अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिने ट्रम्पको उदघोष

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिने ट्रम्पको उदघोष


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन् । अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको राष्टपति ट्रम्पले जानकारी दिएको हो ।

सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ, ट्रम्पको भनाइ छ ।

यसलाई कहिलेदेखि वितरण गर्न सकिने छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि उनले बताए ।

अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुन सक्ने राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

आफूले जतिसक्दो चाँडो कोरोना नियन्त्रणका प्रयासहरु गरिरहेको दाबी गर्दै उनले डेमोक्र्याटतर्फका आफ्ना प्रतिस्पर्धीले भने त्यसलाई रोक्न सक्ने आरोप पनि लगाए ।

कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ ।