- विकाश रौनियार, धादिङ
धादिङको गजुरी गाउँपालिका–६ स्थित बेल्खु दोभान क्षेत्रमा रातिको समयमा भइरहेको अवैध बालुवा उत्खननबारे प्रतिनिधिसभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएपछि प्रहरी प्रशासन सक्रिय भएको छ।
आशिका तामाङले रातभरि दर्जनौं ट्रिपर प्रयोग गरी बगिरहेको नदीबाट प्रत्यक्ष रूपमा बालुवा उत्खनन भइरहेको दाबी गर्दै स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठाएकी थिइन् ।
उक्त विषय सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । गजुरी गाउँपालिकाको सहकार्यमा उत्खननस्थलतर्फ जाने पहुँचमार्ग डोजर प्रयोग गरी अवरुद्ध गरिएको छ ।
साथै थप प्रहरी परिचालन गरी सो क्षेत्रको निगरानीसमेत कडा पारिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रतिक्रिया