विशेष प्रतिनिधि, कपिलवस्तु
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ।
प्रदेशसभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए।
मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो ।
नेविसंघले प्रदेश सभाअगाडि टायर बालेर विरोध जनाएको छ भने बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ। आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन्।
गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ । प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो । शुक्रबार बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो ।
राजधानीको विषय टुंगो लागेपछि हुन सक्ने आन्दोलन र असन्तुष्टिलाई नियन्त्रण गर्न बाहिरी जिल्लाबाट समेत प्रहरी झिकाइएको स्रोतले जनाएको छ।
आन्दोलन हुनसक्ने अवस्था देखिए कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।
जग्गा किनबेचमा रोक लगाइयो
यसैक्रममा प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।
राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्पिरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी गराएका छन् ।
सो क्षेत्रमा जग्गाको कारोबारी बढ्ने खतरा देखिएको यस्तो निर्देशन जारी गरिएको हो । यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि सो क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार हुँदा धेरै खरिदकर्ताहरु डुबेका थिए ।

प्रतिक्रिया