■ विशेष प्रतिनिधि, कपिलवस्तु
बुधबार बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको छ । घटनाको तीन दिनपछि आज (९ असोज) वेपत्ता पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
बेपत्ता पौडेलको तीन दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको टोलीले खाजी कार्य जारी राखेको थियो ।
पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिमतर्फ फेला परेको हो । तीन दिनदेखि खोजी कार्य जारी राखे पनि नभेटिएपछि आज दुवै तर्फबाट बोटिङ गरी खोजी गर्ने तयारी थियो । पौडेलको शव भेटिएपछि बोटिङ पनि स्थगित गरिएको छ ।
बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कजवे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीपसहित ६ जनालाई बगाएको थियो । जसमा तीन जना पौडिएर बाँच्न सफल भएका थिए भने तीन जनाको मृत्यु भएको थियो ।
सोही दिन एक जनाको शव भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो ।
प्रतिक्रिया