करातेका बेष्ट अफ दि बेष्ट ‘हटकेक’ मन्डेकाजी

करातेका बेष्ट अफ दि बेष्ट ‘हटकेक’ मन्डेकाजी


■ श्रीविक्रम भण्डारी

कुरो ५१ सालतिरको हो, त्यतिबेला उनले खेल्न जानेको खेलको नाम लिनु पर्दा ‘गुच्चा’ मात्रै थियो । आठ वर्षको उमेर त्यतिबेला सबै बच्चाहरूले खेल्ने खेल नै गुच्चा थियो । गुच्चा यति प्रिय थियो कि खेल्न पाए सबैथोक पुग्थ्यो । साँचो अर्थमा भन्नुपर्दा न भोक लाग्थ्यो, न तिर्खा । यसरी एक दिन घरको आँगनमै साथीसँग गुच्चा खेल्दै गर्दा घरअगाडिकै हलबाट ठूलो–ठूलो आवाज आएको उनले सुने । उत्सुकता जागेर आयो, के रहेछ भनेर चियाएर हेर्दा त्यहाँ उनले कराते खेलेको देखे ।

त्यो दृष्य उनलाई निकै रमाइलो लाग्यो र निकैबेर हेरिरहे । संयोगवश त्यतिबेला बुबा बाबुकाजी श्रेष्ठको आगमन हुनु उनको लागि प्रेरणाको स्रोत बन्यो । बुबाले तँ पनि खेल्छस् भनेर सोध्दा उनले टाउको मात्र हल्लाएका थिए । त्यसपछि भोलिपल्टै उनलाई बुवाले घर नजिकै रहेको ठिमी कराँते डोजोमा भर्ना गरिदिए । यसरी अन्जानमै कराते खेल्न पुगेका उनी थिए– ‘यतिबेलाका चर्चित कराते खेलाडी मन्डेकाजी श्रेष्ठ ।’ उनी यतिबेला १३औँ सागमा दोहोरो स्वर्ण पदक जितेर ‘हटकेक’ नै बनेका छन् ।

समयको चक्र घुम्दै गयो, मन्डेकाजी पनि करातेमा भिज्दै गए । आरम्भमा त उनलाई केही असहज लाग्यो, तर बानी पर्दै जाँदा करातेको नसा उनको रगतमै दौडिन थाल्यो । यसरी निरन्तर दुई वर्ष ठिमी डोजाङमा करातेका दुवै विधा कुमुते र कातामा प्रशिक्षण गर्दै पसिना बगाए । मेहनतको फल मिठो हुन्छ भनेझैँ मन्डेकाजी उक्त डोजोका उत्कृष्ट खेलाडी बन्न सफल भए । खेलप्रतिको लगाव र मेहनतले नै होला उनी डोजाङका अन्य खेलाडीभन्दा भिन्न थिए । ग्रेडिङमा सधैं पहिलो हुने उनी करातेमा केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत थिए । सानै उमेरमा उनको यस्तो लगनशीलता र सोचका कारण प्रशिक्षक सञ्जय श्रेष्ठले उनलाई भविष्यमा करातेको उत्कृष्ट खेलाडी बन्ने घोषणासमेत गरेका थिए । आखिर भयो पनि त्यस्तै, श्रेष्ठको उक्त घोषणा सही सावित भएको छ । मन्डेकाजी करातेका उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । राष्ट्रको मान–सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुऱ्याउँदै नेपालको राष्ट्रिय झण्डा फहराउनमा सफल भएका छन् ।

करातेमा होमिएको दुई वर्ष अर्थात् १० वर्षको उमेरमा मन्डेकाजीले करातेका प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाए । जिल्लाव्यापी कराते प्रतियोगिताबाट आफ्नो खेल जीवन प्रारम्म गरेका उनले पहिलो सहभागितामै स्वर्णपदक जितेर आफूलाई करातेको उदीयमान खेलाडीको रूपमा चिनाउन सफल भए । खेल्न पाउनु नै ठूलो उपलब्धि मानिने समयमा स्वर्ण पदक जितेपछि उनी प्रशिक्षकहरूको नजरमा परे । सबै प्रशिक्षकहरूले बधाई दिएपछि मन्डेकाजीलाई पदकको महत्व थाहा भयो । त्यसले उनलाई निक खुशी प्रदान गऱ्यो । त्यसबेलाको खुशी सम्झँदै मन्डे भन्छन्– ‘म त्यो खुशी वर्णन गर्न सक्दिनँ ।’ त्यसपछि उनले उपत्यकाव्यापी कराते च्याम्पियनशीपहरूमा पहिलो, दोश्रो र तेस्रो स्थान हासिल गरे पनि कहिल्यै पदकविहीन चाहिँ हुनु परेन ।

करातेका दुवै विधा कुमुते र कातामा प्रतिस्पर्धा गर्दै आएका मन्डेकाजीले कक्षा ९ मा अध्ययन गर्दा नै चौथो वाकाजाकी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । करातेको अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले प्रतिस्पर्धा गरेको यो पहिलो अवसर थियो । भारतको देहरादुनमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले पहिलो सहभागितामा नै स्वर्ण पदक जितेर सनसनी फैलाए । मन्डेकाजीले यो प्रतियोगितामा एकल कातामा स्वर्ण पदक जितेका थिए । जापान, अमेरिका, बेलायत, चीन, कोरिया, थाइल्यान्ड, मलेसियालगायतका राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता स्वर्ण जित्दा उनको खुट्टा भुइँमा थिएन, मनले थाम्न नसक्ने खुशी प्राप्त भएको मन्डेले बताए । त्यसबेला उनलाई बधाई र स्याबासीको ओइरो लाग्यो । यो सफलतापश्चात् निकै हौसिएका मन्डेकाजीले त्यसपछि अझ मेहनत गर्ने र योभन्दा ठूलो सफलता हासिल गर्ने लक्ष्य बनाए ।

उत्कृष्ट प्रदर्शनकै कारण राष्ट्रिय टीममा परेका मन्डे त्यसपछि श्रीलंकामा आयोजना भएको १० दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि छनोट भए, जुन उनका लागि आफैमा अपत्यारिलो थियो । किनकि त्योभन्दा अघि मन्डेले राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने अफिसियल खेलकुद राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसरसमेत पाएका थिएनन् । यसरी राष्ट्रिय प्रतियोगिता नखेली एकैचोटी सागको छलाङ मार्न सफल मन्डे अन्तिम छनोटमा चाहिँ चुके । मध्यमाञ्चलबाट टीम कातातर्फ छनोट भएका उनी अन्तिम छनोटमा पराजित भएपछि साग खेल्नबाट बञ्चित हुनु पऱ्यो । यो पराजय आफैमा दुःखलाग्दो थियो, तर उनले हरेस भने खाएनन् । उल्टै आगामी प्रतियोगिताको लागि आफुलाई निखार्नमा होमिए ।

राष्ट्रिय खेलाडी बनिसकेपछि मन्डेका लागि प्रत्येक राष्ट्रिय प्रतियोगिता आफैमा चुनौती र अवसर बनेका थिए । यस्तोमा अझ कडा प्रतिद्वन्द्वीसँग भिड्नु र सफलता पाउनु आफैमा फलामको चिउरा चपाउनु जस्तै थियो । परिस्थिति जटिल भए पनि आत्मविश्वासका धनी मन्डेले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक काठमाडौंमा आयोजना भएको पाँचौ राष्ट्रिय प्रतियोगिताको लागि छनोट भए । पाँचौँमा ५० केजी कुमुतेमा प्रतिस्पर्धा गरेका उनले राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै स्वर्ण पदक जितेर कीर्तिमान नै कायम गरे । ‘मैले त्यो प्रतियोगितामा सोचेको भन्दा राम्रो प्रदर्शन गरेँ, यसपछि मेरो खेल जीवनले यु टर्न लिएको हो’, मन्डेको कथन थियो ।

सफलता नै यस्तो कडी हो जसलाई पाउन र सम्हाल्न उत्तिकै गाह्रो छ । यसका भुक्तभोगी हुन् मन्डे । उनले आफ्नो खेल जीवनमा निकै उतारचढावको सामना गर्नु परेको छ । असन्तोष प्रकट गर्ने थुप्रै ठाउँ र कारण थिए तर खेलजीवन नै धरापमा पर्न सक्ने भएकोले उनले मौनता साँध्न नै उचित सम्झे । कसैको विरोध र वादविवाद गर्न चाहेनन् । परिणामतः आज उनी चाकरी–चाप्लुसीबिना नै आफ्नो मेहनतको भरमा उत्कृष्ट प्रदर्शन गर्दै यो स्थानमा पुग्न सफल भएका छन् ।

मन्डेको यही विशेष गुणले होला ०६३ सालमा नेपाल प्रहरीले उनलाई आफ्नो टीममा भित्र्यायो । सुदुरपश्चिममा आयोजना भएको छैठौँ राष्ट्रिय खेलकुदमा मन्डेले नेपाल प्रहरीबाटै प्रतिनिधित्व गरेका थिए । उक्त प्रतियोगितामा टीम कतामा स्वर्ण पदक जिते पनि कुमुतेमा भने क्वाटर फाइनलमा पराजित भएका थिए ।

छैठौँमा कुमुतेमा पदकविहीन भएपछि मन्डेको ‘कुमुते’सँग मोहभङ्ग भो । यसपछि उनले कुमुतेलाई थाती राख्दै कातामा आफ्नो भविष्य खोज्दै कातालाई नै सफलताको प्रमुख हतियार बनाए । परिणामस्वरुप भारत, भुटान, बंगलादेश आदि देशमा भएका कराते च्याम्पियनसपिमा एकल काता र टीम कातामा स्वर्णपदक जित्दै कातातर्फको उत्कृष्ट खेलाडीको रूपमा चिनाए । त्यस्तै, २०६९ मा हङकङमा आयोजना भएको १२औँ एसियन प्यासेफिक करातेमा टीम फाइटमा रजत, टीम कातामा काँश्य जितेका थिए । योबाहेक थाइल्यान्ड ओपन, अष्ट्रिया कराते प्रिमियर लिग, फिनल्यान्ड ओपन कराते च्याम्पियनसीपमा कुमुतेमा रजत र कातामा कांश्य पदक जितेका थिए । त्यस्तै जर्मनीको बर्लिन ओपन च्याम्पियनसीपमा एकल कातामा कांश्य पदक प्राप्त गरेका थिए । हङ्गेरी ओपन र दुबईमा आयोजना भएको कराते वान प्रिमियर लिगमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय अनुभव बटुले ।

लुम्बिनी च्याम्पियनसीपमा टीम कातातर्फ स्वर्र्णपदक जिते पनि विराटनगरमा आयोजना भएको सातौँ राष्ट्रिय प्रतियोगिता मन्डेको लागि दुःस्वप्न सावित भयो । उनी एकल कातातर्फ पहिलो राउण्डमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुगे । तर यसको एक सातापछि ललितपुरको चापागाउँमा आयोजना भएको वीर गणेशमान सिंह राष्ट्रिय कराते च्याम्पियनसीपमा स्वर्णपदक जितेर पुनः उनी आफ्नो लयमा फर्किए । यसपछि उनी सिङ्गापुरमा आयोजना भएको १४औँ एसियन प्यासेफिकको लागि छनोट भए पनि प्राविधिक कारण उक्त प्रतियोगितामा खेल्नबाट वञ्चित हुनुपऱ्यो । कराते महासंघले नाम दर्ता गर्न ढिलो गरेका कारण खेल्नबाट वञ्चित हुनु परेको उनको कथन छ । टिकट काटेर, डलर साटेर घरबाट निस्कन लाग्दा जान नपाउनुको पीडा मन्डेले अहिलेसम्म बिर्सन सकेका छैनन् । उनले यो घटनालाई आफ्नो खेलजीवनकै सबैभन्दा खराव घटनाको रुपमा वर्णन गरेका छन् ।

खेल जीवनमा निकै उतारचढावको सामना गर्दै अघि बढेका मन्डेले यो नियति १८औं एसियाली खेलकुदको छनोटमा पनि भोग्नु पऱ्यो । उनी छनोट चरणको पहिलो राउण्डमै पराजित हुँदा एसियाड खेल्ने सपना चकनाचुर भयो । तर हिम्मत हारेनन्, पराजयको पाठ सिक्दै अघि वढे । परिणाम नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टीम कातामा रजत जित्न सफल भए । यसपछि १३औँ सागको पहिलो चरणको बन्द प्रशिक्षण लागि उनी छनोट भए । उक्त बन्द प्रशिक्षणमा राखेपले आठौं राष्ट्रियमा स्वर्ण पदक जित्ने खेलाडीलाई मात्र राखेको थियो । सोही क्रममा मन्डेले थाइल्याण्डमा आयोजित थाइल्याण्ड ओपन कराते च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने मौका पाए । मन्डेले यो प्रतियोगितामा एकल कातातर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक रजत पदक दिलाए । यो भन्दाअघि नेपालका कुनै पनि खेलाडी रजत पदक जित्न सकेको थिएन । साथै उनले यो प्रतियोगिताको ‘वेष्ट अफ दि वेष्ट इभेन्ट’मा एकल कातातर्फ ‘वेष्ट खेलाडी’ घोषित भई तीन सय अमेरिकी डलर प्राप्त गरेका थिए ।

वास्तवमै मन्डेको खेलकुदको यात्रा निकै रोचक छ । सफलता र असफलता दुवैलाई उनले निकै नजिकबाट आत्मसात गरेका छन् । तर सफलता र असफलता दुवैमा कहिल्यै पात्तिएनन–आत्तिएनन् उनी । खेलजीवनलाई निरन्तरता दिँदै गए, कहीँ सोचेको जस्तो प्रदर्शन गरे कहीँ चुके । यसरी सफलता असफलतालाई एक सिक्काको दुई पाटोको रूपमा आत्मसात गरेका मन्डेले पाँचौँदेखि आठौँ राष्ट्रिय खेलकुदमा भिन्दाभिन्दै इभेन्टमा स्वर्णपदक जितेर कीर्तिमान बनाए । मन्डेले पाँचौँमा कुमुते, छैठौँमा टीम काता र आठौँमा एकल कातामा स्वर्णपदक जितेर भिन्दाभिन्दै विधामा स्वर्ण पदक जित्ने नेपालको पहिलो खेलाडी बने ।

आठौँ राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेस्रो हुनेलाई १३औँ सागको बन्द प्रशिक्षणमा राखिएको थियो । बन्द प्रशिक्षणमा एकल कातातर्फ चार र टीम कातातर्फ १२ जना खेलाडी थिए । ती दुवै विधामा मन्डेले पहिलो स्थान हासिल गर्दै १३औँ सागको लागि छनोट भए । १३औं सागका दुवै विधामा छनोट भएपछि उनको लामो खेल जीवनले सार्थकता समेत पायो । करातेमा हुने जालझेललाई चिर्न पाउँदा उनी औधी खुशी थिए । त्यसपछि उनमा नयाँ जोश–जाँगर पलायो, १३औँ सागमा केही गरेर देखाउने आत्मविश्वास बढ्यो । बन्द प्रशिक्षणकै क्रममा १५ दिनको वैदेशिक भ्रमण मलेसियमा पुगेका मन्डेकाजीले त्यसपछि बंगलादेशमा आयोजना भएको पाँचौँ दक्षिण एसियाली करातेमा प्रतिस्पर्धा गरे । १३औँ सागको लागि कोशेढुङ्गा मानिएको उक्त प्रतियोगितामा टीम कातामा स्वर्णपदक जिते पनि एकल कातातर्फ काँश्य पदकमै सीमित हुनुपर्दा मन्डेको मनमा सन्त्रास फैलियो ।

तर १३औँ साग मन्डेको लागि शुभ प्रमाणित भयो । उनले एकल कातातर्फ स्वर्ण पदक जित्दै नेपाललाई पहिलो स्वर्ण पदक समेत दिलाए । मन्डेले एकल कातातर्फ स्वर्ण पदक जित्ने क्रममा सेमीफाइनलमा बंगलादेश र फाइनलमा पाकिस्तानका खेलाडीलाई पराजित गरेका थिए । नेपाललाई पहिलो स्वर्ण पदक दिलाउन पाउँदा निकै प्रशन्न देखिएका मन्डे दोश्रो खेलको लागि त्यत्तिकै चिन्तित थिए । टीम कातातर्फ कस्तो प्रदर्शन हुने हो उनी अन्योलमा थिए । तर भाग्यले साथ दियो, टीम कातामा पनि उनले स्वर्ण पदक जिते । यसपछि हर्षविभोर हुन पुगेका मन्डेले संसारको सारा खुशी आफूले नै पाएको अनुभूति गरे । राष्ट्रिय धुनका साथ राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा फहराउन पाउँदा साँच्चिकै उनको खुशी छचल्किएको थियो । आफूले देखेको ठूलो सपना पूरा हुँदा आँखाबाट आँशु झरेका थिए । त्यसबेला मन्डेलाई जन्मथलो मध्यपुर ठिमी, आफ्नो परिवार, नेपाल प्रहरी र प्रशिक्षकको झल्झली याद आएको थियो । विभिन्न घटना क्रमले महत्वपूर्ण प्रतियोगिता खेल्नबाट वञ्चित हुँदाको निराशालाई १३औं सागले चिरेको थियो, मन्डेको लागि खुशी नै खुशी ल्याएर आएको थियो ।

करिव तीन दशक लामो खेल जीवनमा मन्डेकाजीका थुप्रै यादगार पल छन् । कसैलाई उनी बिर्सन चाहन्छन् भने कसैलाई बिर्सन खोज्दा पनि अहिलेसम्म भुल्न सकेका छैनन्, जुन उनको खेल जीवनको अविष्मणीय क्षण बनेको छ । त्यसमा बंगलादेशमा आयोजना भएको ११औँ सागमा खेल्न नपाएको पीडा उनी कहिल्यै बिर्सन सक्तैनन् । थाइल्यान्डमा बन्द प्रशिक्षणमा बसेर खेल्नको लागि बंगलादेश पुग्दा १५ जनामध्ये १० जनालाई मात्र इन्ट्री गरेका कारण उनी खेल्नबाट वञ्चित हुनु परेको थियो । त्यसपछि रुँदै स्वदेश फर्किनु पर्दाको पीडा अहिले पनि आफ्नो मानसपटलमा ताजै भएको मन्डेको कथन थियो ।

वर्तमान अवस्थामा कोरोनाका कारण विश्व नै प्रभावित भएको अवस्थामा खेलकुद क्षेत्र पनि अछुतो रहेको छैन । यसैकारण मन्डे आफ्नो खेलजीवनलाई निरन्तरता दिने वा नदिने भन्ने द्विविधामा छन् । अहिलेसम्म आफ्नो खेलजीवनको बारेमा कुनै ठोस निर्णय नगरिसके पनि भविष्यमा प्रशिक्षकको भूमिकामा देखिने र खेलकुदको श्रीवृद्धिका निम्ति लागिपर्ने निर्णय भने गरिसकेका छन् । यतिबेला खेलकुदको अवस्था पहिलेको जस्तो छैन, निकै राम्रो छ, खेलकुदमै लागेर बाँच्न सकिन्छ । तर खेलकुदलाई सौखको रुपमा नभै समर्पणको रुपमा लिन आवश्यक रहेको मन्डेको कथन छ । साथै खेलकुदमा हुने फोहरी र राजनीति खेलको अन्त्य हुनु पनि त्यत्तिकै आवश्यक छ । त्यसको लागि सम्बन्धित निकाय खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको भूमिका शसक्त र प्रभावकारी हुनुपर्ने मन्डेको मान्यता छ ।

आफ्नो खेलजीवनको चर्चा गर्दा मन्डे गुरुहरूको योगदानको बारेमा चर्चा गर्न बिर्सिंदैनन् । आफूलाई यहाँसम्म पुऱ्याउन कुमुतेमा दीपक श्रेष्ठ, राजेश श्रेष्ठ, कातामा गंगाराम महर्जन, हिरासिंह डंगोल, प्रीति डंगोल, केदार सिम्खडा र योगेन्द्र आचार्यको साथ रहेको बताउँछन् । साथै विभागीय टोली छैन भने खेलकुद नै छैन भन्ने मन्डेले राखेपले ठोस कदम चाल्नुपर्ने बताए । त्यसको लागि खेलाडीहरूलाई विशेष सुविधा र उनीहरूको भविष्यको ग्यारेन्टि गर्नुपर्ने सुझाए । त्यस्तै सागमा स्वर्णपदक जित्ने खेलाडीलाई पहिले झैँ खेलकुदमा जागिर दिनुपर्ने उनको धारणा थियो ।