संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबार (१२ सेप्टेम्बर)सम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अरेगोनका गभर्नर केट ब्राउनले बताएअनुसार उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौँ मानिस अझै हराइरहेका छन् भने दशौँ हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुन सक्ने विवरण दिएका छन् । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरिसकेको बताइएको छ ।
सम्बद्ध अधिकारीहरूले डढेलोका कारण मृत्यु भएका व्यक्तिको एकीन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् ।
उपनगरीय इलाका तथा ओरेगोनको अति घना बस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
ब्राउनले भनेका छन्, ‘डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ भने करिब पाँच लाख व्यक्तिलाई सुरक्षित स्थलमा सानुपर्ने सम्भावना रहेको भन्दै सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।’
मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको एपीले जनाएको छ । बताइएअनुसार सयौँ अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका छन् ।
प्रतिक्रिया