अस्पताल पुर्याएर पनि समयमा उपचार नपाउँदा धरानस्थित अस्पतालमा एक वृद्धाको निधन भएको छ ।
झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो ।
श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन् जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लैजाने सल्लाह दिएको थियो ।
कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको परिवारजनको दाबी छ ।
तिम्सिनाको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ ।
प्रतिक्रिया