एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी

एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी


यातायात व्यवस्था कार्यालय एकान्तकुना (ललितपुर)ले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जनाएको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको हो ।

कार्यालयले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले जानकारी दिए ।

कार्यालय प्रमुख कार्कीका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । कार्यालयले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा पनि सेवाग्राही आफैँ पनि सजग हुनुपर्ने कार्की बताउँछन् ।

सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ ।

कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा स्थगन गरिएको जानकारी दिँदै उनले भनेका छन्, ‘प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन ।’

काठमाडौं उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेको बताइएको छ । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन एकान्तकुनामा मात्र भीड लाग्थ्यो, तर हाल काठमाडौं उपत्यकामा चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । तथापि, सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ ।