महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उहाँलाई भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्नुभयो ।
विगत वर्षमा झैँ एम्बुलेन्स र बसहरू उपहारस्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिँदै काठमाडौंस्थित भारतीय दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ–संस्थाहरूलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरुप प्रदान गरेको छ । यी संघ–संस्थाहरू नेपालका दुर्गम जिल्लालगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् ।
ज्ञातव्य छ, विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।
दूतावासका अनुसार सन् १९९४ देखि हालसम्म भारतीय राजदूतावासले नेपाललाई झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एम्बुलेन्स (Advance Life Support, Basic Life Support / Common Life Support) प्रदान गरेको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरू नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका बताइएको छ ।
Advance Life Support अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् । Basic Life Support एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । Common Life Support अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुने जनाइएको छ ।
जिल्लाका शैक्षिक संस्थाहरूलाई शुक्रबार (२ सेप्टेम्बर) वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।
नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारी राखेको निरन्तर सहयोगअनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरू प्रदान गरिएको र यसले विद्यार्थीहरुलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको दूतावासको भनाइ छ ।





प्रतिक्रिया