अनिलभक्त खरेल, भर्जिनिया (अमेरिका)
सेप्टेम्बर २७ शनिबारका दिन ४८ वर्षीया Amy Coney Barret लाई ११५औँ न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सन् १७८९ मा गठन भएको सुप्रिम कोर्टको २३१ वर्षे अवधिमा यसअघि ११४ जना न्यायाधीश भइसकेका छन् । रिपब्लिकनहरूको स्पष्ट बहुमत रहेको सिनेटबाट राष्ट्रपतिको सो प्रस्ताव सजिलैसँग अनुमोदन हुने भएकोले यमी अमेरिकाको ११५औँ न्यायाधीश हुने छिन् । यमी ११५औँ न्यायाधीशको अलावा पाँचौँ महिला न्यायाधीश पनि भएकी छन् । रोनाल्ड रेगनले पहिलोपटक महिलालाई न्यायाधीशमा नियुक्त गरेका थिए ।
यसरी पहिलोपटक अमेरिकाको सुप्रिम कोर्टमा न्यायाधीश हुने भाग्यमानी महिला Sandra Day O’Connor रहेकी थिइन्, जो २४ वर्ष १२८ दिन न्यायाधीश भएर रिटायर्ड भएकी थिइन् । हालै निधन भएकी Ruth Bader Ginsburg दोश्रो न्यायाधीश थिइन् । बाराक ओबाले आफ्नो ८ वर्षे कार्यकालमा दुई जना न्यायाधीश नियुक्त गरेका थिए, ती दुवै महिला नै थिए । बाराक ओबामाले अगष्ट ९ मा Sonoa Sototmayor तथा अगष्ट २०१० मा Elena Kagan लाई नियुक्त गरेका थिए जो हाल पनि निरन्तर छन् । जसका कारण सन् २०१० देखि सुप्रिम कोर्टमा निरन्तर तीन महिला न्यायाधीश रहँदै आएका छन् ।
चुनावी प्रक्रिया शुरु भैसकेको अवस्थामा राष्ट्रपतिले अहिले न्यायाधीश छनौट गर्नु हुन्न भन्ने डेमोक्रेटिकहरूले आपत्ति जनाउँदा जनाउँदै पनि सेप्टेम्बर २७ शनिबारका दिन ४८ Amy Coney Barret लाई न्यायाधीशमा छनौट प्रस्ताव गरिएको छ । सो प्रस्ताव गरेसँगै अमेरिकाको सुप्रिम कोर्टमा रिपब्लिकनबाट नियुक्त न्यायाधीशहरूको संख्या ६ अर्थात् दुई तिहाई पुगेको छ । यसरी सुप्रिम कोर्ट रिपब्लिकनको कब्जामा पुगेको छ ।
९ सदस्यीय सो अदालतमा रिपब्लिकन पक्षधर ६ र डेमोक्रेटिक पक्षधरको संख्या ३ रहेको छ । डेमोक्रेटिकको पक्षमा अब विल क्लिन्टनले नियुक्त गरेका १, ओबामाले नियुक्त गरेका २ न्यायाधीश मात्र बाँकी रहेका छन् । रिपब्लिकनको पक्षमा भने जर्ज बुसका बाबु–छोराले नियुक्त गरेका १–१ जना न्यायाधीश र एक चिफ न्यायाधीश गरी तीन तथा ट्रम्पले नियुक्त गरेका तीन न्यायाधीशसँगै रिपब्लिकनहरूले नियुक्त गरेका न्यायाधीशको संख्या ६ पुगेको हो । चुनावको पूर्वसन्ध्यामा सुप्रिम कोर्टमा रिपब्लिकनहरूको बाहुल्यता हुनुलाई अर्थपूर्ण र शंकाको दृष्टिले हेरिएको छ ।
कोरोनाका कारण हुलाकमार्फत अमेरिकामा मतदान सुरु भइसकेको छ । अमेरिकाको हुलाकले मतपत्र संकलनको प्रयोजनको लागि अस्थाई कामदारहरू भर्ना गरिसकेको छ । त्यही भर्ना गरिएकै अस्थाई कामदारबाट मतपत्रहरूको हेलचेक्र्याइँका कारण पेन्सलभेनियामा ट्रम्पको पक्षमा खसालिएका केही मतपत्र फोहोर फाल्ने ठाउँमा भेटिएको रिपब्लिकनहरूले यसैलाई प्रमुख मुद्दा बनाइरहेका छन् । एकातर्फ राष्ट्रपतिले आफूले चुनाव नहार्ने र हारे पनि सजिलै नस्वीकार्ने बताइरहेको अवस्थामा भोलि चुनावको परिणाम आप्mनो अनुकुलमा नआउने थाहा पाउनेबित्तिकै रिपब्लिकनहरूले सुप्रिम कोर्टमा मुद्दा हाले भने के हुन्छ ? ती रिपक्लिकनहरूले नियुक्त गरेका न्यायाधीशहरूले कसको पक्षमा निर्णय सुनाउलान् त्यो त समयले बताउला ।
स्मरण रहोस्, यसअघि सन् २००० मा एल गोर र बुसबीच फ्लोरिडा राज्यमा भएको चुनावी परिणामलाई लिएर सुप्रिम कोर्टमा मुद्दा पर्दा अदालतले बुसको पक्षमा फैसला सुनाएको थियो । सो बेलामा पनि रिपब्लिकनहरूको पक्षमा दुई तिहाइ नै न्यायाधीश रहेका थिए । रोनाल्ड रेगनले नियुक्त गरेको एक चिफ न्यायाधीश र तीन न्यायाधीश तथा जर्ज डब्लु बुसले नियुक्त गरेका दुई न्यायाधीशसहित ६ न्यायाधीश रहेका थिए । अहिलेको दुई तिहाई बाहुल्यता रहेको अदालतले के के गर्ने हो प्रतीक्षा गरौँ ।
प्रतिक्रिया