कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र एक वृद्ध सङ्क्रमितको मृत्यु

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र एक वृद्ध सङ्क्रमितको मृत्यु


कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा आज (२२ भदौ) थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पौडेल थरका पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएको थियो । ती वृद्ध यही भदौ ११ गते सङ्क्रमित भएका थिए भने नौ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए । वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए ।

यता जिल्ला प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।

ज्ञातव्य छ, बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।