मिडियामा देखिएको समस्या समाधान गर्ने उद्देश्यसहित निजी क्षेत्रका सञ्चार उद्यमी सङ्गठित भएका छन् । देशभरका मिडिया सञ्चालकको साझा संस्था निर्माण गर्ने लक्ष्यसहित ठूला मिडियाका केही सञ्चार उद्यमीको भेलाले काठमाडौंमा ‘मिडिया एलाइन्स नेपाल’ नामक संस्था स्थापना गरेको हो ।
आज (७ असोज) काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त संस्थाको तदर्थ समिति सार्वजनिक गरिएको छ । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी दिइएको छ ।
समितिको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल छन् । महासचिवमा इमेज च्यानल प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईं छन् भने कोषाध्यक्षमा इम्प्रेसन पब्लिकेशन तथा मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल शर्मालाई चयन गरिएको छ ।
सदस्यमा जनता प्रकाशन तथा प्रसारण लिमिटेडका अध्यक्ष डा. विजय पौडेल, नेपाल रिपब्लिका मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली, प्राइम टेलिभिजनका ऋषि धमला र एपिवान टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शाक्य रहेका छन् ।
सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवालीलाई चयन गरेको जनाइएको छ ।
समिति गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राजकर्णिकारले तीन दशकदेखि सञ्चालित निजी क्षेत्रको मिडियाका लागि स्थापना भएको उक्त संस्था अर्को कालखण्डको प्रारम्भ भएको बताए ।
‘लगानीकर्ताले घर बेचेर लगानी गर्ने तथा श्रमजीवी पत्रकारले जीवनभर श्रमको लगानी गर्दा पनि मिडिया क्षेत्र समृद्ध हुन सकेन, त्यसकारण मिडियाको विकास र व्यवसायिकताका लागि संस्थाको स्थापना गर्नुपरेको हो’, अध्यक्ष राजकर्णिकारले भने । उनका अनुसार लामो यात्रा तय गरे पनि मिडिया उद्योग अझै व्यावसायिक बन्न सकेका छैनन् । जुनसुकै बेला कुनै न कुनै मिडिया बन्द हुने अवस्था रहेकाले अहिलेको अवस्थामा सरकारले केही राहत प्याकेज घोषणा गर्न जरुरी रहेको उनले जिकिर गरे ।
सार्वजनिक जानकारीअनुसार नेपालको मिडिया क्षेत्रमा झण्डै रु २० अर्ब लगानी छ । नेपालमा वार्षिक रु १२ अर्बको विज्ञापनको कारोबार हुन्छ । व्यवस्थित गर्न सकिए रु २५ अर्बको विज्ञापन कारोबार हुने अवस्था रहेको जानकारी दिँदै अध्यक्ष राजकर्णिकारले तीन वर्षभित्रमा लक्ष्य प्राप्त गर्ने उद्देश्य संस्थाको रहेको बताए ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा सञ्चार उद्यमी र कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको हकहित संरक्षण, मिडियामा देखापरेका समस्याको एकीकृत समाधान, तटस्थ, निष्पक्ष र जनउरदायी सूचना सम्प्रेषण तथा गुणस्तरीय समाजको निर्माणमा एलाइन्स सक्रिय हुने जनाइएको छ । संस्थामा आवद्ध हुनका लागि भने रेडियोका हकमा एक–एक हजार वाट क्षमता भएको हुनुपर्ने र टेलिभिजनका हकमा स्याटेलाइटमा गएको हुनुपर्ने छ । त्यस्तै पत्रिकाको हकमा राष्ट्रिय दैनिक पत्रिका हुनुपर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमार्फत मिडिया एलाइन्स नेपालले विभिन्न ३०बुँदे आफ्ना उद्देश्यहरु सार्वजनिक गर्दै सञ्चार उद्योगलाई सेवा उद्योगको मान्यता दिन पहल गरिने, सञ्चारसम्बन्धी नीति तथा कानून निर्माणमा सञ्चार उद्यमीको हकहित संरक्षणमा पहल गर्ने जनाइएको छ ।
प्रतिक्रिया