फेरि ‘लकडाउन’को योजना नभएको स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति

फेरि ‘लकडाउन’को योजना नभएको स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति


सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा पुनः लकडाउन हुन सक्ने भनी आममानसमा चर्चा चलिरहेको परिवेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ ।

यही असोज ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएमा सरकारमातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने जनाउँदै सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसैको आधारमा पुनः लकडाउन घोषणा हुन सक्ने त्रास जनमानसमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको बन्दाबन्दी गर्ने योजना नभएको स्पष्ट पारेका छन् । उनका अनुसार सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि निजी स्वास्थ्य संस्था र होटेलमा राख्ने योजना सरकारले राखेको छ ।

सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म बन्दाबन्दी तथा भदौ ४ गतेदेखि अन्तिम सातासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरेको थियो । मुलुकमा फेरि पनि बन्दाबन्दी गर्ने योजना रहेको छैन भन्दै प्रवक्ता गौतमले भनेका छन्– ‘अहिलेकै अवस्थामा सङ्क्रमित बढ्न थालेपछि सरकार संरचनाले थेग्न नसक्ने भनेको हो । तैपनि हामी निजी स्वास्थ्य सङ्घसंस्थासंँगको सहकार्यमा सङ्क्रमितको उपचार गर्छाैँ ।’

उनका अनुसार सक्रिय २५ हजार सङ्क्रमित भएका खण्डमा पाँच हजार लक्षण भएका सङ्क्रमित रहने छन् । तिनलाई आवश्यक शय्या सरकारसंँग छ । अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको भएका र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिले दुई हजार ६०० सघन उपचार कक्ष, ९०० भेन्टिलेटर र २० हजार ७६५ आइसोलेसन शय्या छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिसँग शुक्रबार भेट गरी बन्दाबन्दी तत्काल नहुने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् ।