आइसोलेसनबाटै भागे सङ्क्रमित कैदी, बाँकेमा एक संक्रमित व्यक्तिको मृत्यु

आइसोलेसनबाटै भागे सङ्क्रमित कैदी, बाँकेमा एक संक्रमित व्यक्तिको मृत्यु


कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । को स्याङ्जाअर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ ।

गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचाररत रहेकै समयमा राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले पुष्टि गरेका छन् ।

भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेकै बेला सङ्क्रमित नै भागेपछि अस्पतालको सुरक्षामा थप चुनौती थपिएको छ भने समाजमा समेत सङ्क्रमण फैलिन सक्ने भएकाले थप सचेत हुनेपर्ने देखिन्छ ।

अस्पतालबाट भागेका ती युवाको खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

उता बाँकेमा कोरोना सङ्क्रमणबाट आज (९ असोज) बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे ती बिरामीलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि नै कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा अपराह्न ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएकाले रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । बाँकेका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रमा ३८४ सङ्क्रमितको उपचार भइरहेको छ ।