन्द्रनाथको रथ यात्रामा प्रहरीले कुटाई खाएपछि आज (२१ भदौ आइतबार) बाट ललितपुर प्रहरी आक्रामक रूपले प्रस्तुत हुने देखिएको छ । प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले आफूमातहतका प्रहरीलाई निर्देशन दिँँदै कानून उल्लंघन गर्ने कसैलाई पनि नछाड्न र कर्तव्य निर्वाहमा निडर भएर प्रस्तुत हुन आदेश दिएका छन् ।
रथ तान्ने मुख्य दिन आजका लागि तय भएको र स्थानीयले आज तीन बजे रथ तान्ने कार्यक्रम रहेकोमा प्रहरीले दिउँसो एक बजेदेखि नै ललितपुरका सबै नाका बन्द गरेको छ ।
रथ राखिएको स्थानमा जाने प्रायः सबै नाकाहरूमा प्रहरीको बाक्लो उपस्थिति छ । जिल्लाका सबै प्रहरी अधिकृतहरूलाई फिल्डमा खटाइएको छ भने सर्वसाधारणलाई हिँँडडुल गर्न र सवारीका साधनहरू चलाउनसमेत निषेध गरिएको छ ।
काठमाडौंबाट ललितपुर प्रवेश गर्ने मुख्य प्रवेशद्वार बागमती पुलबाटै सबै सवारी साधनहरू काठमाडौंतर्फ फर्काइएका छन् भने अन्य नाकाहरूबाट समेत सवारी साधनलाई ललितपुर प्रवेश गर्न दिइएको छैन ।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले आजबाट आफ्ना कुनै पनि प्रहरीले कुटाई नखाने र त्यस्तो अवस्था अन्त्य भएको दाबी गरेका छन् ।

एसएसपी राईले रथ तान्ने क्रममा भएको घटनमा संलग्न भएको आरोपमा आजसम्म २७ जनालाई पक्राउ गरेको जानकारी दिँदै उनीहरू विरुद्ध मुद्धा समेत दर्ता भइसकेको बताए । उनले भने– ‘हामी अनुसन्धानको क्रममा छौँ, घटनामा संलग्न मुख्य व्यक्तिहरूको पहिचान गरी कानूनबमोजिम कारवाही अगाडि बढाउँछौँ ।’
एसएसपी राईले गत १८ गतेको ड्युटीमा कोरोनासंक्रमित कोही पनि नगएको र परिसरमातहतका कुनै प्रहरी संक्रमित भएमा परिसरभित्रै निर्माण गरिएको आइसोलेशन भवनमा राखिएको जानकारी दिए ।
उता स्थानीय बासिन्दा भने कुनै पनि हालतमा रथ तानेरै छाड्ने अडानमा छन् । यदि प्रहरी प्रशासनले रथ तान्न रोक्छ भने यो धर्म–संस्कृतिमाथिको प्रहार भएको उनीहरूको तर्क छ ।
प्रतिक्रिया