विशेष प्रतिनिधि, कपिलवस्तु
कपिलवस्तुमा विगत केही दिनदेखि लागूऔषधका तस्करहरुको सक्रियता बढेको छ । तस्करहरुको यो रवैया सुरक्षाकर्मीको लागि टाउकोदुखाइको विषय बनेको बुझिएको छ ।
प्रतिबन्धित चरेस, अफिम लगायतका लागूऔषध नेपालबाट भारततर्फ तस्करी गर्ने तस्करहरु दैनिक रुपमा पक्राउ परेका घटना बढ्दै गएको बेला सिमामा रहेका सशस्त्र प्रहरीलाई छल्दै भारत पुगेका एक नेपाली पौने तीन केजी चरेससहित पक्राउ परेका छन् ।
नेपाल–भारत सिमामा प्रत्येक ५ सय मिटरको दूरीमा सशस्त्र प्रहरी बलको अस्थायी पोष्टहरु रहेका छन् । सशस्त्रको सुरक्षा घेरालाई चुनौती दिई प्रवेश गरेका विजयनगर गाउँपालिका ४ ज्योतिनगरका टिकाराम गिरिलाई भारतीय सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।
भारतीय सुरक्षा निकायद्वारा अनुमानित ४ लाख भारु मूल्य तोकिएको २ केजी ८५० ग्राम चरेस अवैध रुपले भारत लगेका गिरिमाथि भारतीय प्रहरीले मु.अ.सं. २६४/२/२० दफा ८/२२/२३ एनडीपीएस एक्ट अन्तर्गतको मुद्दा चलाइएको प्रहरी निरीक्षक तहसिलदार सिंहले लिखित प्रेस नोट जारी गरेका छन् ।
बिहीबार बिहान ५ बजेको समयमा कृष्णनगर नगरपालिका वडा ३ को लक्ष्मिनगर हुँदै पारी भारतको कल्लनडिहवा गाउँ पुगेका गिरिलाई भारतीय प्रहरीले पक्राउ गरी ढेबरुआ थाना लगेको थियो।
प्रतिक्रिया