बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार (५ असोज) भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदानलगायत विषयमा छलफल भएको र सो क्रममा राजदूत क्वात्राले भारतले सहजीकरण गरिदिने आश्वासन दिनुभएको हो ।
कृषि मन्त्रालयमा भएको भेटमा मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिनुभएको बताइएको छ ।
भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताउनुभएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिनुभयो ।
बताइएअनुसार भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुऱ्याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया