रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् । रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत उनले आग्रह गरेका छन् ।
रूसी प्रशासन केन्द्र क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई एकअर्काको आन्तरिक मामिलामा निर्वाचन लगायत सूचना र सञ्चार प्रविधिको प्रयोगसहित गैर–हस्तक्षेपको ग्यारेन्टी आदानप्रदान गर्न र यस क्षेत्रका सम्बन्धहरुलाई पुनः स्थापित गर्न आग्रह गरेका हुन् ।
उनले द्वन्द्वमा ‘पहिलो प्रहार’को व्यवहार नदेखाउन वा त्यस्ता विधिहरू प्रयोग नगर्न पनि विश्वव्यापी सम्झौताको आवश्यकतामाथि जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ७५औँ महासभा चलिरहेका समय विश्वको ध्यान केन्द्रित गर्दै रूसी राष्ट्रपतिको यो धारणा आएको हो ।
सन् २०१६ को निर्वाचनमा हस्तक्षेपको आरोप रूसमाथि लागेको र अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि दिन नजिकिँदै जाँदा अमेरिकी निर्वाचनमा रूसले कुनै हस्तक्षेप नरहने विश्वास दिलाउने प्रयास राष्ट्रपति पूटिनले गरेका हुन् ।
प्रतिक्रिया