सधैं गाँस, बास र कपास खोसिने तल्लो दर्जाका प्रहरी !

सधैं गाँस, बास र कपास खोसिने तल्लो दर्जाका प्रहरी !


  • सनत आचार्य

राजधानीको गौशालाआसपासको सडक क्षेत्रमा देखिने नेपाल प्रहरीका एक जवानले विगत एक वर्षदेखि घर जाने अवसर पाएका छैनन् । बिदा लिएर घर जाने उनको हरेक पटकका चाहना आलोपालो, साथी–सङ्गति, हाकिमको हप्कीदप्की आदिका कारण तुहिने गर्दछ ।

पुतलीसडक चोकमा नियमित ड्युटी बस्ने एक हवल्दारको पनि कथा–ब्यथा उस्तै छ । उनले पनि विगत १० महिनादेखि घर–परिवारसँगै बसेर दुःख–सुख गर्दै दुई छाक न्यानो खाना खान पाएका छैनन् । उपत्यकाबाहिर घर बताउने उनको पनि आगामी दिनमा कहिले घर जान पाइने हो– कुनै निधो छैन ।

उनी मात्र हैन, पुरानो भाटभटेनीनजिक सडक ड्युटीमा खटिने महिला प्रहरी पनि विगत १० महिनादेखि बाटोमै सिटी फुकेर ट्राफिक व्यवस्थापन मिलाउन व्यस्त देखिन्छिन् । उनी भन्छिन्– ‘दिनभरी त जसोजतो समय बित्छ तर राति घर–परिवारको याद औधी आउँछ । सायद लामो समय भएर हो कि !?’

राजधानीलगायत अन्य जिल्लाहरूमा वर्षौंदेखि बिदा लिई घर जान नपाएका तल्लो दर्जाका प्रहरीहरूको जमात ठूलो छ । यो सङ्ख्या गत वर्ष पनि कम थिएन र कोभिड महामारीपछि त लामो समयदेखि घर जान नपाएका प्रहरीको सङ्ख्या झन् बढेको छ । नजिकिँदो चाडबाड र शान्ति सुरक्षाको अवस्थालाई अझै लामो समयसम्म जागिरमा खटिनुपर्ने उनीहरूको अवस्था छ । यसरी अनवरत रूपमा लामो समयसम्म ड्युटीमा खटिँदा राज्यतर्फबाट भने उनीहरूका लागि खासै कुनै थप सुविधा छैन ।

प्रहरी सङ्गठनमा सबै दर्जाका लागि भैपरी आउने बिदा, घर बिदा र बिरामी बिदा जस्ता सुविधा तोकिए तापनि जवानहरूका लागि यी बिदा भनेको आकाशको फल आँखा तरी मर् भन्ने उखानसँग मेल खाने अवस्था छ ।

प्रहरी जवानको टड्कारो रूपमा खड्किएको अर्को आवश्यकता भनेको बासको हो । काठमाडौं परिसर, टेकुको प्राङ्गणमा भेटिने प्रहरी जवानहरूको ०७२ सालको महाभूकम्पपश्चात् उनीहरूको हरेक रात त्रिपालमुनि बित्ने गर्छ । दिनभरिको थकानपश्चात् उनीहरूको रात यसै त्रिपालको आडमा बित्ने गर्दछ । भूकम्प गएको यतिका वर्ष बिते पनि त्रिपालमा रात बिताउने प्रहरी सङ्घीय राजधानी काठमाडौंमा मात्र नभएर भूकम्प प्रभावित अधिकांश जिल्लाहरूमा पनि देख्न सकिन्छ ।

दिनभरिको ड्युटीपश्चात अधिकांश ब्यारेकमा एउटा खाट वा बिच्छौनामा दुई जना प्रहरी जवान वर्षौंदेखि रात गुजार्नु परेको देखिन्छ भने कतिपय स्थानहरूमा त साथी कतिबेला उठ्ला र म सुतौँला भनेर पालो कुर्नुपर्ने अवस्था पनि छ । बेड–विस्तरा भनेको शरीरलाई चाहिने आराम गर्ने समयमा प्रयोग हुने बस्तु हो । निरन्तरको कामपश्चात् आउने गहिरो निद्राले थकान मेट्छ । थकान मेटिए शरीरमा ताजगी आउँछ । ताजगी आए शरीर स्वस्थ्य रहन्छ । शरीर स्वस्थ्य रहे एउटा प्रहरीले गर्ने कार्य सम्पादन सही र चुस्त–दुरुस्त हुन्छ ।

त्यस्तै, प्रहरीका लागि प्रारम्भिक पोशाक र जाडोको पोशाकसमेत व्यवस्था गरिएकोमा सरकारले यी पोशाक समयमै पु¥याउन सकिरहेको छैन । कतिपय पोशाकहरू जाडोमा लगाउने भएता पनि हिमाली क्षेत्र र अन्य क्षेत्रमा मौसमअनुसारको पोशाक नपाएको अवस्था छ ।

नेपाल प्रहरीको दैनिकी आमनागरिकको शान्तिसुरक्षा र सेवासँग जोडिएको छ । प्रत्येक तप्काका मानिसहरूले प्रहरीसँग धेरै कुराको अपेक्षा गरेका हुन्छन् । कतिपय मानिसहरूले त प्रहरी राज्य हो, सरकार हो, सरकारमा बस्ने उच्च ओहदाका मानिस हुन् र न्यायाधीशसमेत हुन् भन्ने सोचाइमा हुन्छन् । त्यसैले होला मानिस हरेक कुरामा प्रहरी सम्झन्छ ।

