वीर अस्पताल अब ‘कोभिड अस्पताल’को भूमिकामा पनि

वीर अस्पताल अब ‘कोभिड अस्पताल’को भूमिकामा पनि


वीर अस्पताललाई सरकारले कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार (२१ भदौ) बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिँदै प्रवक्ता गौतमले कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने जानकारी दिए ।

उपत्यकामा कोरोना अस्पतालका रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पताल रहेका छन् । ती अस्पतालमा कोभिड–१९ वाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।

यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रूपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकले कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गर्ने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी गराएका छन् ।