कपिलवस्तु । दुई दशकभन्दा ज्यादा समयदेखि निरन्तर टेलिभिजन पत्रकारितामा सक्रिय रहेका पत्रकार वनारसी वर्माको सोमबार (२२ भदौ) निधन भएको छ ।
मधुमेह, उच्च रक्तचाप र मृगौला रोगको समस्या रहेका वर्माको ६२ वर्षको उमेरमा तौलिहवामा निधन भएको हो । उनको मृत्युपछि आएको स्वाब परीक्षणको रिपोर्टअनुसार उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दिवंगत पत्रकार वर्मा दुई दशकदेखि नेपाल टेलिभिजनमा कपिलवस्तु जिल्लाबाट संवाददाताको रुपमा क्रियाशील रहेका थिए । नेपाल पत्रकार महासंघको पुर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रिय उपाध्यक्षको पदमा क्रियाशील रहेका वर्मा जिल्लामा अग्रज पत्रकारका रुपमा चिनिएका थिए ।
पत्रकार वर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टर लगायत पत्रकार संवद्ध संघ संस्थाले समवेदना प्रकट गरेका छन् । सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता र अभिषेक प्रताप शाहले पत्रकार वर्माको निधनबाट आफू निकै मर्माहित भएको बताउँदै मृत आत्माको चीर शान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
कपिलवस्तु नगरपालिकाका वडा अध्यक्ष सुदीप पौडेलले आफ्नो वडाको विशिष्ट व्यक्तिको रुपमा रहेका पत्रकार वर्माको निधनबाट सम्पूर्ण वडावासी निकै दुःखी भएको बताउँदै दुःख प्रकट गरेका छन् । स्वर्गीय वर्माका पत्नी, दुई छोरी र दुई छोरा छन् ।
प्रतिक्रिया