जवानहरूको अर्को ठूलो समस्या भनेको शौचालय र स्नानघरको हो । कुनै पनि जिल्ला प्रहरी कार्यालय वा इलाकामा ५० भन्दा बढि प्रहरी हुन्छन् तर प्रहरी सङ्ख्याको अनुपातमा शौचालय र स्नानघर भने अति नै कम हुने गर्दछ । एकातर्फ प्रहरी जवानहरूलाई तोकिएको समयमा उठ्न र काम जान बाध्य हुनु पर्दछ भने अर्कोतर्फ कम शौचालय भएका कारण पालो नपर्खी, नकुरी साध्य नै छैन ।

नेपाल प्रहरीमा काम गर्ने समय खासै निर्धारण गरीएको छैन । प्रहरीका लागि दैनिक आठ घण्टाको ड्युटी समय तोकिए तापनि अधिकांश तल्लो दर्जाका प्रहरीहरूले १४ देखि १८ घण्टा काम गर्ने गरेको विभिन्न अध्ययन र अनुसन्धानबाट देखिन्छ । प्रहरीका लागि काम गर्ने समय भनेको जतिबेलासम्म काम गर्न सक्यो त्यतिबेलासम्मको समयलाई लिनुपर्ने वा मान्नुपर्ने बाध्यता छ ।

नेपाल प्रहरीको दैनिकी आमनागरिकको शान्तिसुरक्षा र सेवासँग जोडिएको छ । प्रत्येक तप्काका मानिसहरूले प्रहरीसँग धेरै कुराको अपेक्षा गरेका हुन्छन् । कतिपय मानिसहरूले त प्रहरी राज्य हो, सरकार हो, सरकारमा बस्ने उच्च ओहदाका मानिस हुन् र न्यायाधीशसमेत हुन् भन्ने सोचाइमा हुन्छन् । त्यसैले होला मानिस हरेक कुरामा प्रहरी सम्झन्छ ।

अर्कोतर्फ समाजमा अपराध अनुसन्धान, शान्ति सुरक्षा र अमन चयन कायम राख्ने जस्ता जनसरोकारका विषयमा तल्लो दर्जाका प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । तर यस्ता भूमिका बोकेका प्रहरीहरूलाई सङ्गठन र सरकारले हेर्ने दृष्टिकोण भने फरक पाइन्छ ।

नेपाल प्रहरीमा प्रत्येक वर्ष चार हजारको हाराहारीमा विभिन्न दर्जाका प्रहरीले जागिर छोड्ने गर्छन् । यो सङ्ख्यामा सिपाहीहरू बढि पर्दछन् । सिपाही दर्जाको एउटा प्रहरीलाई कार्य सम्पादन स्तरसम्म ल्याउनका लागि राज्यले लाखौँ रुपियाँ खर्चिनु पर्दछ । तर राज्य वा सरकारले के–कति कारणले जागिर छाडे ? वा जागिर नछाड्नका लागि कहाँ र के कस्तो सहयोग र नीतिको आवश्यकता छ भन्ने कुरामा गम्भीर भएर अहिले सम्म सोचेको देखिँदैन ।

प्रहरी सङ्गठनमा नाम चलेका र सङ्गठनकै आशाका दियो बालेका दर्जनौँ हाकिम बदलिए तर उनीहरूको बास बदलिएन । सरकार बदलियो, प्रधानमन्त्री बदलिए, गृहमन्त्री, गृहसचिव बदलिए तर उनीहरूको दैनिकी बदलिएन । उनीहरूका लागि आवास बदलिएन, भोजन बदलिएन । सबैभन्दा दुःखको कुरा तल्लो दर्जाका प्रहरीलाई हेर्ने सङ्गठन–प्रमुखको कार्यशैली र दृष्टिकोण बदलिएन ।

सामान्यता प्रहरीले चौविसै घण्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । यसरी असीमित समय सेवा प्रवाह गर्ने प्रहरीले गुणस्तरीय सेवा प्रदान गर्न सक्छ या सक्दैन ? वा त्यस्ता प्रहरीको मानसिक र शारीरिक अवस्था कस्तो होला र रहन्छ ? यो बहस र अनुसन्धानको विषय हो ।

तर विडम्बना के हो भने प्रहरी सङ्गठनमा नाम चलेका र सङ्गठनकै आशाका दियो बालेका दर्जनौँ हाकिम बदलिए तर उनीहरूको बास बदलिएन । सरकार बदलियो, प्रधानमन्त्री बदलिए, गृहमन्त्री, गृहसचिव बदलिए तर उनीहरूको दैनिकी बदलिएन । उनीहरूका लागि आवास बदलिएन, भोजन बदलिएन । सबैभन्दा दुःखको कुरा तल्लो दर्जाका प्रहरीलाई हेर्ने सङ्गठन–प्रमुखको कार्यशैली र दृष्टिकोण बदलिएन ।

मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मका व्यवस्था बदलिए तर एक जना प्रहरी जवानको गाँस, बास र कपासको समस्या ज्यूँकात्यूँ नै रह्यो । अहोरात्र देश र जनताको सेवामा खटिने एक सच्चा पहरेदारको गाँस, बास र कपास कुनै पनि तन्त्रले बदल्न सकेन ।