आरपी उपाध्याय, नवलपरासी
नवलपरासीको दुर्गम क्षेत्रको रुपमा परिचित सुस्ताका नेपालीहरु काठको डुङ्गामा डिजेल पङ्खाको जडान गरी नदी आरपार गर्न थालेका छन् ।
लामो समयदेखि साधारण डुङ्गाबाट नदी तर्दै आएका सुस्ताका नेपाली असोज १३ गतेदेखि काठको डुङ्गामा पम्पिङ सेट राखी मोटर जडान गरेर दैनिक १०० को सङ्ख्यामा नेपालीहरु आवतजावत गर्न थालेको सुस्ता बचाउ अभियानका प्रवक्त्ता रवीन्द्र जैसवालले जानकारी दिएका छन् । सुस्ता निवासी जयनारायण शाह र फिरोज खानले ८ लाखको लागतमा निर्माण गरिएको डुङ्गामा १६० क्विन्टल सम्म वजन क्षमता रहेको जैसवालले बताए ।
डिजल मटरबाट पानी खियाउने पङ्खा निर्माण गरी बनाइएको डुङ्गाले पानीको बहाव बढि भए पनि डुङ्गा आवतजावतमा कुनै कठिनाइ नहुने र घरेलु प्राविधिकद्वारा निर्माण भएको डुङ्गा सञ्चालनले सुस्तामा खुसियाली छाएको छ । डिजल पङ्खाद्वारा सञ्चालन भएको डुङ्गाबाट निर्माण सामग्री, खाध्यान्न आपुर्ति र बाढीको जोखिमको समयमा मानिस पनि आवतजावत गर्न मिल्ने डुङ्गा निर्माण कार्यमा सङ्लग्न व्यक्तिले जानकारी दिएका छन् ।
त्यसैगरी नारायणी नदीमा बगेर आएको एक गैँडा सुस्ता गाउँपालिकाको सुस्तामा देखा रेको छ । असोज १० गते नारायणी नदीबाट बगेर आएको गैँडा सुस्ताको उखु र धानबालीमा देखा परेपछि गैँडाको त्रासले सर्वसाधारण घाँसपात लिन पनि खेतबारीमा जान छोडेको बताइएको छ ।
सुस्तासङ्ग जोडिएको नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना रहेबाट सुस्तामा देखापरेको गैँडा भारतीय जङ्गलमा जान सक्ने सम्भावना पनि बढेको छ । किमती वन्यजनावरको रुपमा रहेको गैँडा सुस्तामा देखिए पनि सरोकारवाला निकाय हालसम्म बेखबर रहनुलार्इ चिन्ताको विषय मानिएको छ ।

प्रतिक्रिया