कङ्गो घटनाबारे नेपाली सेनाद्वारा छानबिन शुरु

कङ्गो घटनाबारे नेपाली सेनाद्वारा छानबिन शुरु


नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन शुरु गरेको छ ।

शान्ति स्थापनार्थ त्यहाँ तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादाविपरीतको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

गत बिहीबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।