बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु


बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज (८ असोज) मृत्यु भएको छ । अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुषको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए ।

यस्तै, कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा. थापाले बताए ।

लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले जानकारी दिए ।