बझाङको मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार एवम् हत्या घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।
लगभग २० वर्ष उमेरका बोहरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पनि सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको बताएका छन् ।
बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकी सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । गत बुधबार (७ असोज) साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या गरिएको थियो ।
यसैबीच बलात्कार गरी हत्या गर्नेलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आइतबार पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् । उनीहरूले ‘न्याय कहिले पाउने ?’ भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया