जङ्गली युगको प्रारम्भ

जङ्गली युगको प्रारम्भ


■ देवप्रकाश त्रिपाठी

‘कति ठूलो धोका !’– निराकारले निधार समाएर थचक्क बस्दै भनिन् ।

अभ्यस्त ‘नयाँ साथी’लाई घाँटीमा डोरीले बाँधेर डोऱ्याउँदै जङ्गलतिर चराउन गएको थियो । निराकार एक्लै थिइन् घरमा । बल्लबल्ल भेटिएको एउटा जीव पनि लिङ्गरहित भइदिँदा उनलाई निकै ठूलो चोट परेको थियो । त्यो जीव ‘पुरूष’ या ‘स्त्री’ नभएको पुष्टि हुनुसँगै निराकारको सपना–कल्पना ढलेको थियो ।

‘अब म के गरौँ ?’ उनले आफैलाई सोधिन् ।

‘मानव जीवनले धरामा निरन्तरता पाउनुपर्छ भन्ने आकाङ्क्षाबाट म मुक्त छु ?’

‘छैन, म मेरो छोरालाई एक्लै छोडेर धर्तीबाट बिदा हुन सक्दिनँ र चाहँदिनँ पनि ।’

‘मानिस कतै भेटिन सक्छन्, अझै खोजी जारी राखौँ कि ?’

‘हुन्छ, तर कहिलेसम्म खोजिरहने ?’ आफैंलाई प्रतिपश्न गरिन् उनले ।

‘हो, खोज्दा भेटिने निश्चितता छ भने मानिसको खोजी गरौँ, तर खोजी गर्दागर्दै म आफै रित्तिने गरी खोज्नु पनि उचित होइन । कम्तीमा अहिले त मानव सृष्टिलाई निरन्तरता दिन सक्ने सामथ्र्यसहितको शरीर मसँग छ । समयक्रममा यो अवस्थाको अन्त्य हुनेछ । जब एउटा मात्र सम्भावनाको पनि अन्त्य हुनेछ, त्यसपछि हामीले के गर्ने ?

आफ्नो प्रश्नको जवाफ दिँदै उनले भनिन्– ‘होइन, म कदापि विचलित हुन मिल्दैन । मानवसमाजले पूरै वर्जित गरेको कुनै पनि साधन अवलम्बन गर्न म चाहन्नँ । मैले सृष्टिलाई निरन्तरता दिएँ भने ठीक छ– प्रलयपूर्वका मानिस यहाँ अब कोही छैनन्, कसैले मलाई प्रश्न उठाउने छैनन्, तर भोलिका मानिसले त आफ्नो इतिहास खोज्नेछन् । जब वास्तविकता बुझ्नेछन् उनीहरूले मलाई कुन रूपमा बुझ्लान् ? आफ्नो जीवनको मूल कारण बनेकोमा मेरो सराहना गर्लान् कि त्यस्तो मूल्य भङ्ग गरेर हामीलाई जन्म दिनुभन्दा बरू मानव सृष्टिको निरन्तरता नै नभएको भए उचित हुन्थ्यो भन्लान् ?’

‘सधैको निम्ति एउटी कलङ्कित आमा बन्छु कि म ?’ प्रश्नैप्रश्नको चाङले छोपिइन् उनी ।

मानिसको खोजी गरेर अरू केही समय बिताउनु, मानव सृष्टि निरन्तरताको इच्छा नै परित्याग गर्नु या सृष्टि बसाउन सबै मूल्य–मान्यता तोडेर आफै तयार हुनु, तीनबाहेक चौथो विकल्प निराकारसँग थिएन । तर, यतिबेला उनी तीनमध्ये कुनै पनि विकल्पका निम्ति मञ्जुर हुन सकिनन् ।

अभ्यस्त जीवलाई जङ्गल डुलाएर घर फर्कियो । आज उनीहरूको घरमा खानका निम्ति पनि तयारी अवस्थामा केही थिएन । अभ्यस्त ‘नयाँ साथी’सँग भुल्यो, निराकार आफैसँग । त्यसले गर्दा आज खानेकुरा प्राथमिकतामा पर्न सकेको थिएन ।

एउटा खम्बामा ‘साथी’लाई बाँध्दै अभ्यस्तले भन्यो, ‘आमा, के हो यो त मैले डोरी छोड्दा पनि भाग्न खोजेन, मैले वनमा धेरै प्रकारले यसको परीक्षा लिएँ, तर यो त भाग्लाजस्तो लागेन आमा मलाई ।’

‘बिचरा ऊ पनि त एक्लो थियो, उसले पनि साथी पाएको छ, किन भाग्थ्यो ?’ निराकारले अभ्यस्तको कुरामा सहमति जनाउँदै भनिन् ।

बाबु भोक लागेको छैन ? आज त खानेकुरा पनि खोज्नुपर्ने पो छ,’ खानेकुरा नभएको सम्झेपछि उनले उत्तिखेरै भनिन् ।

‘मैले ‘यो’सँगै जङ्गलमा केही खाएँ आमा, बरू तपाईंचाहिँ भोकै हुनुहुन्छ खानुहोस् न । ‘यसले’ त जमिनमा उम्रेको स–साना बिरूवा र घाँस मात्र खाँदोरहेछ । मैले रूखका पातहरू खुवाउन कति कोसिस गरेँ, खाँदै खाएन, अभ्यस्तले रिपोर्टिङ गऱ्यो ।

‘अनि यसलाई पानी पिलायौ त ?’

‘छैन आमा, म अब पानी पिलाउन यसलाई तल खोल्सातिर लिएर जान्छु ।’

‘हुन्छ, तर चाँडै फर्क है ।’

निराकारलाई एकान्त चाहिएको थियो, ‘चाँडै फर्क’ भन्दै उनले छोरालाई त्यहाँबाट चाँडै बिदा गर्न चाहिन् । अभ्यस्त पनि खुसी हुँदै ‘साथी’लाई डोऱ्याएर खोल्सातिर लाग्यो ।

पानीको मुहान भएको ‘त्यो’ खोल्सो उनीहरूको वासस्थानबाट त्यति टाढाको दूरीमा थिएन । डोरीको एक छेउ उसले समातेको थियो, अर्को छेउ त्यही जीवको घाँटीमा बाँधिएको थियो । तर, उसले त्यसलाई घिस्याउनु पर्दैनथ्यो, त्यत्तिकै डोरिएर ‘त्यो’ अभ्यस्तको पछि–पछि हिँड्दै थियो ।

कुवामा पुग्नै लाग्दा ऊ छक्क पऱ्यो, आफूले डोऱ्याएको जीव त आफूभन्दा अगाडि नै कुवामा पुगेर पानी पिइरहेको !

उसले आफ्नो हातमा डोरी हेऱ्यो, डोरी समातिएकै छ । पछाडि फर्केर हेऱ्यो, त्यो जीव पनि आफूसँगै छ । फेरि कुवातिर फर्कियो, पानी पिइरहेकै छ ।

उसलाई लाग्यो, यसको जोडी फेला पऱ्यो । अब झन् राम्रो हुने भयो ।

यसरी सोच्दै अभ्यस्त कुवाको नजिकै पुग्यो । उसको आगमनले त्यसलाई नराम्रोसँग झस्कायो । पानी पिउन छोडेर अभ्यस्ततर्फ फर्कियो, दुई तिखा सिङ पनि रहेछन् त्यसको । सोझै अभ्यस्त भएतर्फ दौडियो र तीखा सिङले उसलाई जथाभावी हान्न थाल्यो ।

अभ्यस्त ‘आमा…!’ भनेर चिच्यायो ।

कैयनपटक चिच्चायो, तर गहिरोमा परेको हुनाले उसको आवाज आमासम्म पुग्न सकेन । उसले आफ्नो बचावको प्रयास नगरेको त होइन, तथापि जनावरको तीखा सिङको अनेकौँ प्रहारबाट घाइते भयो र जमिनमा ढल्यो ।

अभ्यस्त बेहोस भयो । भुइँमा ऊ मरेतुल्य देखिन्थ्यो ।

त्यसपछि ‘त्यो’ जनावर आफ्नो बाटो लाग्यो, त्यसैको साथमा अर्कोचाहिँ पनि पछि–पछि लाग्यो । घाँटीमा बाँधिएको डोरीसहित त्यो जङ्गलतर्फ बढ्यो ।

वास्तवमा ती दुवै जीव एकै प्रकारको मात्र होइन, भालेपोथी नै थिए । भालेको सिङ हुने तर पोथीको नहुने रहेछ । केही दिनदेखि बेपत्ता ‘प्राणप्यारी’लाई फिर्ता पाएपछि भालेचाहिँ सायद दङ्ग थियो ।

वास्तवमा निराकार र अभ्यस्तले पक्राउ गरेको जीवको लिङ्ग पोथीको थियो । तर, सामान्य अवस्थामा त्यो एउटा सानो द्वारजस्तो बनेर बसे पनि समागमको समयमा मात्र त्यसको रूप र अवस्था बदलिने रहेछ । निराकार र अभ्यस्तसँग यसको वास्तविकताबारे जानकारी प्राप्त गर्ने कुनै संयन्त्र थिएन, न कुनै अनुभव या ज्ञान नै थियो ।

अभ्यस्त कुवाको छेउमा बेहोस लडिरह्यो ।

धेरैबेर हुँदा पनि छोरा नफर्किएपछि निराकार पनि कुवातर्फ लागिन् । कुवाको नजिकै छोरा रगतपक्ष भएर लडिरहेको । पानी पिलाउन ल्याएको जनावर पनि बेपत्ता ।

उनलाई लाग्यो– त्यसैले आक्रमण गरेर छोरालाई घाइते बनायो ।

उनी आत्तिइन्, ‘मेरो छोरा’ भन्दै काखमा लिइन् । बाबु, बाबु भन्दै कैयनपटक बोलाइन् तर अभ्यस्त बोलेन ।

निराकारले छोराको छातीमा कान राखेर सुनिन्, मुटुको धड्कन र श्वासप्रश्वास चलिरहेको थियो । उनले अञ्जुलीमा कुवाको पानी लिइन् र छोराको शिरमा छम्किन् । निधारमा फुकिन् ।

निधारमा पानीले भिजाउने र फुक्ने क्रम केहीबेर जारी राखेपछि अभ्यस्तले आँखा खोल्यो ।

आँखा खुल्नेबित्तिकै उसले आमालाई सोध्यो– ‘आमा त्यो खोइ त ?’

‘बाबु म आउँदा त्यो थिएन, कसरी त्यसले यस्तो गऱ्यो छोरा तिमीलाई ?’ छोराको टाउको सुमसुम्याउँदै निराकारले सोधिन् ।

‘त्यसले होइन आमा, अर्को त्यसकै जोडी यहाँ पानी पिउँदै रहेछ, सिङ पनि थियो, त्यसले हानेर मलाई यस्तो बनाएको हो । म अचेत भएर ढलेपछि तिनीहरू भागेछन् ।’

‘ए ! त्यसो भए त्यसको जोडी पनि रहेछ ?’, छक्क परिन् निराकार ।

त्यहीँ बसिरहनु उनलाई उचित लागेन, भनिन्, ‘अब उठ, घर जाऊँ, घाउमा औषधि लगाउनुपर्छ ।’

अभ्यस्त बिस्तारै उठ्यो, निराकारले उसको पाखुरामा बलियो पक्रिन् र घरतर्फ डोऱ्याइन् ।

‘अनि त्यो अर्को पनि यस्तै थियो त बाबु, केही फरक थिएन ?’ निराकारले जनावरको बारेमा फेरि जिज्ञाशा राखिन् ।

‘हो आमा हुबहु थियो, तर त्यसमा चाहिँ दुई वटा तीखा सिङ थिए । अरू केही फरक थिएन ।’

‘त्यसो भए यस्ता जनावर जङ्गलमा अरू पनि रहेछन् भन्ने बुझियो र परिआए यिनले आक्रमण पनि गर्दारहेछन् भन्ने पनि स्पष्ट भयो ।’

‘हुनसक्छ आमा, मलाई त अहिले पनि डर लागिरहेछ ।’

‘अब केही हुन्न बाबु, म औषधि बनाउँछु र तिम्रो घाउहरूमा लगाउँछु, सब ठीक हुन्छ चिन्ता नगर,’ सान्त्वना दिँदै निराकारले भनिन् ।

उनीहरू घर पुगे ।

निराकारले झारपात पिसेर घरेलु औषधि बनाइन् र अभ्यस्तको शरीरमा भएका घाउ तथा नीलडामहरूमा लगाइदिइन् ।

अभ्यस्त ओछ्यानमा पल्टिरहेको थियो, औषधि लगाएर हल्का मसाज गर्दागर्दै ऊ निदायो ।

निराकार बेलुकाको खानेकुरा व्यवस्था गर्नतिर लागिन् ।

सूर्य अस्ताउनै लागेको थियो । अभ्यस्तलाई निद्राले छाडेछ, ऊ बिस्तारै उठ्यो र घरबाहिर निस्कियो । बाहिर आँगनको डिलमा निराकार पनि स्याउला ओछ्याएर सुतिरहेकी थिइन् ।

अभ्यस्तले ‘आमा’ भन्दै बोलाएको आवाज उनको कानमा पऱ्यो, ‘हजुर’ भन्दै उनी उठिन् ।

अभ्यस्त उनकै समीप आइसकेको थियो ।

‘कस्तो छ बाबु तिमीलाई ? ज्वरो त आएको छैन,’ भन्दै उनले अभ्यस्तको निधारमा हातले छामिन् । ‘हल्का ज्वरो छ बाबु जाऊँ भित्र, मैले केही खानेकुरा र सुप तयार गरेकी छु ।’

दुवैजना घरभित्र पसे । खाना खाए ।

साँझ परिसकेको थियो । उनीहरूले चाँडै सुत्ने सोच बनाए । खानेबित्तिकै दुवै आ–आफ्ना ओछ्यानमा पल्टिए । निद्रा लाग्ने अवस्था थिएन, मनमा अनेक कुराहरू गम्दै उनीहरू सुते ।

एकप्रकारको सन्नाटा थियो । आवाजको नाममा उनीहरूको श्वासप्रश्वासको क्रममा निस्केको हल्का घुर्र–घुर्रबाहेक केही थिएन ।

एक्कासि घरको बाहिरपट्टि ‘ठीँ–ठीँ’ र घत्राक–घुत्रुकको आवाज आयो । दुवैजना झसङ्ग हुँदै उठे र मुखामुख गर्दै बाहिरबाट आइरहेको आवाजतिर ध्यान लगाए ।

आइरहेको आवाज सामान्य र स्वाभाविक थिएन । कुनै विपत्ति नै आइलागेको सङ्केत बाहिरको आवाजले दिइरहेको थियो । एकैछिनमा उनीहरूको घरको भित्ता र ढोकामा समेत ढक–ढक प्रहार हुन थाल्यो ।

निराकार उठिन् र आफूसँग त्यहाँ भएको एउटा औजार हातमा लिइन्, अर्को अभ्यस्तलाई दिइन् । त्यसपछि ढोका खोलेर बिस्तारै बाहिर हेर्न मात्र के खोजेकी थिइन् उनीमाथि एउटा जनावरले हमला गरिहाल्यो ।

निराकार पनि के कम । उनले पनि आफूसँग भएको फलामे औजारले त्यसको टाउकैमा बजाइन् । त्यो ढुनमुनियो । उनले फेरि पनि प्रहार गरिन् ।

अभ्यस्त पनि बाहिर निस्कियो र प्रतिरक्षाको निम्ति तयार भयो । आँगनमा दर्जनौँ जनावर उनीहरूलाई आक्रमण गर्न तयार भइरहेका रहेछन् ।

निराकारको दोस्रो प्रहार खप्न नसकेर एउटा जनावर त्यहीँ ढल्यो । त्यसपछि दुवैजना अरू जनावरमाथि जाइलागे । जथाभावी औजारले प्रहार गर्दा ती जनावर त्यहाँ टिक्ने स्थिति रहेन । फेरि आफ्नै अगाडि एउटा ‘साथी’ ढलेको पनि तिनले देखेका थिए ।

निराकार र अभ्यस्तका निम्ति जीवन–मरणको सवाल थियो । त्यसैले उनीहरू अलिक बढी नै ताकतवर र आक्रामक देखिएका थिए । अन्ततः उनीहरूको प्रतिरोधको सामना जनावरहरूले गर्न सकेनन् । भागाभाग भयो ।

एउटा जुन जनावर लडिरहेको थियो, त्यसलाई उनीहरूले एकपटक टाउकोमा फेरि प्रहार गरे । त्यसले ‘ह्वा !’ आवाजसहित यसपटक खुट्टा तन्कायो । त्यसलाई त्यत्तिकै छोडेर उनीहरू आँगनबाट घरको ढोकाकै सङ्घारमा आएर बसे ।

प्रतिरोधका क्रममा बढी बल निकाल्नुपरेका कारण उनीहरूको श्वास–प्रश्वास बढेको थियो । भनौँ, एकप्रकारले थकित भएका थिए ।

आजको रात उनीहरूले ननिदाउने निर्णय गरे । प्रलयपछिको सबैभन्दा ठूलो विपत्ति आइलागेको रात थियो त्यो । रातमा अझै ठूला हमला हुने हो कि भन्ने त्रास पनि उनीहरूमा थियो । त्यसैले उनीहरूले सङ्घारमा बसीबसी नै रात कटाउने सोच बनाए ।

बिस्तारै चिसोपन बढ्यो, बढ्दो चिसोपनले बिहानी नजिकिएको सङ्केत गर्दै थियो । निद्राले घरि न घरि उनीहरूलाई ‘झप्प–झप्प’ बनाउँथ्यो, तर निदाउन डराइरहेका थिए ।

पूर्वको आकाश केही उज्यालियो र बिस्तारै धर्तीमा पनि उज्यालो पोखिन थाल्यो । बिहानको छर्लङ्ग उज्यालोमा उनीहरूले देखे– यो त्यस्तै जनावर थियो, जसलाई उनीहरूले हिजोअस्ति पक्रेका थिए । त्यो मरिसकेको थियो । उनीहरूले आफूसँग भएको औजार प्रयोग गरी त्यसको मासु निकाले । हाडखोरचाहिँ आँगनकै छेउमा लगेर घाममा सुक्ने गरी राखे ।

निराकारले मासुका ठुल्ठूला टुक्राहरूमा प्वाल पारिन्, अभ्यस्तले त्यसलाई डोरीमा उन्यो ।

उनीहरूले सुकुटी बनाउनका लागि त्यसलाई घरबाहिर झुन्ड्याए । केही मासु आगोमा पोलेर खाए ।

प्रलयपछि पहिलोपल्ट उनीहरूले कुनै जनावरको मासु खाएका थिए । खुब स्वाद मानेर खाए दुवैले ।

‘अब हामी सिकार जानुपर्छ बाबु,’ निराकारले नितान्त नयाँ प्रस्ताव राखिन् ।

अभ्यस्त अलमलियो र सोध्यो, ‘किन आमा ?’

‘हामीले यिनको सिकार नगर्ने हो भने हामी नै यी जनावरको सिकार बन्न सक्छौंँ । अब हामीले ढुङ्गा, काठ र हाडखोरको पनि हतियार लिएर सिकारमा जानुपर्छ र यिनको मासु खानुपर्छ ।’

जीवनमा नयाँ मोड आएको थियो । अभ्यस्त पनि आमाको कुराले रामाञ्चित भयो र सहर्ष स्वीकार गऱ्यो । उनीहरूले आजैदेखि हातहतियार बनाउने र भोलिपल्टदेखि दिनभरि सिकारमा जाने अठोट पनि गरे ।

सिकारमा जाने भएपछि शरीरलाई बढी सुरक्षित बनाउनुपर्ने आवश्यकता महसुस गरे उनीहरूले । रूखका पात र बोक्राहरूलाई मसिनो डोरीमा उन्दै र बुन्दै उनीहरूले शरीरका कमजोर र संवेदनशील भागहरू छोप्ने योजना बनाए ।

दुवैको प्रयासमा नयाँ प्रकारको ‘परिधान’ र केही हातहतियार दिनभरिमै तयार भयो ।

बेलुका पनि उनीहरूले मासु नै खाए । घरबाहिर आँगनमा काठका टुक्राहरू जम्मा गरेर आगो बाले र हातहतियार ओछ्यानकै छेउमा राखेर उनीहरू सुते । बितेको रातभर निदाएका थिएनन्, त्यसैले आज उनीहरूलाई निद्राले छोपिहाल्यो ।

भोलिपल्ट बिहान नित्यकर्म सकेपछि उनीहरूले अघिल्लो दिन सिकारमा जान तयार पारेको विशेष ‘परिधान’ लगाए । हातहतियार बोकेर जङ्गलतर्फ लागे ।

यसरी एउटा सभ्य मानिस जङ्गली युगमा प्रवेश गऱ्यो, सायद भविष्यका मानिसले अबको कालखण्डलाई सिकारी युग भनेर परिभाषित गर्नेछन् ।

सिकारका निम्ति डुल्दाडुल्दै उनीहरू एउटा रमणीय स्थलमा पुगे । जहाँ एउटा ठूलो र सफा चौर थियो । बीचमा एउटा वृक्ष, उनीहरू सुस्ताउनका निम्ति त्यही वृक्षको छहारीमा गए । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्-
निराकारको सपना चकनाचुर