जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह

जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन कर्मचारीलाई प्रमको आग्रह


प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा आज (२२ भदौ) शुभकामना सन्देश दिँदै उहाँले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभयो ।

विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो । प्रधानमन्त्रीले कर्मचारीलाई राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुनसमेत आग्रह गर्नुभयो । आफ्नो सन्देशमा उहाँले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्नेसमेत कामना गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति यस अवसरमा प्रधानमन्त्रीले सम्मानसमेत प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरूको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । ‘तानाशाही शासनविरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नुपरेको पीडा र गर्नुपरेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका सङ्घर्ष सकारात्मक र प्रशंसायोग्य नै छन्’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘तपाईंहरूले सहभागिता जनाएका र योगदान पुऱ्याएका आन्दोलनहरू सफल भएका छन् र तपाईंहरूका मागहरू पनि पूरा भएका छन् ।’

नेपालका विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक शासन व्यवस्थामा कर्मचारीको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको सन्देशमा बताउनुभएको छ ।

लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पुऱ्याई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

निजामती कर्मचारीमाथि लाग्ने गरेका तमाम आरोपलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रूपान्तरण गर्नु जरुरी रहेकामा उहाँले जोड दिनुभएको छ ।

निजामती सेवाका संरचनालाई सङ्घीय शासन व्यवस्थानुरूप रूपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभएको छ ।

कोभिड–१९ लगायत समयसमयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएकोे छ । मुलुकभर सोमबार (२२ भदौ) निजामती सेवा दिवस मनाइँदै छ ।