बेलायतमा महामारी शुरु भएयताकै एकैदिन धेरै सङ्क्रमित

बेलायतमा महामारी शुरु भएयताकै एकैदिन धेरै सङ्क्रमित


बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । बेलायतमा महामारी शुरु भएयताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका बेलायती अधिकारीहरुले जनाएका छन् ।

बताइएअनुसार बिहीबार (२४ सेप्टेम्बर) मात्र त्यसअघिको २४ घन्टामा त्यहाँ ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो त्यहाँ सङ्क्रमण शुरु भएयताको ठूलो संख्या हो । यो समेत गरी बेलायतमा सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।

बेलायती जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको सिन्ह्वाले जानकारी दिएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।

गत बुधबार पनि त्यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन त्यहाँ ३७ जनाको ज्यान गएको थियो ।

बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको त्यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।